२२ मंसिर २०७८, बुधबार
एमाले महाधिवेशन
राजनीति

महाधिवेशनमा ओलीले चिट चोराउने : पदाधिकारीमा पुरानै अनुहार दोहोरिने सम्भावना

प्रकाशित मिति :  ७ मंसिर २०७८, मंगलवार २२:२०


७ मंसिर, काठमाडौं । दशौँ महाधिवेशनको अन्तिम तयारीमा लागेको एमाले नेतृत्वले प्यानलगत निर्वाचन नगरे पनि चिट वितरण गरेर आफू अनुकूलको नेतृत्व चयन गर्ने भएको छ । अध्यक्ष केपी ओलीले नयाँ नेतृत्व चयनका बेला प्यानलगत निर्वाचन नभए पनि चिट वितरण गरेर नयाँ नेतृत्व चयन गर्ने संकेत गरेपछि अनुकूलता अनुसारका व्यक्तिहरु नेतृत्वमा पुग्ने सम्भावना बढेको हो । यसबाट एमाले नेतृत्वमा पुरानै अनुहार दोहोरिने सम्भावना बढेको छ ।

नेकपा एमालेको दशौँ महाधिवेशनपछि पार्टीको नेतृत्व तहमा पुरानै अनुहार दोहोरिने सम्भावना बढेको छ। पार्टी अध्यक्ष केपी ओली नै दोहोरिने निश्चित जस्तै छ भने अन्य पदाधिकारीमा पनि पुुरानै अनुहारको बाहुल्यता रहने सम्भावना देखिएको छ । ‘एक पटक अध्यक्षमा ओली नै दोहोरिनुहुन्छ, बाँकी पदाधिकारीमा रामबहादुर थापाबाहेक सबै पुरानै नेताहरूले पार्टीको कमाण्ड सम्हाल्नु हुनेछ,’ एमाले स्थायी कमिटी एक सदस्यले भने । उनका अनुसार विधान अधिवेशनबाट पारित नयाँ विधान कार्यान्वयन गर्ने क्रममा नेतृत्वमा रहन चाहने नेतालाई समस्या परिरहेको छ ।

विधान महाधिवेशनअघिको स्थायी कमिटी बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सहअध्यक्षको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको भए पनि वरिष्ठ उपाध्यक्षमा टुंग्याइएको थियो । वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङको पनि दाबी रहेकाले पोखरेललाई असजिलो भइरहेको छ । सर्वसम्मत नेतृत्व चयनको अभ्यासमा रहेको एमालेले सबै नेताहरूको व्यवस्थापन गर्ने गरी महाधिवेशन गर्ने भने पनि अहिलेको विधानले केही नेताहरूलाई पदाधिकारी राख्ने सम्भावना बढिरहेको छ । तर यो बीचमा भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले उम्मेदवारी घोषणा गरेर अघि बढिसकेका कारण पनि ओलीले चिट वितरण गर्ने बताएका हुन् ।

विधान अधिवेशनको समयमा प्यानल बनाएर उम्मेदवारी दिन नपाइने व्यवस्था गर्न लागेका बेला त्यसको विरोधमा रहेका नेताहरूले यसपटक सबै पदाधिकारीहरूलाई सर्वसम्मत छाड्ने सम्भावना कमजोर रहेको छ । पार्टी अध्यक्ष ओलीका लागि विधान बाधक नभएपछि अध्यक्षमा सर्वसम्मत हुने सम्भावना बढेको छ। तर उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल पदाधिकारीमा सुरक्षित नहुने अवस्था आएमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने सम्भावना पनि उत्तिकै रहेको एमालेभित्र चर्चा चलेको बेला रावलले एक्लै उम्मेदवारी घोषणा गरेका हुन् ।

‘दसौँ महाधिवेशनबाट अध्यक्षसहित १५ पदाधिकारीमा एकाध नयाँ अनुहार आए मात्रै नभए पुरानै अनुहारले प्राथमिकता पाउनेछन् । नवौँ महाधिवेशनमा महासचिव हारेका सुरेन्द्र पाण्डे, उपमहासचिव हारेका शंकर पोखरेल र माओवादी छाडेर एमालेमा रहेका रामबहादुर थापा र टोपबहादुर रायमाझीबाहेक सबै पुराना अनुहार आउने सम्भावना छ,’ ती स्थायी कमिटी सदस्यले भने। महाधिवेशनमा ओलीको विकल्प दिने अवस्थामा कोही तयार नभए अध्यक्षभन्दा १४ पदाधिकारीमा रस्साकस्सी देखिँदा पनि पुरानै अनुहारले प्राथमिकता पाउनेछन् । विधानमा व्यवस्था भएबमोजिम वरिष्ठ उपाध्यक्ष र महासचिव तथा उपमहासचिव पदका लागि घम्साघम्सी सुरु भएको छ ।

महासचिव ईश्वर पोखरेलकै लागि तयार पारिएको वरिष्ठ उपाध्यक्ष पदमा सुवास नेम्वाङ पनि दाबेदार देखिएका छन् । उपाध्यक्षमा रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, पृथ्वी सुब्बा गुरुङ, लालबाबु पण्डित, सत्यनारायण मण्डल देखिएका छन् । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष नछाडे विधान नै संशोधन हुने अवस्था पनि रहेको छ । ‘तीन तहको निर्वाचन आइरहेकाले अहिलेको महाधिवेशनमा सकेसम्म सबै नेताहरूको व्यवस्थापन गर्ने तयारी भएको हो,’ ती सदस्यले भने । अहिलेका उपाध्यक्ष युवराज ज्ञावालीलाई भने पार्टीभित्र कुनै आयोगको जिम्मेवारी दिने तयारी भएको छ । महासचिव, उपमहासचिवका लागि नेताहरू आकांक्षी रहेका छन् ।

तर महासचिवमा भने विष्णु पौडेल, शंकर, पोखरेल, पृथ्वी सुब्बा गुरुङले दाबी गरिरहेका छन् । एमाले–माओवादी एकीकरणपछि शक्तिशाली महासचिव बनेका पौडेल एमालेको दशौं महाधिवेशनमा स्वाभाविक महासचिवका हकदार रहेका छन् । आगामी एघारौँ महाधिवेशमा पार्टी पछिल्लो पुस्ताकै नेतृत्व हुने भएकाले शंकर पोखरेलले तत्काल आफ्नै समूहभित्र प्रतिस्पर्धा नगर्ने रणनीति लिएको भए पनि ओलीले पोखरेललाई पनि अघि सार्ने बताइएको छ । ‘पौडेल नेकपा कालकै महासचिव भएकाले अहिले स्वाभाविक दाबेदार हुनुहुन्छ, त्यसकारण करिबकरिब सर्वसम्मत जस्तै हो,’ ती नेताले भने । तत्कालीन एमालेमा नवौँ महाधिवेशनमा घनश्याम भुसालसँग पराजित भएका शंकर पोखरेललाई सुरेन्द्र पाण्डेसँगै स्थायी कमिटीमा मनोनयन गरिएको थियो । नवौँ महाधिवेशनमा पौडेलले उपमहासचिवमा जित हासिल गरेका थिए भने शंकर पोखरेल पराजित भएका थिए । ओलीकै समूहबाट उपमहासचिवमा प्रदीप ज्ञावाली पनि अघि बढिरहेका छन् ।

विधानमा उपमहासचिवको एक मात्र पद रहेकाले पौडेल महासचिव भए भने उपमहासचिवमा पोखरेलको दाबी रहने बताइएको छ । तर अहिले उपमहासचिवमा प्रदीप ज्ञावालीले पनि दाबी गरिरहेका छन् । विधान महाधिवेशनको क्रममा ज्ञवालीले कार्यक्रम सञ्चालन गरेर आमकार्यकर्तामाझ ‘एक्सपोज’ हुने अवसर पाएका थिए । उपमहासचिवमा घनश्याम भुसाल पुनः दोहोरिने भए र विधान संशोधन भई दुई पद भएमा शंकर पोखरेल हुने सम्भावना रहेको छ । तर एक पद भएमा भुसाल र ज्ञावाली दुवै नहुने अवस्था छ ।

भुसाल पदाधिकारीमा अट्ने सम्भावना नभए सीधैं अध्यक्षमा उम्मेदवारी दिने सम्भावना पनि रहेको छ । तर रावलले घोषणा गरेकाले भुसाल महासचिवमा पनि दाबी गर्ने अवस्था रहेको छ । पहिलेका सचिवहरूको यसपटक खासै बढुवा हुने अवस्था छैन । उपमहासचिव एउटा पद छ, त्यहाँ शंकर पोखरेलकै सम्भावना छ, अर्को भए भुसाल आउँनेछन् । ज्ञवालीले फेरि पनि सचिवमा दोहो¥याउनुको विकल्प छैन,’ ती स्थायी कमिटी सदस्यको भनाइ छ । सचिव फेरि पनि गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताहरू दोहोरिने सम्भावना रहेको छ । पृथ्वी सुब्बा गुरुङलाई कहाँ समावेश गर्ने भन्नेबारेमा एमालेभित्र अप्ठेरो परेको छ । उनी वरिष्ठ नेता भएकाले यसपटक उपाध्यक्षमा उनको दाबी रहेको छ । मधेसबाट रघुवीर महासेठको पदोन्नोति हुने सम्भावना रहेको छ ।

नवौँ महाधिवेशनमा सचिवको उम्मेदवारबाट ओलीको निर्देशनमा ‘ब्याक’ भएका भानुभक्त ढकाल, खगराज अधिकारी र छविलाल विश्वकर्मा सचिवका नयाँ आकांक्षी छन् । डा. राजन भट्टराई, पार्वत गुरुङ, ठाकुर गैरे, आनन्दप्रसाद पोखरेल, शेरधन राई, गोकुल बाँस्कोटा, महेश बस्नेतसहित अरू थप केही केन्द्रीय सदस्य पनि सचिवको दाबी गरेका छन् । यसमध्ये विश्वकर्माको व्यवस्थापन उपाध्यक्षमा भए अन्यको दाबी कायमै रहनेछ । महिला र पूर्वमाओवादीका तर्फबाट पनि आकांक्षी रहेका छन् । महिलाबाट केन्द्रीय सदस्य बिन्दा पाण्डे र थममाया थापा पनि सचिवका आकांक्षी छन् । पूर्वमाओवादी समूहबाट सर्वसम्मत हुँदा टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि सचिव पदका दाबेदार हुन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा