कमलका किसाना आलुमा आत्मनिर्भर
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बुधबार १३:४६:७
१५ मंसिर, झापा । झापाको कमल गाउँपालिकामा सबैभन्दा बढी आलु उत्पादन हुँदै आएको छ । कमलका किसाना आलुमा आत्मनिर्भर छन् । त्यसैले कमल-२ मा सरकारले आलु ब्लक कार्यक्रम नै सञ्चालन गरेको थियो । सरकारले पाँच वर्षसम्म आलु पकेट र ब्लक कार्यक्रम कमल-२ मा चलायो ।
यस वर्षदेखि आलुमा कार्यक्रम सकिएको थियो । उक्त कार्यक्रम आइपिएम कृषि सहकारीले संचालन गर्दै आएको थियो । सरकारी कार्यक्रम सकिए पनि कृषकलाई सहकारीले सहयोग गर्दै आएको थियो ।
पाँच वर्षसम्मको सरकारी सहयोगले उत्साहित किसान आलुमै केही गर्ने लक्ष्यका साथ आलु खेतीमा लागेका थिए । तर, आलुबाट आत्मनिर्भर हुने किसानको सपना चकानाचुर भएको छ । गत वर्ष उत्पादन भएको आलु बिक्री गरेर बीउका लागि दमक-४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारणमा केही आलु राखेका थिए ।
आइपिएम कृषि सहकारीकै मातहतमा कमल-२ का कृषकले सात सय बोरा आलु कोल्ड स्टोरमा राखेका थिए । तर, गत कात्तिक अन्तिम साता रोप्नका लागि बीउ कोल्ड स्टोरबाट निकाल्दा कुहिएको पाएपछि किसान चिन्तामा परे । कुहिएपछि उनीहरूले सबै आलु डोजर लगाएर पुरे ।
आलु रोप्ने समय लगभग सकिएको छ । तर, अहिलेसम्म गत वर्षको तुलनामा आधा मात्र आलु लगाइएको छ । बीउ अभावमा कृषकले आधा मात्र आलु रोपेको आइपिएम कृषि सहकारीका कोषाध्यक्ष तथा आलु ब्लक कार्यक्रम संयोजक टंक कट्टेल बताउँछन् ।
कृषकले गत वर्ष १३९ विघा क्षेत्रमा आलु रोपेका थिए । तर, यस वर्ष कोल्ड स्टोरमै आलु कुहिएपछि किसानले ५० प्रतिशत मात्र आलु रोपेको कट्टेलले बताए । ‘यसपटक त आलु ५० प्रतिशत मात्र रोपियो । त्यो पनि सहकारीको पहलमा चिप्स उद्योगसँग सापटीमा बीउ मागेर रोपेका हौँ,’ उनी भन्छन्, ‘यस वर्ष आलुको उत्पादनमा ५० प्रतिशत कमी हुन्छ । आलु खेतीमै केही गर्ने सपना बोकेर आएका कृषकलाई ठूलो चिन्ता परेको छ ।’
कोल्ड स्टोरमा प्रतिबोरा ३६५ रुपैयाँ तिरेर कृषकले आलु राखेका थिए । कृषकको आलुको बीमा गरिएको कोल्डस्टोरले जनाएको छ । यद्यपि अझैसम्म कृषकले क्षतिपूर्ति भने पाएका छैनन् । ‘हामीले सबै कागजात कोल्ड स्टोरलाई पठाएका छौँ । उसले पनि बिमा कम्पनीलाई कागज पठायो भन्ने चाहिँ सुनेका छौँ,’ कट्टेलले भने, ‘अब क्षतिपूर्ति त पाउँछौँ होला । तर, रोप्ने बेलामा बीउ पाएनौँ । साह्रै दुःख लागेको छ ।’
कृषक लोकेन्द्र पाण्डेक केही वर्ष यता आलु खेती गर्दै आएका छन् । पकेट र ब्लक कार्यक्रम सञ्चालन भएपछि आलु खेतीमा उत्साहित पाण्डेले यस वर्ष खेती विस्तार गर्ने योजनाका साथ १८ बोरा बीउ आलु कोल्ड स्टोरमा राखेका थिए । तर, उनको सबै आलु कुहिएपछि आधा पनि खेती गर्न नपाएको उनी बताउँछन् । ‘यसपटक त धान पनि वर्षाले धेरै बिगार्यो । आलुको बीउ यस्तो भयो । आलुबाट त केही हुन्छ होला भन्ने सोचेका थियौँ,’ उनले भने, ‘सधैँ यतिबेला आलु उम्रने बेला हुन्थ्यो । बीउ नपाएर यसबेलासम्म आधा मात्र खेती भएको छ ।’
आलुको बीउ कुहिएपछि आलुमा आत्मनिर्भर कमलका कृषकलाई ठूलो क्षति पुगेको गाउँपालिका अध्यक्ष मेनुका काफ्ले बताउँछिन् । कृषकले आलु पुरेको समयमा आफू पनि पुगेको बताउँदै मन खिन्न भएको अध्यक्ष काफ्लेले बताइन् । उनले आलु कृषकलाई क्षतिपूर्तिका लागि पहल गर्ने बताइन् । यसका लागि संघ र प्रदेश सरकारसँग समन्वयको काम भइरहेको उनको भनाइ छ ।
कोल्ड स्टोरमा कमल-२ का मात्र हैन झापा र मोरङका कृषकको पाँच हजार बोरा बढी आलु कुहिएको कोल्ड स्टोरले जनाएको छ । आलु रोप्ने समयमा वर्षा भएको र कृषकले ढिला मात्र बोरा लैजाँदा आलु कुहिएको अवस्थामा फेला परेको कोल्ड स्टोरको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने
जेठ १, २०८१ मंगलबार
फलफूल, तरकारी र दूध उत्पादन गर्ने किसानलाई अनुदान
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार