१० माघ, जुम्ला । जुम्लामा बिहान ५ बजेदेखि भारी हिमपात भइरहेको छ । हिमपातले जुम्ला सेताम्य भएको छ । अहिलेसम्म पनि हिउँ परिरहेको छ । जिल्लाको सबै क्षेत्रमा हिउँ परेसँगै जनजीवन निकै कष्टकर बनेको छ । चिसो अत्याधिक बढेको छ ।
भारी हिमपातले बिहानैदेखि मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् । पशुचौपायासमेत गोठबाट निकाल्न गाह्रो भएको स्थानीय बताँउछन । घरघरमा गेडागुडी र तातो झोलिलो पदार्थ पकाएर खाने काम भइरहेको छ । केहीले तातो पनि मात्र खाएर बसेको बताएका छन् ।
लामो समय वर्षा र हिउँ नपर्दा खडेरीले बालीनाली सुकिसकेको थियो । भोकमरी हुने भन्दै किसान चिन्तामा थिए । चन्दननाथ–२ का गोविन्द आचार्यले हिमपात पछि बालीनाली सप्रिने बताए । अहिले पाँच इन्च हिउँ परिसकेको छ । हिमपात जारी रहेकोले जमिनमा चिस्यानको मात्रा बढ्ने उनले बताए ।
हिमपातले बिहानैदेखि सडक यातायात ठप्प छ । जहाज चल्ने सम्भावना देखिँदैन । गत असोजदेखि जुम्लामा हिउँ परेको थिएन । हिमपातले अत्यधिक चिसो बढेको छ । विहान ११ बजेसम्म केही पनि घरबाहिर आउन सकेका छ्रैनन् । बृद्धबृद्धा र बालबालिकाला तथा विरामी भने समसयमा परेका छन् ।