६ माघ २०७८, बिहीबार

जनसेवा सहकारीको कारोबार करिब ७ करोड

प्रकाशित मिति :  २६ पुष २०७८, सोमबार १०:४९


२६ पुस, काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारीको वार्षिक कारोबार ६ करोड नाघेको छ ।

२५औं साधारणसभा एवं १३औँ अधिवेशनमा सहकारीले आर्थिक वर्ष २०७७/७८ मा ४ करोड ७७ लाख ६१ हजार ८३१ निक्षेप संकलन गरेको जानकारी दिएको हो ।

बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जिविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले जनसेवा समाज नेपाल जालपाको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत २०५३ मा स्थापना गरिएको सहकारीले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा १ करोड बढी निक्षेप संकलन गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा ४४ लाख १० हजार ५५० शेयर वृद्धि भएकामा आर्थिक वर्ष २०७७/७८ मा ६३ लाख ४३ हजार ६५० सेयर वृद्धि उपलव्धी भएको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/७७ मा सेयर लाभांश ७ लाख २३ हजार ३१ रुपैयाँ वितरण गरेको सहकारीले आर्थिक वर्ष २०७७/७८ मा १० लाख १४ हजार ६०० शेयर लाभांश वितरण गरेको जानकारी दिएको छ । साधारणसभा एवं अधिवेशनले लेखा परिक्षण, आर्थिक प्रतिबेदन, आर्थिक नियमावली, कर्मचारी नियमावली र ऋण नीति पास गरेको छ ।

सहकारीले चालु आर्थिक वर्षको अन्त्यासम्ममा शेयर पुँजी १ करोड पुर्याउन, ऋण लिएका प्रत्येक ऋणि सेयर सदस्यको एक वर्षे दुर्घटना बिमा गर्ने, धान, कोदो, मकै, गहुँ, जौ, फापर, फलफूल र पशुपालनमा लगानी गर्ने ऋणीहरुलाई सोको बिमा गर्न प्रोत्साहन र सहजीकरण गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ ।

कार्यालयमा सञ्चित एवं स्थानान्तरणको जोखिम अनुसार नगद बिमा गर्ने, कुल बचत ४ करोड ७७ लाख ६१ हजार ७३२ बाट वृद्धि गर्दै ६ करोड २८ लाख ८३ हजार १४१ पुर्‍याउने, हाल कायम प्रतिशेयर सदस्यको शेयर पुँजी १५ हजारबाट २० हजार पुर्‍याउने योजना बनाइएको सहकारीले जनाएको छ ।

सहकारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(११ र १२ तथा रावाबेँसी गाउँपालिका-६ हौंचुरका ७६ बचत तथा २५ बाल बचत समूहका १ हजार ४६८ सेयर सदस्य छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा