२९ फागुन, मोरङ । प्रहरीले विराटनगरमा रहेको तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालकहरूविरुद्ध ठगी मुद्दा चलाउने तयारी गरेको छ ।सर्वसाधारणको करोडौं बचत संकलन गरेर फिर्ता नगरिएको उजुरीका आधारमा अनुसन्धानपछि सहकारीका अध्यक्ष र सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने तयरी गरेको हो ।
सहकारीका अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ताको तयारी भएको प्रहरीले जनाएको छ । अध्यक्ष केदारनाथ शर्मा भने फरार छन् । उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासविरुद्ध मुद्दा चलाउने अन्तिम तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।
उनीहरुले ४ जिल्लाबाट सर्वसाधारणको एक अर्ब ४९ करोड हाराहारीमा रकम बचत संकलन गरेको र उक्त रकम हिनामिना गरेको पाइएको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालयमा १२१ जनाले १२ करोड ९ लाख ४ हजार रुपैयाँ ठगी गरेको दाबीसहित उजुरी गरेका छन् । उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
देशभर कार्यक्षेत्र बनाएको सहकारीको मुख्य कार्यालय विराटनगरमा छ । झापाको दमक, उदयपुरको गाइघाट र सिराहाको गोलबजारमा सेवा केन्द्र रहेका छन् । तर बचत फिर्ता गर्न नसकेपछि फागुन १ गतेबाट विराटनगरमा रहेको दुई वटा कार्यालयसहित झापा, उदयपुर र सिराहामा भएको कार्यालय बन्द छन् ।
१५ प्रतिशतसम्म ब्याज पाउने आशमा सर्वसाधारणले प्रतिव्यक्ती एक करोडसम्म बचत गरेकोा पाइएको छ । सहकारीमा २१ हजार ७ सय १३ जना सदस्य छन् । उनीहरुसँग पेन्सन, सुपर लगायत शीषकमा खाता बनाएर रकम संकलन गरेका छन् ।