१६ असार २०७९, बिहीबार
नेपाल प्रहरी

आईजीपी कमाण्ड कन्ट्रोल गर्ने, डीएसपीहरु शक्तिकेन्द्र धाउनी

प्रकाशित मिति :  ८ असार २०७९, बुधबार १७:३१


८ असार, काठमाडौं । प्रहरी प्रधान कार्यालयले कमाण्ड कन्ट्रोल कमजोर भएका अधिकृतहरुलाई जिम्मेवारीबाट हटाउन थालेको छ । कार्यक्षेत्रमा कमाण्ड गर्न नसक्ने तर शक्तिकेन्द्रको आडमा इन्चार्ज भएर बसिरहने प्रहरी कर्मचारीलाई धमाधम हटाउन थालेको हो । यही मेसाेमा कार्यक्षेत्रमा कमजोर देखिएका अछामका डीएसपीलाई काठमाडौं सरुवा गरिएको छ ।

अछाममा विनोद शाहीको हत्या प्रकरण सुल्झाउन नसकेका डीएसपीको सरुवा भएको हाे । प्रहरी प्रधान कार्यालयले अछाम जिल्लाको प्रहरी प्रमुख डीएसपी रविराज थपलियालाई सरुवा गरेर नयाँ डीएसपी पठाइएको छ । डीएसपी थपलियालाई जिम्मेवारीबाट हटाएर डीएसपी नारायण डाँगीलाई जिम्मेवारी दिएको छ । डीएसपी डाँगी प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए ।

कमाण्ड राम्रो नभएको आधारमा डीएसपी थपलियालाई हटाएर डाँगीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । थपलियाको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको छ । उनको सरुवा भएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले पुष्टि गरेका छन् ।

पञ्चदेवल विनायक नगरपालिका–४ का युवक विनोद शाहीको मृत्युपछि अछाम अशान्त बन्दै आएको छ । भिरबाट लडेको अवस्थामा उनको शव गत २१ जेठमा भेटिएको थियो । परिवारले उनको हत्या भएको आरोप लगाउँदै आएको छ । घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट टोली खटिएको छ ।

१७ जेठको रातिदेखि बेपत्ता रहेका विनोदको शव घरनजिकैको कुच्ची जङ्गलको खोँचमा भेटिएको थियो । १३ जनामाथि प्रहरी किटानी जाहेरी लिन प्रहरी तयार भएपछि परिवारले शव बुझेका थिए । सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टको टोली अछाम पुगेको थियो । सोही टोलीले अनुसन्धान गरेपछि दुई जनालाई पक्राउ समेत गरेको थियो ।

त्यसैगरी स्वयम्भू वृत्तका डीएसपी मिलन केसीको पनि सरुवा भएको छ । उनलाई काठमाडौं उपत्यका कार्यालयमा सरुवा गरिएको छ । गुण्डा नाइके समीरमान सिंह बस्नेतलाई केन्द्रीय कारागारमा भेट्न गएको आरोपमा उनीमाथि छानविन भएको थियो । प्रहरी नियम विपरित कार्य गरेको भन्दै उनलाई विभागीय कारवाहीको समेत सिफारिस भएको छ । त्यसैगरी रौतहटका एसपी विनोद घिमिरेलाई दुई पटक स्पष्टिकरण सोधिएको छ ।

स्थानीय तह निर्वाचनमा गम्भीर लापरबाही गरेको भन्दै उनीमाथि २ पटक स्पष्टीकरण सोधिएको थियो । उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै सरुवाको तयारी भएको थियो तर शक्तिकेन्द्रको दबाबमा उनको सरुवा रोकिएको खुलेको छ । त्यस्तै जनसेवा प्रहरी वृत्तका डीएसपी शालिकराम शर्माको गतिविधिलाई लिएर छानविन शुरु भएको छ । उनीमाथि कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोप लागेको छ ।

उनको वालुवाटारसँग राम्रो सम्बन्ध रहेका कारण अहिलेसम्म वृत्त प्रमुख भैरहेका छन् । अर्को डीएसपी सुकदेव खनाललाई पनि प्रहरी प्रधान कार्यालयले स्पष्टिकरण सोधेको थियो तर उनको सम्बन्ध पनि कांग्रेसका ठूला नेतासँग भएका कारण रोकिएको छ । खनाल ओखलढुंगाका डीएसपी हुन् । ‘आईजीपीले कमाण्ड कण्ट्रोल गर्न खोज्ने तल्लो तहका कर्मचारीहरु शक्तिकेन्द्र धाउने गरेका छन् ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।


9.76k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता