२४ माघ, काठमाडौं । मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार नेकपा (माओवादी केन्द्र)बाट सिफारिस एक मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेपछि सरकारले पूर्णता पाएको हो ।
उनले माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गरेका थिए । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आज दिउँसो १ बजे सपथ लिने कार्यक्रम तय भएको छ ।
यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते ३ जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।
अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र ४ राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रिमण्डल हुनेछ ।
मन्त्रिमण्डलमा माओवादी केन्द्रले २ मन्त्री मागेको थियो । तर पछिल्लोपटक एक मन्त्रीमै सरकारमा जान तयार भएको हो ।