६ असार, काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी तथा मालबहाक गाडीको भाडा बढाएको छ । विभागले सूचना जारी गर्दै अन्तरप्रदेश भाडा अधिकतम ७ दशमलव ७ प्रतिशतसम्म हुनेगरी बढाएको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायातको भाडा बढाउनु परेको विभागले जनाएको छ । सूचना जारी भएपछि अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीले अधिकतम ७ दशमलव ७ प्रतिशतसम्म भाडा बढान पाउने छन् ।
सूचना अनुसार यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले जनाएको छ ।
स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ । सावारी साधनको भाडा बढेसँगै बजार भाउ पनि अध्याधिक बढ्ने अनुमान गरिएको छ । अहिले पनि बजारमा १० वर्ष यताकै उच्च मूल्य कायम भएको छ ।