सर्वोच्च अदालतले रवि लामिछानेसँग नेपाली नागरिकता नभएको ‘अनागरिक’ व्याख्या गर्दै फैसला सुनाएको छ । अर्थात, अहिले रविसँग कुनै देशको नागरिकता छैन । फैसलाको अन्तर्य स्पष्ट बुझ्न सकिन्छ, ‘उनी यो पृथ्वीको कुनै मुलुकको नागरिक होइनन् ।’ त्यसो भए रवि कुन देशका नागरिक हुन् त ? यसमा त सर्वोच्च बोलेको छैन ।
रवि नेपालमा जन्मे, नेपालमै हुर्के । शुद्ध नेपाली नाम ‘रवि’ छ । नेपाली वर्ण र रंग भएका रवि अहिले नेपाली भएनन् ! यो आश्चार्य लाग्दो फैसला अदालतले गरिदिएको छ । सम्मानित अदालतको यो फैसलाले विदेशमा रहेका लाखौं नेपाली नागरिकलाई ‘अनागरिक’ बनाउने नजिर स्थापित गरिदिएको छ । यो डरलाग्दो फैसला कहाँबाट जन्मियो, यो जान्न आवश्यक छ । किनकी, जे हुन्छ, नेपालमै हुन्छ । अचम्म त के छ भने आज (२०७९–१०–१३) को फैसलामा रवि नेपाली नै होइनन् भन्ने अर्थ लुकेको छ ।
हरेक नेपाली विदेश जान्छन् । काम गर्न, पढ्न, घुम्न र बस्न । कोही स्वदेश फर्किन्छन् । स्वदेश फर्कने मध्येका एक थिए, रवि । उनी अमेरिका गए । मातृभुमिमै बस्छु भनेर फर्किए । नौ बर्षअघि लिएको अमेरिकी नागरिकता उनले २०७५ साल असार १४ मा त्यागे । उनीसँग भएको पुरानो नेपाली नागरिकता छँदै थियो । यही नागरिकता सक्रिय हुन्छ भन्ने उनीमा बिश्वास भयो । उनी निकट कानुनका जानकारले पनि यस्तै सल्लाह दिए । उनले सजिलै पत्याए । त्यही अनुसार, उनले काम गर्दै गए ।
कानुन बमोजिम सबैतिर चलिरहेकै थियो । ०७९ साल मंसिरको चुनावमा उनको नेपाली नागरिकताको प्रसंग उठ्यो । यो प्रश्न उठ्नुअघि उनले पार्टी दर्ता गराए । चुनाव लडे । जिते । मन्त्री भए । कहिंकतै कानुनी अड्चन भएन । रविलाई लाग्यो, नागरिकता सक्रिय नभएको भए यी सबै तमाम काम कसरी भए ? यही जिकिरमा अडिग भए । अन्ततः २०७९ साल माघ १३ गते सर्वोच्चले यी सबै सारा प्रक्रिया अबैध सावित गरिदियो । अहिले उनी एक ‘अनागरिक’ छन् ।
आम सर्वसाधारणलाई लाग्न सक्छ, अब रवि कुन देशका नागरिक हुन् त ? यो जिज्ञासा उठ्नु स्वभाविक पनि हो । पुथ्वीमा भएका हरेक नागरिक कुनै न कुनै देशको नागरिक छन् । उनीहरुसँग आफ्नो देशको नागरिकता छ । तर, नेपालमा यतिबेला रविसँग कुनै देशको नागरिकता छैन । ब्रम्हाण्डमा कयौं ग्रह मध्ये पृथ्वी पनि एउटा ग्रह हो । अन्य ग्रहमा कस्ता जीव बस्छन्, अहिलेसम्म प्रमाणित छैन । वैज्ञानिकहरुले मंगलग्रहमा एलियन नामका मानिस जस्तै जीव बस्ने आंकलन गर्दै आएका छन् । ती जीवहरुलाई अहिलेसम्म एलियन भनिन्छ । अन्य ग्रहमा पनि यस्तै एलियन हुनसक्ने अड्कलबाजी केही वैज्ञानिकले गरेका छन् ।
ती त भए अन्य ग्रहमा भएका नागरिक अर्थात, एलियन । पुथ्वीमा भएका मानिसहरु त कुनै न कुनै देशको नागरिक हुन् । यो धर्तिका मानिसहरु मात्र होइनन्, कुनै एक देशका नागरिक पनि हुन् । तर, सर्वोच्च अदालतको यो फैसला भएको समयदेखि अर्को नागरिकता नलिंदासम्मको अबधिभर रवि भने संसारभरको कुनै देशको नागरिक हुने छैनन् । के रवि मानिस भएर पनि नागरिक होइनन् ? के रवि नेपाली भएर पनि नेपाली होइनन् ? के रवि सुडानी हुन् वा कोरियन हुन् वा अफ्रिकन ! अमेरिकी त उनी चारबर्ष अघि नै रहेनन् ? नेपाली पनि होइनन् भने के रवि अर्के ग्रहबाट आएका ‘एलियन’ हुन् ? अर्के ग्रहबाट पुथ्वीमा झरेका एक शक्तिशाली एलियन, जो पृथ्वीमा आएपछि मानिसमा रुपान्तरण भए ! यस्ता ब्रम्हाण्ड कै तर्क गर्ने अदालतले आधार सृजना गरिदिएको छ । सर्वोच्चको यो फैसलाले रवि नेपालमा बस्ने तर, संसारको कुनै पनि देशको नागरिकता नभएको एक ‘अनागरिक’ सावित गरिदिएको छ । यो फैसलाले मानिसहरुबीच एक अप्रत्याशित अनेक व्याख्या गर्ने बाटाहरु सृजना गरेको छ ।
विदेशमा अहिले करिब ५५ लाख नेपाली रहेको अनुमान छ । किनकी, भारतमा यति नै संख्यामा नेपाली छन् भन्ने यकिन तथ्यांक छैन । संसारका सबै मुलुकमा बस्ने नेपालीहरुलाई नेपालको माया छ । उनीहरु जहाँ बसेपनि नेपालको माया गरिरहन्छन् । कयौं नेपालीहरुको सम्बन्धित देशको नागरिकता लिएर पनि नेपालभित्र उनीहरुको सम्पति छ । उनीहरुको यहाँ परिवार र आफन्तहरु छन् । कयौैं नेपालीहरु ती देशमा लिएका नागरिकता त्यागेर स्वदेश आएर बसेका छन् ।
कयौं स्वदेश आउने तरर्खरमा छन् । यस्ता महत्वपुर्ण सवालमा हाम्रो कानुन मौन छ । खाली उही संविधानको धारा १३ र नागरिकता ऐन २०६३ को दफा ११ देखाएर अड्चन पैदा गरिएको छ । रविको यो फैसला पहिलो भएपनि सात बर्षअघि लेखिएको हाम्रो संविधानमा उल्लेखित धारा नेपाली जनताको लागि कति सुविधाजनक रहेछ वा रहेनछ भन्ने सवाल उठाएको छ । यो फैसलाले रविमाथि केहि अबरोध सृजना मात्र गरेको छैन, विदेशमा रहेका लाखौं नेपालीमाथि घन बर्सिएको छ । उनीहरुलाई घोर निराशा बनाएको छ । बिश्वभरका नेपाली नागरिक अन्योलमा परेका छन् । के यो फैसला नेपाल र नेपालीको हितका लागि छ त ? यो प्रश्न चौतर्फी फैलिएको छ ।
हुन त, हाम्रो न्यायालयको प्रणालीमाथि प्रश्न उठेको धेरै बर्ष भयो । राजनीति भागबण्डामा आधारित न्यायाधीशको चयनबाट सृजना हुने यस्ता फैसलाहरु स्वभाविक मान्नुपर्छ । कुनै पनि मुलुकमा न्यायाधीश यो फलानो पार्टी नजिक, त्यो फलानो पार्टीको भनेर चयन गरिंदैन । यो नेपालमा मात्र छ । हाम्रोमा त वारको चुनावमै दलगत प्रक्रिया हुन्छ । त्यही वारदेखि हुने राजनीति भागबण्डा न्यायाधीशसम्म आएर बाँडिन्छ । अहिले पनि सर्वोच्च अदालतमा भएका केही न्यायाधीश कुनै राजनीति दलका पुर्व सांसद हुन् । कुनै पनि मुलुकमा न्यायाधीश बन्ने व्यक्ति दलमा आबद्ध भएको हुँदैन । तर, हामी कहाँ यो चल्छ ।
बिचरा ती न्यायाधीशले पनि जनमुखी फैसला गरुन कसरी । प्रणाली नै यस्तै छ । यी तमाम न्यायाधीशहरुको केही दोष छैन । आखिर, न्यायाधीश भएपनि यही समाजका उत्पादन नै हुन् । अनि, रवि र अन्य लाखौं रविहरुलाई ‘एलियन’ अनागरिक सावित गर्नु कुन नौलो काम भयो र ! त्यसैले, प्रणाली, कानुन, प्रमाण र विधिका आडमा भएका यी फैसलाहरुले कुनैदिन नेपालीको पहिचान मेटियो भने पनि आश्चार्य नमान्दा हुन्छ । किनकी, हामीले बलिदान गरेर यस्तै सबिधान बनाएका छौं । हामी त्यही बलिदानबाट निर्मित संविधानका एलियनहरु हौं !