९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेपछि उनको आठ सदस्यीय सचिवालय बनेको छ । उनले परराष्ट्रसहित केही सल्लाहकार नियुक्त गर्न बाँकी छ ।प्रधानमन्त्रीले सचिवालयभित्र सबैभन्दा बढी जिम्मेवारी छोरी गंगा दाहाललाई दिएका छन् ।
गंगाले स्वकीय सचिवालयमा रहेका अन्य सदस्यसहित प्रधानमन्त्री प्रचण्डको दैनिक रुटिङसमेत हेर्ने काम गर्दै आएकी छन् । उनले दिनभरी भएको कामको रिपोटिङ पनि प्रधानमन्त्रीलाई दिनुपर्छ । खास नेता भेटघाटको समय पनि उनैले निर्धारण गर्दै आएको बताइन्छ । यसअघि परिवारका सदस्यलाई प्राथमिकता दिएको भन्दै प्रचण्डको आलोचना गर्दै आएका एमाले अध्यक्ष ओलीले भने खासै विरोध गरेका छैनन् ।
यसअघि आफुलाई पनि सरकारको जिम्मेवारी दिन माग गरिरहेका गजुरेललाई प्रधानमन्त्रीले सोमबार राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् । सिन्धुली स्थायी घर भएका गजुरेल २०७४ मा सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा भने उनले टिकट पाएका थिएनन् । २०३३ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका उनी २०४२ सालमा नेकपा मसालको केन्द्रीय सदस्य भएका थिए ।
२०७० मा माओवादीको कोषाध्यक्ष बनेका उनी २०७५ मा स्थायी समिति सदस्य थिए । उनी संविधानसभा सदस्य निर्वाचन २०७० मा सिन्धुली–३ बाट निर्वाचित भएका थिए । २०७२ मा उनी कृषिमन्त्री भएका थिए । गजुरेल राजनीतिका प्रखरवक्ता पनि हुन् । उनले संकटका समयमा प्रधानमन्त्री प्रचण्डको पक्षमा उभिदै आएका छन् । विश्वासपात्र भएकाले पनि उनले राजनीतिक सल्लाहकारको भूमिका पाएको चर्चा माओवादीमा छ ।
प्रधानमन्त्री प्रचण्डले यसअघि स्वकीय सचिवालयमा छोरी गंगा दाहालसहित ७ जनालाई नियुक्ति दिइसकेका छन् । प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरैलाई नियुक्त गरिएको छ । प्रधानमन्त्रीले स्वकीय सचिवमा रमेश मल्ल र छोरी गंगालाई नियुक्त गरेका थिए भने स्वकीय सहसचिवका रुपमा मनहरि तिमिल्सिना, सूर्यकिरण शर्मा, शिव खकुरेल र गोर्कण भट्टलाई नियुक्त गरिएको थियो ।
शर्माले प्रेस संयोजक र तिमिल्सिनाले प्रेस विज्ञको रूपमा काम गर्ने जिम्मेवारी पाएका छन् । प्रधानमन्त्रीको फोटो पत्रकारमा भने राससका प्रदीपराज वन्तलाई जिम्मेवारी दिइएको छ । तर, पुरै सचिवालयलाई छोरी गंगाले हेर्दै आएकी छन् । उनी पारिवारिक सदस्य भएकाले पनि दैनिका कार्यमा उनको उपस्थितिले प्रधानमन्त्रीलाई सहज भएको बताइएको छ ।