९ आश्विन २०७९, आईतवार
मधेश प्रदेश

वडा प्रहरी विर्ताको सक्रियता, २६ वर्ष पुरानो मुद्धाका फरार व्यक्तिसहित ८ जना पक्राउ

प्रकाशित मिति :  ३० श्रावण २०७९, सोमबार १२:१५


३० साउन, बीरगञ्ज । बीरगञ्ज महानगरपालिका वडा नम्बर २ का निरञ्जन शर्मालाई आइतबार दिउँसो वीरगञ्ज बजारबाटै प्रहरीले पक्राउ गर्यो । वडा प्रहरी कार्यालय विर्ताबाट खटेको प्रहरी टोलीले शर्मालाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गर्दा शर्मा प्रहरीसँगै भनाभनमा उत्रिए । जब प्रहरीले पक्राउ गर्नाको कारण बतायो तब उनी अचम्मित मात्रै भएनन् जतिसुकै सानो सजाय भए पनि त्यसलाई छलेर हिँड्न नसकिने रहेछ भन्नेमा पुगे ।

शर्मालाई २६ वर्ष अगाडी भएको एउटा घटनामा अदालतले ५० रुपैयाँ जरिवाना तोकिएको मुद्धामा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत पर्साले २०५३ साल साउन ३२ गते सरकारवादी रहेको जुवा मुद्धामा शर्मालाई ५० रुपैयाँ जरिवाना तोकेको थियो ।

तर उनी जरिवाना नतिरी फरार रहँदै आएका थिए । ५० रुपैयाँ तिर्नका लागि पनि प्रहरीले आफूलाई पक्राउ गर्ला र भन्नेमा थिए उनी । जरिवाना तोकेको २६ वर्ष वित्दासम्म वीरगञ्जमै विभिन्न काम गर्दै आएका थिए उनी ।

यो २६ वर्षको अन्तरमा कयौँ प्रहरी नेतृत्व फेरियो, कयौँ अदालतका न्यायाधिश फेरिए । यतिका वर्ष वित्दा पनि अदालतले गरेको त्यो फैसलाले आइतबार शर्मा पक्राउ पर्नबाट उम्किन सकेनन् ।

अदालतमा ५० रुपैयाँ जरिवाना बुझाएर उनी आइतबार नै छुटेका छन् । अदालतको फैसला कार्यान्वयन गराउन प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्दै अदालत बुझाउने गरेको छ । प्रहरीले आइतबार शर्मा जस्तै विभिन्न मुद्धामा फैसला भएर फरार रहेका ८ जनालाई पक्राउ गरेर अदालत बुझाएको थियो ।

किर्तो जालसाजी मुद्धामा २०६९ साल भदौ १० गते २० रुपैयाँ जरिवाना तोकिएको वीरगञ्ज १ की पानवा मलिन, कुटपिट मुद्धामा २०६३ मंसिर २१ गते २५० रुपैयाँ जरिवाना तोकिएको सोही वार्डकै मदन पण्डित, सार्वजनिक अपराधको मुद्धामा २०७२ चैत २५ गते २ सय रुपैयाँ जरिवाना तोकिएको जावेद भन्ने बट्टु मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

यस्तै लुटपाट मुद्धामा २०६७ पुस २९ गते ३ हजार ७ सय ६७ रुपैयाँ जरिवाना तोकिएको वीरगञ्ज १ का पनमतीया देवी तुराहा, विदेशी विनिमय मुद्धामा २०७६ माघ ९ गते २९ हजार ९ सय ४८ रुपैयाँ जरिवाना तोकिएको वीरगञ्ज ६ का कामेश्वर साह कलवार, चेक अनादर मुद्धामा २०७७ चैत १९ गते ३ हजार रुपैयाँ जरिवाना तोकिएको वीरगञ्ज १६ का रामआशिष प्रसाद बरै र दुनियाँवादी फौजदारी मुद्धामा २०७८ मंसिर ६ गते ३ हजार रुपैयाँ जरिवाना तोकिएको वीरगञ्ज ४ का कुन्दन कुमार वर्णवाललाई प्रहरीले पक्राउ गरेर अदालत बुझाएको हो ।

वडा प्रहरी कार्यालय विर्ताको फैसला कार्यान्वयन टोलीले २६ वर्ष पुरानो मुद्धाका साथै २० रुपैयाँ जरिवाना तोकिएका व्यक्तिसहित ८ जनालाई नगरका विभिन्न स्थानबाट पक्राउ गरी आइतबार जिल्ला अदालत पर्सामा बुझाएको थियो । फैसला कार्यान्वयनका लागि अदालत बुझाइएको आठै जना विगो जरिवाना बुझाएर आइतबार नै छुटेका छन् ।

वडा प्रहरी कार्यालय विर्ताले पछिल्लो एक महिनामा कर्तव्य ज्यान, जबरजस्ति करणी, बैकिंङ कसुर, चोरी लगायतका विभिन्न अपराधमा संलग्न फरार प्रतिवादीलाइ पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालत बुझाएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।


11.28k
Shares
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्याममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा