२४ माघ २०७९, मंगलवार
पदाधिकारी बैठक
राजनीति

राष्ट्रपतिको निर्वाचन सार्ने षडयन्त्र नगर्न कांग्रेसको चेतावनी

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १२:५१


९ माघ, काठमाडौं । राष्ट्रपति निर्वाचनबारे केही ऐन संशोधन गर्नुपर्ने माग राख्दै आएको नेपाली कांग्रेसले सरकारले राष्ट्रपतिको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ । कांग्रेसले फागुनभित्रै राष्ट्रपति निर्वाचन गराउन माग पनि गरेको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको सोमबार बसेको बैठकले चुनाव सारेर कामचलाउ राष्ट्रपतिले काम गर्ने अवस्था निर्माण नगर्न सरकारलाई चेतावनी दिएको हो ।

कांग्रेसले फागुन मसान्तभित्र अनिवार्य राष्ट्रपति चुनाव गर्न माग गर्दै त्यसअघि संविधान र कानुनमा रहेका फरक हटाइसक्न सरकारको ध्यानाकर्षण गराएको छ । बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको गर्नु पर्छ भन्ने मान्यता कांग्रेसको रहेको बताए ।

उनले निर्वाचन आलटाल गरेर पछाडि धकेल्न खोजिएको भन्दै यस्तो कुरा कांग्रेसलाई मान्य नहुने बताए । बैठकले राष्ट्रपति निर्वाचनमा संसदमा रहेका अन्य दलहरुसँग छलफल थाल्ने निर्णय पनि गरेको डा. महतले बताए । उनले भने, ‘आजको बैठक राष्ट्रपति निर्वाचन केन्द्रित भयो । निर्वाचन समयमा हुनुपर्छ । ऐनमा समस्या छन् भने समयमा समाधान गर्नुपर्छ भन्ने कुरामा सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छौँ ।’

उनको भनाइमा संविधान र ऐनको विवाद देखाएर निर्वाचन केही टाढा धकेल्ने र अनुकूल समयमा निर्वाचन गराउने तयारीको सूचना आएपछि कांग्रेसले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो । निर्वाचन आयोगमा ईश्वरी पौडेलबाहेक सबै एमाले अध्यक्ष केपी शर्मा ओली निकटका आयुक्तहरु छन् । पौडेलले पनि केही समयभित्रै अवकास पाउँदैछन् । त्यसपछि निर्वाचन आयोगलाई ओलीले आफू अनुकूल प्रयोग गर्न खोजेको सूचनापछि कांग्रेसले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

संविधान अनुसार राष्ट्रपतिको कार्याकाल फागुन मसान्तमा समाप्त हुँदै छ । संविधानले नै राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने किटान गरेको छ । तर, राष्ट्रपति निर्वाचन ऐनले कार्यकाल सकिनु एक महिना अघि निर्वाचन गरिसक्नु पर्ने प्रावधानले हरेक राष्ट्रपतिको कार्यकाल एक महिना घट्दै जाने भन्दै ऐन संशोधनको बहस चलिरहेको छ ।

ऐन संशोधन गर्नुपर्ने विषयमा सत्तापक्ष प्रतिपक्ष दुवै सहमत छन् । तर, सत्ता पक्षले ऐन संशोधनमा ढिलाइ गर्दै राष्ट्रपति निर्वाचन पर धकेल्ने तयारी गरेको सूचना आएको भन्दै कांग्रेसिले भने तत्काल ऐन संशोधन गरी फागुन मसान्तभित्रै राष्ट्रपति निर्वाचन गराउन सरकार र निर्वाचन आयोग नलागे परिस्थिति गम्भिर बन्ने भन्दै कांग्रेसले गलत नियत नबोक्न चेतावनी दिएको हो ।


858
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा