१ भाद्र २०७९, बुधबार
अर्थराजनीति

कांग्रेस नेता कोइराला र अर्थविदबीच छलफल, देश जटिल मोडमा रहेको निष्कर्ष

प्रकाशित मिति :  १३ असार २०७९, सोमबार १७:३७


१३ असार, काठमाडौं । देशको वर्तमान आर्थिक अवस्थाबारे नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सम्बन्धित क्षेत्रका बिज्ञहरुसँग छलफल गरेका छन् । सोमबार काठमाडौंको होटल मल्लमा कोइरालाले बिज्ञ तथा विश्लेषकहरुसँग छलफल गरेका हुन् ।

कोइरालाका सहयोगी दिनेश थपलियाका अनुसार छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य डा. गोबिन्दराज पोख्रेल, पूर्व प्रशासक डा. बिमल कोइराला, अर्थविद् डा. अच्युत वाग्ले, नरेशकुमार श्रेष्ठ र अर्थराजनीतिक विश्लेषक पुरञ्जन आचार्य सहभागि थिए ।

छलफलका क्रममा अर्थविद्हरूले देशको राजनीतिक र आर्थिक क्षेत्र चिन्ताजनक मोडमा पुगेको भन्दै समयमै सचेत नभए दुर्घटनामा जानसक्ने बताएका थिए । उनीहरुले देशको अर्थव्यवस्था यो अवस्थामा आउनुको मुख्य कारक अर्थमन्त्री जनार्दन शर्मा रहेको र उनलाई वर्खास्त नगर्दा यसको दोष कांग्रेसको काँधमा आएको बताएका थिए ।

देशको राजनीतिक र आर्थिक अवस्था ठिक नभएकाले समयमै सचेत भएर अहिलेका अर्थमन्त्रीलाई लिएर चुनावसम्म जान नहुने भन्दै उनीहरुले गएमा मुलुकको अर्थव्यवस्था धेरै नराम्रो अवस्थामा पुग्ने सुझाव दिएका थिए ।

छलफलका क्रममा अर्थविद्हरूले देश वर्तमान अवस्थामा आइपुग्नुमा कांग्रेस सत्तारुढ दल भएकाले मुख्य जिम्मेवार भएको भन्दै सुधारको कदम पनि कांग्रेसले चाल्नुपर्ने बताएका थिए । डा. कोइरालालाई सुझाव दिने क्रममा उनीहरुले यी विषयहरुलाई पार्टीको केन्द्रीय समितिदेखि विभिन्न फोरमहरुमा सशक्त रूपमा प्रस्तुत गर्न भनेका थिए ।


637
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा