९ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीभित्र मन्त्री फेरबदलको विवाद चुलिँदै गइरहेकाे बेला केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुनुपर्ने बैठकमा कुरा उठेकाे छ ।
बुधबार र बिहीबार बसेको सचिवालय बैठकले अब दिनहरुमा होइन, घण्टाहरुमा मन्त्रीहरु हेरफेर गर्ने दिशामा लागेको भन्दै पार्टीको निर्णय कार्यान्वयन गर्नेमा बैठकले जोड दिएको हाे ।
पार्टीको सचिवालय बैठकपछि उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको स्थायी कमिटी र सचिवालयले गरेको निर्णय कार्यान्वयन हुने बताएका छन् ।
खतिवडाले छिट्टै मन्त्रिपरिषद पुनर्गठन हुने बताउँदै भने, सरकारमा पार्टीबाट सहभागी रहेका मन्त्री फिर्ता आउनेछन्, अनि ती ठाउँमा पार्टीले यसअघि निर्णय गरेअनुसार नयाँ मन्त्री पठाइने छ ।
‘मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ। दिनमा होइन घन्टामा मन्त्री हेरफेर हुन्छ,’ उनले भने, ‘कसले कहाँ कोसँग छलफल गर्यो भन्ने व्यक्तिगत कुरा हुन्। पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले त्यसअनुसार मन्त्री परिवर्तन हुने हो।’
नेकपा एसको शुक्रबार भोली पोलिटब्यूरो बैठक बस्नेछ भने ११ गते केन्द्रीय कमिटी र १३–१४ केन्द्रीय परिषद्को बैठक बस्नेछ । बैठकमा स्थानीय चुनावको समीक्षा, सरकारको समीक्षा, गठबन्धन र आगामी चुनावबारे छलफल हुनेछ ।
केही साताअघि मात्र नेकपा एसले मौजुदा मन्त्रिपरिषद्मा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। तर, अहिलेसम्म नेकपा एसको निर्णय कार्यान्वयन हुन सकेको छैन।