२३ मंसिर, काठमाडौ । भैरव पुरस्कार गुठीले शुक्रबार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन जनालाई प्रदान गर्ने भएको छ । पुरस्कार प्राप्तकर्ताहरूको नाम सार्वजनिक गरेको छ ।
जसअनुसार यस वर्षको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठी, साहित्यकार विश्वम्भर चञ्चल र कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ ।
२०७९ को भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपैयाँ रहेको छ ।
यस्तै, एक लाख एक हजार १११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने गुठीले जनाएको छ । ५१ हजार १११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ ।
पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को संयोजकत्वमा साहित्यकार प्रल्हाद पोख्रेल र व्यङ्ग्यकार नरनाथ लुइँटेल सदस्य रहेको समिति बनाएको थियो ।
आगामी ९ पुसमा गोकर्णेश्वर-५ स्थित भैरव भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कार वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।