१८ मंसिर २०७९, आईतवार
अन्तर्वार्ता
आमनिर्वाचन विशेष

मैले चुनाव जित्दा संघबाट धेरै केन्द्रीय योजनाहरु जिल्लामा पुर्याउन सहज हुन्छः घिमिरे

प्रकाशित मिति :  १४ कार्तिक २०७९, सोमबार ०७:०५


विद्यार्थी राजनीतिबाट उदीयमान जुझारु नेता हुन् श्याम घिमिरे । सिन्धुलीका घिमिरे आगामी मंसिर ४ मा हुन गइरहेको आमनिर्वाचनमा सिन्धुली क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी सत्ता गठबन्धनकोतर्पmबाट नेपाली कांग्रेसका उम्मेदवार हुन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे प्रभावशाली नेताको रुपमा परिचत छन् ।

सधैं गरीब, निमुखा र आवाजबिहीनहरुको आवाज बुलन्द गर्ने उनी इमानदार नेता र स्पष्ट वक्ताको रुपमा परिचित छन् । जनताका कामप्रति सधैं दत्तचित्त रहने उनी स्वच्छ छवि, कुशल नेतृत्व र लोकप्रिय नेताको रुपमा जनतामाझ चिनिन्छन् । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने घिमिरे यस क्षेत्रको विकासमा अहोरात्र खट्ने वचनवद्धता गर्दछन् । उनै नेता घिमिरेसँग आमनिर्वाचनमा केन्द्रित रहेर नेपालबहसका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश:

घरदैलो तथा भेटघाटका कार्यक्रममा जाँदा जनताले के अपेक्षा गरेको पाउनुभयो ?

म घरदैलो तथा घेटघाट कार्यक्रम लिएर प्रदेश ‘क’ सकेर ‘ख’ तिर छिरेको छु । यसरी घरदैलो कार्यक्रममार्फत जनतासँग भेट्दा उहाँहरुबाट एकदमै राम्रो सहयोग हुने आश्वासन पाएको छु । उहाँहरुमा ठूलो विकास निर्माणभन्दा पनि दैनिक जीवन गुजारा त्यसमा पनि स्वास्थ्य र शिक्षाको क्षेत्रमा समस्या भएको पाएँ । त्यसको लागि हरेक वडास्तरमा एउटा अस्पताल र पालिकास्तरमा विशेषज्ञ चिकित्सकसहित १५ बेडसम्म सुविधासम्पन्न अस्पतालको व्यवस्था गर्न आवश्यक छ । त्यसको परिपूर्ति गर्न म तयार छु भनेर मैले उहाँहरु समक्ष प्रतिवद्धता जनाएको छु ।

तपाईंका चुनावी एजेन्डा के के छन् त सिन्धुली १ को लागि ?

मेरो चुनावी एजेन्डामा पहिलो त विकास निर्माणका कुराहरु छन् । त्यसपछि युवाहरुलाई रोजगारीको व्यवस्थाको लागि व्यवसायिक, सीपमुलक र प्राविधिक शिक्षामा जोड दिने छु । अहिलेको शिक्षामा सटिफिकेट होइन सीपको आवश्यकता छ । बाटोघाटोको कुरा गर्नुपर्दा अहिले ट्र्याक मात्रै बनेका छन् । त्यसलाई व्यवस्थित गरेर बाह्रै महिना गाडी चल्न सक्ने बनाउनुछ । स्थानीय कृषि, पशुपालन तथा फलफूल उत्पादनलाई व्यवसायीकरण गरी भण्डारण तथा बजार व्यवस्थापनमा जोड दिने ।

रोजगारीको लागि विदेसिने युवाहरुलाई देशमै रोक्न कस्तो एजेन्डा ल्याउनुभएको छ ?
व्यवसायिक किकास नभइकन देशमा रोजगारी सिर्जना हुँदैन । त्यसरी व्यवसायिक विकास गर्नका लागि हामीले यस क्षेत्रलाई नै प्रमोसन गर्नुपर्छ । व्यवसायिक विकासलाई सबैभन्दा पहिला मुलुकमा राजनीतिक स्थिरता दिनुपर्छ । राजनीतिक स्थिरता भएपछि देशमा शान्तिसुव्यवस्था र अमनचयनको वातावरण सिर्जना हुन्छ । व्यवसायिक सुरक्षाको ग्यारेन्टी हुन्छ । व्यवसायिक सुरक्षा भएपछि लगानीकर्ताको मनोबल बढ्छ । त्यसको माध्यमबाट नै देशमा रोजगारी सिर्जना हुन्छ ।

जसले राज्यको राजस्वबृद्धि हुन्छ । राजश्व वृद्धि भएपछि स्थानीय, प्रदेश र केन्द्र सरकार बलियो हुन्छ । त्यसबाट जनताले देशमै रोजगारी पाउँछन् । त्यसकारण मैले यहाँको भूगोल, जनताका आवश्यकता र चाहना अनुसार व्यवसायिक विकासलाई जोड दिएको छु । जब जिल्लामै व्यवसायिक विकास भयो भने स्थानीयस्तरका सबैखाले युवाहरुले रोजगारी पाउँछन् । त्यसमा मेरो केन्द्र सरकारसँग विशेष जोड रहने छ ।

चँदाह र कमला नदीले वर्षेनी जमीन कटान गर्दा किसानहरु प्रताडित छन्, त्यसको नियन्त्रणको लागि के गर्नुपर्छ ?

सिन्धुली क्षेत्र नं. १ मा तीनवटा रणनीतिक बाटाहरुको निर्माण गर्ने योजना छ । त्यो बाटो निर्माणका क्रममा पनि धेरै ठाउँमा नदी नियन्त्रणका लागि तटबन्धन गर्नुपर्ने देखिन्छ । त्योसँगै चँदाह र कमला नदीले वर्षेनी धेरै उर्बर जमीन कटान गर्दा किसानहरु धेरै पीडित भएका छन् । मेरो अहिलेको मूल एजेण्डा भनेकै यही हो । यसको नियन्त्रणको लागि मेरो प्रयास निरन्तर रहनेछ ।

यसभन्दा पहिला पनि एजेन्डा त बनेका होलान् । तर, यसपटक एजेन्डा मात्रै बनाएको छुइन । काम गर्नेगरी मनमा लिएको छु । मैले चुनाव जितेको भोलिपल्टबाट स्थानीय र प्रदेश सरकारको समन्वयमा केन्द्रसँग सहयोग लिएर काम थाल्नेछु । श्याम घिमिरे जे बोल्छ त्यो गर्छ र जे गर्छ त्यो बोल्छ । म चुनावका बेला ठूला–ठूला सपना देखाउने चुनाव जितिसकेपछि क्षेत्रमा फर्केर नआउने नेता होइन । अहिले प्रतिवद्धता गरेका काम पाँच वर्षभित्र सम्पन्न गरेर देखाउँछु । त्यसमा यस क्षेत्रका जनता ढुक्क भए हुन्छ ।

घरदैलो कार्यक्रममार्फत धेरै ठाउँ जानुभयो, ठ्याक्कै जनतामा खड्किएको समस्या चाहीँ के देख्नुभयो ?

त्यसरी जनतामा खड्किएका धेरै समस्या देखेँ । त्यसमा बाटोघाटो, पुलपुलेसा, खानेपानी, सिंचाईलगायत छन् । रोजगारीको क्षेत्रमा त जनता पुगेकै छैनन् । अहिले खाली भौतिक पूर्वाधार र स्थानीय विकास निर्माण र दैनिक जीवनयापनमै केन्द्रित छन् । अहिलेको बदलिँदो परिस्थिति, जीवनशैलीले गर्दा जनताका चाहनाहरु ह्वात्तै बढेको पाइयो ।

यहाँको भौगोलिक अवस्था, प्राकृतिक संरचना, हावापानी, भूबनावट, गाउँ, टोल, बस्तीको संरचना सबै कारणले जनताका चाहनाअनुसारको सुविधा पुगिसकेको छैन । तर, जनताका चाहना भने एकदमै अगाडि बढिसकेको छ । त्यसकारण यस क्षेत्रका जनताका जल्दाबल्दा समस्या समाधानका लागि अगाडि बढ्नुपर्ने आवश्यकता देखियो ।

चुनावका बेला यस्ता आश्वासन पहिलाका प्रतिनिधिले पनि दिएका थिए तपाईंले चाहीं पुरा गर्नुहुन्छ भन्ने आधार के ?

त्यहीं पहिलाका प्रतिनिधिहरुले जनताका चाहना र आवश्यकता अनुसार काम गरेनन् भनेर अहिले हामीहरु आएका छौं । अब पहिलाका प्रतिनिधिहरुले राम्रो काम गरिदिएको भए उनीहरुले सधैं खाइहाल्थे नि । यसअघिका जनप्रतिनिधिले राम्रो काम गरेनन् । जनताको चाहना एकातिर प्रतिनिधिका काम अर्कोतिर भए ।

काम गर्दा आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गरे । जसले गर्दा जनताको चाहना, भूगोलको मर्म र भावना अनुसारको काम भएन । त्यसकारण यसपटक हामीलाई भोट दिनुहोस् । हामीले जितेर आइसकेपछि तपाईंहरुको चाहना अनुसारको काम गरेर देखाउँछौं भन्ने विश्वास दिलाउँदै हिँडेको छु ।

सिन्धुली क्षेत्र नं. १ स्वास्थ्यको क्षेत्र निकै पछि परेको छ । यसको परिपूर्तिका लागि कस्तो योजना ल्याउनुभएको छ ?

त्यसको लागि हामीले नीतिगत रुपमै हरेक पालिकामा १५ बेडको अस्पताल निर्माण गर्ने भनेका छौं । त्यसैगरी सिन्धुली जिल्लाको माझमा पर्ने गरी १०० बेडको विशेषज्ञ सेवासहित अत्याधुनिक अस्पताल निर्माण गर्ने प्रतिवद्धता जाहेर गर्दछु । यहाँ मात्रै होइन नेपाली कांग्रेसले हरेक जिल्लामा कम्तिमा १०० बेडको विशेषज्ञ सुविधासहितको अत्याधुनिक सामुदायिक अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । यसलाई राज्यबाट नीतिगत रुपमै अगाडि बढाउने निर्णय गरेका छौं ।

सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउन कुनै नेताले पहल गरेनन् भन्ने जनगुनासो छ नि ?

सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय बनाउनुपर्ने विषय मेरा राष्ट्रिय एजेन्डामै पर्छ । यसलाई नीतिगत रुपमै राष्ट्रिय एजेन्डाको रुपमा सम्बोधन नगरी हुँदैन । नीतिगत रुपमै सम्बोधन गर्नुपर्छ । अहिले सार्वजनिक शिक्षाको अवस्था जसरी ध्वस्त भएको छ । यसका विविध कारणहरु छन् । त्यो समस्याको निवारणको बाटो खोजेर समाधानतिर लाग्नुपर्छ ।

त्यसको लागि सीपमूलक प्राविधिक शिक्षामा जोड दिनुपर्छ । सामुदायिक विद्यालयमार्फत प्राविधिक शिक्षा दिन सकियो भने युवाहरुमा रोजगारीको सम्भावना बढ्छ । उनीहरु स्वदेशमा मात्रै नभएर विदेशमै गएपनि उचित पारिश्रमिक पाउँछन् । स्वदेशमै पनि उद्यमशील बन्न उत्प्रेरित हुन्छन् । त्यसैले यस क्षेत्रको सामुदायिक विद्यालयलाई गुणस्तरीय, विश्वासिलो र भरपर्दो बनाउन मैले मूल एजेन्डाको रुपमा प्रस्तुत गरेको छु ।

विकासका नाममा खनिएका बाटाहरु नाममात्रका भए भन्न गुनासो छ नि यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

अहिले बनेका बाटाहरु सबै ठाउँमा ट्र्याक खोलिएका छन् । अहिले नै सबै ठाउँमा बाटो पिच गर्न सम्भव पनि छैन । यसका मुख्य रणनीतिक सडकहरु पिच हुन्छन् । अन्य भित्री बाटाहरुलाई ठाउँको महत्व आवश्यकता अनुसार बाह्रै महिना गाडी चल्ने बनाउनुपर्छ । त्यसको लागि मैले घरदैलो तथा भेटघाट कार्यक्रममा पनि मतदातासँग भनेको छु । मैले चुनाव जितेको भोलिपल्टबाट मेरो अधिकार र बलबुताले भएसम्म काम गर्ने छु । हामी जहिले पनि विकास निर्माणका काम गर्दा स्थानीय आवश्यकता र महत्वलाई ध्यान दिनुपर्छ । मैले सोचेको छु ।

महाभारतबाट चल्ने कृषि सडकको कुरा मात्रै भयो, नेताहरुले ध्यान दिएनन् भन्ने गुनासो छ नि ?

अहिले सिन्धुली जिल्लामा तीन÷चारवटा रणनीतिक सडकहरु छन् । जस्तो खन्याखर्कदेखि जौबारीसम्म जाने बाटो, सिन्धुलीबाट चकमकेहुँदै कटारीसम्म जाने बाटो, भीमानबाट डकाह, कुर्थौली, दुधौलीहुँदै कटारी जोडिने बाटो, अर्को सुनकोसी गड्तिरहुँदै ओखलढुंगा–कटारी जोडिनेबाटोले हाम्रो एक नम्बर क्षेत्रलाई सदरमुकामसँग जोड्ने काम गरेको छ । यी सडकहरुलाई स्तारोन्तति गरेर पिच गर्ने योजना छ । त्यसैगरी भित्री सडकहरुलाई स्तरोन्नति गरी हिउँद–वर्षै चल्ने बनाउन पहल गर्ने योजना छ ।

स्थानीय कृषि उत्पादनमा विचौलियाले खेलेर उचित मूल्य माइएन भन्ने किसानहरुको गुनासो छ नि ?

त्यसमा मेरो छुट्टै भनाइ छ । दुई/चार किलो, दुई/चार माना उत्पादन गरेर बाटो र बजार व्यवस्थापन हुने होइन । त्यसको लागि दुई/चार ट्रक उत्पादन गर्नुपर्याे । दुई/चार किलो, दुई/चार माना उठाउँदै हिड्ने काम ठूला व्यवसायीहरुले गर्दैनन् । विचौलियाले नखेल्ने गरी मूल्य हात पार्न ठूलो परिमाणमा उत्पादन हुनुपर्याे । उत्पादनलाई बृद्धि गर्न सकियो भने आफसेआफ बाटो र बजार व्यवस्थापन हुन्छ । ठूला व्यवसायीहरु आफै आउँछन् । त्यसैले हामीलाई उत्पादनलाई विशेष जोड दिन आवश्यक छ । सिन्धुली क्षेत्र नं. १ का अधिकांश भू–भागहरु कृषि उत्पादनका लागि उर्बर छन् । त्यसको लागि मेरो सकेको सहयोग गर्न लागिपर्ने छु ।

सिन्धुली क्षेत्र नं. १ का मतदाताले श्याम घिमिरेलाई चाहीं भोट हाल्नैपर्ने कारण के ?
पहिलो कुरा त म नेपाली कांग्रेसको पटक–पटक केन्द्रीय सदस्य भइसकेको व्यक्ति हुँ । लेखासमिति संयोजक भइसकेकाले पार्टीभित्र पनि प्रभावशाली नेताको रुपमा चिनिन्छु । पार्टी अन्य जिम्मेवार पदमा रहेर काम गरेको अनुभव पनि मसँग छ । राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली नेताभित्र पर्दछु । मैले यो क्षेत्रमा चुनाव जिँते भने भइरहेका विकासका कामभन्दा बाहेकका कामको लागि केन्द्रीय योजना ल्याउन सक्छु ।

भलै म मन्त्री हुँला नहुँला तर यसक्षेत्रको विकास निर्माणका काममा अन्यको तुलनामा नमुना क्षेत्र बनाएर देखाउने छु । युवाहरुको लागि मैले अगाडि पनि भनिसकेको छु । व्यवसायिक सीपमुलक प्राविधिक शिक्षाको खाँचो छ । त्यसको लागि विशेष पहल गर्ने छु । अर्को म यही क्षेत्रमा जन्मी, हुर्की गरेको व्यक्ति हुँ । मलाई यहाँका जनताको आवश्यकता भौगोलिक अवस्थाको महत्व र प्राकृतिक सौयन्दर्यको बारेमा राम्रा ज्ञान छ ।

यस क्षेत्रका मतदातासँग पटक–पटक हातेमालो गरेर सुखदुःखमा साथ दिएको छु । त्यसकारण विकास निर्माण तथा भौतिक पूर्वाधारको क्षेत्रमा पाँच वर्षभित्रमा गाउँपालिका र वडाले गर्ने काम उनीहरुले गर्लान् । प्रदेशले गर्ने काम उसले गर्छ । संघीय सरकारले गर्ने काममा कुनै कसर बाँकी राख्ने छैन । हामी अहिले देखिएका समस्या समाधान गर्न सक्षम छौं भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।

अन्त्यमा त्यस क्षेत्रका मतदातालाई के भन्नुहुन्छ ?

आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा म सिन्धुली क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेको छु । हामीले शान्ति, विकास र समृद्धिका लागि सत्तागठबन्धनका दलहरुलाई यो चुनावमा निरन्तरदाता दिएका छौं । संघमा श्याम घिमिरेलगायत गठबन्धनबाट प्रदेशमा उम्मेदवार रहनुभएका साथीहरुलाई पनि मत दिएर विजय गराउनुहोला भन्न चाहन्छु ।

म केन्द्रीयस्तरको नेताको हैसियतले तपाईंहरुलाई यी कुरा भनिरहेको छु । म यस क्षेत्रमा सांसद हुँला, नहुँला तर स्थानीय र प्रदेश सरकारले गरेबाहेक केन्द्र सरकारले गर्नुपर्ने तपाईंहरुका जुनसुकै काम गर्न तयार छु । मैले अगाडि पनि भनेको अहिले सामुदायिक विद्यालयहरु ध्यस्त भएका छन् ।
त्यसलाई आमूल परिवर्तन नगरी हुँदैन । त्यसको लागि प्राविधिक शिक्षालाई जोड दिनुपर्छ । अब सर्टिफिकेट होइन, सीप बिक्छ । स्वास्थ्यको क्षेत्रमा सरकार अस्पतालहरुको स्तरोन्नति गर्न आवश्यक छ ।

जेष्ठनागरिक, शारीरिक असक्तता भएका र विपन्नहरुलाई निःशुल्क स्वास्थय सेवा हुनुपर्छ भन्ने मेरो धारणा छ । कम्तिमा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्छ भन्ने हाम्रो नीतिगत कुरा हो । त्यसलाई लागु गर्न पहल गर्नुेछु । मैले मतदाताहरुलाई के भन्दै आएको छु भने तपाईंहरुको सांसद् सञ्चारमाध्यमहरुमा सधैं, सुनिने, देखिने र आफ्नो कुराहरु राखेर दह्रो दृढताकासाथ उभिन सक्ने रुपमा प्रस्तुत हुन्छ । र, तपाईंहरुको मतको इज्जत राख्ने गरी काम गर्ने छु । त्यसको लागि सबै ढुक्क भए हुन्छ ।

 


546
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा