११ असार २०७९, शनिबार
संकास्पद उपहार

गृहले रोक्यो साउदी राजकुमारका सबै कार्यक्रम, एमाले नेता प्रसाईँको सुनको लौरो संकटमा

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार ०७:३४


६ असार, काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा झापा पुगेका संयुक्त अरब इमरेट्श अन्तर्गत दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमका नेपालमा हुने सबै औपचारिक कार्यक्रममा रोक लगाएको छ ।

अनुसन्धानलाई प्रभावित बनाउने भन्दै सबै कार्यक्रम गर्न रोक लगाइएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । अनुसन्धान प्रक्रिया सुरु भएपनि प्रसाईँको सुनको लौरो पनि संकटमा पर्ने देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे छानबिन थालेको छ ।

उनी शनिबार बिहान त्रिवि विमानस्थल हुँदै झापा पुगेका छन् । सुनको लौरो उपहार दिएको भन्ने विषयमै शंका भएपछि छानविन थालिएको हो । गृहले मतहतका निकायलाई पनि छानविन गर्न निर्देशन दिएको बताइएको छ । सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी नगराएपछि यसमा अनुसन्धान थालिएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार नेपाल सरकारलाई जानकारी नदिइ औपचारिक कार्यक्रम बनाएर नेपाल आएको विवादित सुनको लौरो उपहार दिएकोमा उनी सहभागी हुने भनिएका कार्यक्रमहरुमा रोक लगाइएको हो ।

माक्तुम जुमा तीन दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनी झापा गएका हुन् ।

परराष्ट्र मन्त्रालयले पनि माक्तुमको नेपाल भ्रमणबारे औपचारिक जानकारी नभएको जनाएको छ । माक्तुमले विमानस्थलमा उत्रिएलगत्तै व्यवसायी प्रसाईंलाई सुनको जस्तो देखिने लौरो उपहार दिएका थिए । उपहार दिएको तस्वीर सार्वजनिक भएपछि विदेशबाट आउने श्रमिकले ल्याएको बाला समात्ने भन्सारले उनलाई ‘सुनको लौरो’ लान छुट दिएको भन्दै आलोचना भएको थियो ।

तीन दिने नेपाल भ्रमणमा रहेका जकुमार जुमाले एमालेका केन्द्रीय सदस्य एवम् व्यवसायी प्रसाईंलाई सुनको लौरो उपहार दिएपछि यसको चर्चा आइबारबाटै सुरु भएको हो । लौरोमा सुनको लेपनमात्रै लगाइएको हो कि लौरो सिंगै सुनको हो भन्ने एकिन छैन । सिंगो लौरो नै सुन भए करिब एक किलो सुन खर्च हुने देखिएको बताइएको छ ।

एक किलो सुनको नेपाली मूल्य करिब ८५ लाख हुन आउछ । अधिराजकुमार श्री एरलाइन्सको चार्टर विमानमार्फत झापा पुगेका थिए । झापा बसाइका क्रममा अधिराजकुमार मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको उद्घाटन गरेका थिए ।

व्यवसायी प्रसाईंको विशेष निमन्त्रणामा अधिराजकुमार नेपाल आएका हुन् । उनको झापासँगै काठमाडौं र पोखराको पनि भ्रमण कार्यतालिका थियो ।


1.81k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा