१७ चैत्र २०७९, शुक्रबार
कांग्रेसको आन्तरिक राजनीति
राजनीति

सत्ताको भागबण्डा भन्दा सभापतिमा देउवा र कोइरालाबीच टसल

प्रकाशित मिति :  २ चैत्र २०७९, बिहीबार १५:३१


२ चैत, काठमाडौं । नेपाली कांग्रेस यतिबेला आफैमा अस्तव्यस्त छ । नेता र तिनको जिम्मेवारी अस्तव्यस्त छ । भातृ र शुभेच्छुक संस्था बेहालमा छन् । यद्यपि राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा छ, कांग्रेस । राजनीतिक समीकरणमा जोडघटाउ नमिल्दा स्थानीयदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन गराएर संघीय सरकार बनाउने तयरीमा लाग्दा प्रधानमन्त्री पदको विषयले सबैथोक गुमाउन पुगेको कांग्रेस फेरी घुमिफिरी सत्ता र शक्ति निकट आइपुगेको छ । अहिलेको अस्थिर राजनीति र सत्ता निरन्तरताका लागि कांग्रेसको भूमिका अहंम हुनेमा प्रायः राजनीतिक दलहरु ढुक्क छन ।

उत्ता कांग्रेसको आन्तरिक पाटो झनै अस्तव्यस्त  छ । राजनीतिक जीवनको उत्तरार्धमा पुगेका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशन सकिएको १४ महिना सकिन लाग्दा पनि पार्टीका विभाग र केन्द्रीय समितिलाई पुर्णता दिन सकिरहेका छैनन् । निर्वाचनमा गएयता पार्टीका सबै काम लथालिङ्ग नै छन् । यसै क्रममा घुमिफिरी आएको राजनीतिक उतारचढावको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आएको छ । गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले अन्य दलहरुमा आएका समस्या र उनीहरुलाई थमथम्याएर राख्नुपर्ने जिम्मेवारीमा पनि कांग्रेस छ । बाह्य शक्ति राष्ट्रहरुले सरकारको नेतृत्वलाई भन्दा कांग्रेसलाई हेरिरहेका छन । सरकारले बनाउन कूटनीतिक संयन्त्रहरुमा कांग्रेसको के भूमिका रहन्छ भन्ने आम चासो पनि उत्तिकै छ ।

पुराना नेताहरुको भनाईमा सत्ता र पार्टीको शक्तिमा कांग्रेसभित्र निरन्तर विवाद रहनु नयाँ कुरा होइन । कांग्रेस जन्मिएदेखि अहिलेसम्म सत्ता र शक्तिको आन्तरिक संर्घर्ष जारी छ र यो निरन्तर चलिरहने विषय पनि हो । बाह्य राजनीतिक शक्तिहरुले हेर्दा अहिले नेपाली कांग्रेस मियोको रुपमा छ । तर, अन्तरिक रुपमा भने कांग्रेसभित्र यतिबेला सभापति देउवा र इतरसमूहका नेता शेखर कोइरालाबीच सत्तामा भाग र शक्तिमा नेतृत्वको विषय राम्रै बहसमा रहेको उनीहरु बताउँछन् । मिलेसम्म आगामी कार्यकालका लागि कांग्रेसमा उत्तराधिकारी अहिलेबाटै खडा गर्ने तयारीमा पनि छन् देउवा । नेताहरुका अनुसार अहिले कांग्रेसमा दुई विषयले प्राथमिकता पाएका छन् ।

जसमा एउटा सत्ता गठबन्धनलाई बचाएर दलहरुबीच भएको सहमति अनुसार मिलेर अर्को निर्वाचनसम्म जाने र सरकारमा जाँदा पार्टीबाट नेतृत्व गरेर कसलाई पठाउने । अर्को आगामी १५ औँ महाधिवेशनमा आफु उम्मेदवार हुन नसक्ने अवस्था आएमा कसलाई त्यसको लागि तयारी बनाएर राख्ने भन्ने अर्को चिन्ता देउवामा देखिएको छ । उनको यो इच्छामा सबैभन्दा बाधक देखिएका छन् संस्थापन इतर समूहका नेता डा। शेखर कोइराला । गत मंसिर ४ मा सम्पन्न भएको आम निर्वाचनका लागि उम्मेदवारी छानिसकेपछि सभापति देउवा र कोइरालाबीच सम्बन्ध केही सुधारमा छ । उमेरका कारण देउवा विस्तारै पार्टी नेतृत्वबाट बाहिरने तयारीमा छन् भने कोइराला भरसक देउवालाई मिलाएर नै कांग्रेस सभापतिमा पुग्ने दाउमा छन् ।

नेताहरुको भनाईमा सभापति देउवाले निर्वाचन सकिएपछि सरकार र पार्टीको जिम्मेवारीमा आफ्रनो पक्षका उपसभापति पूर्णबहादुर खड्का र इतरसमूहका नेता कोइरालालाई समानान्तर रुपमा अगाडि ल्याउन खोजेका थिए । पहिलेको सत्ता गठबन्धन टुटेपछि दुई महिना यी विषय चर्चामा नै आएनन् । फेरी नयाँ गठबन्धन बनेपछि यी दुई नेता मध्ये एकलाई कांग्रेसबाट सरकारको नेतृत्वमा पठाउने तयारीमा देउवा रहेपनि उनी यसमा असफल भएका छन् । यी दुबै नेताले सरकराको नेतृत्व नलिने जानकारी सभापति देउवालाई दिइसकेका छन् । यसको मुख्य कारण हो आगामी कांग्रेसको सभापति ।

सभापति देउवा आफु पछि आफ्नो गुटबाट नै सभापतिको उम्मेदवार बनाउने रणनीतिमा छन् । सकेसम्म सरकार र सभापतिमा इतरसमूहबाट कोही नआउन भन्ने उनको पहिलो मनसाय छ । यद्यपि पााटीलाई समानान्तर रुपमा मिलाउन उनले सोचेअनुसार सहज छैन् । देउवा आफु सभापतिमा नलडे पूर्णबहादुर खड्कालाई लडाउने पक्षमा छन् । विमलेन्द्र निधि लगायतका नेताहरुले आस गरेपनि उनी यसको पक्षमा देखिएका छैनन् । पत्नी आरजु राणालाई पार्टीमा विस्तारै स्थापित गराउन पनि देउवाले पूर्णबहादुर खड्का अगाडी सर्ने नेताहरु बताउँछन् । पार्टीमा अहिले देखि तयारी नगरे आफु बाहेक कोइरालालाई सभापतिमा हराउन नसकिने डर पनि देउवालाई छ ।

यसैकारण देउवाले कोइरालालाई अहिले कांग्रेसबाट नेतृत्व गराएर सरकारमा पठाउन पाए उनी विवादित बन्ने थिए र यसको फाइदा आगामी कार्यकालको सभापतिमा हुने थियो भन्ने एक सोच देउवामा रहेको निकटका नेताहरु बताउँछन् । उनको यो आशय बुझेर नै कोइरालाले सरकारप्रति इच्छा नदेखाएको हुनसक्ने आंकलन गरिएको छ । कोइराला निकट एक नेताका अनुसार शेखर कोइराला कुनै मन्त्रीको हैसियतमा सरकारमा जाने पक्षमा छैनन् । उनले आफ्नो समूहका केही नेताहरुलाई मात्र मन्त्रीका रुपमा पठाउने भनाई सभापतिसमक्ष राखिसकेका छन् । अहिले सरकारमा जादा प्रचण्डको नेतृत्वमा जानुपर्ने र सरकारले गरेका नराम्रा कामको अपजस आफुले लिनुपर्ने कोइरालाको बुझाइ छ ।

उनले विभिन्न नेता र कार्यक्रमहरुमा पनि आफ्नो लक्ष्य मन्त्रीमा नभएर प्रधानमन्त्री र पार्टी सभापतिमा रहेको बताइरहेकै छन । कांग्रेसको १५ औँ महाधिवेशन समयमा नै भए पनि अझै चार वर्ष छ । यो चार वर्ष सभापतिमा जानका लागि वातावरण बनाउने कुरा कोइरालाले निकटस्थ नेताहरुलाई भनिसकेका छन् । कांग्रेस नेताहरुका अनुसार पनि अबको महाधिवेशनमा देउवा बाहेक अर्को उम्मेदवारले कोइरालालाई हराउन मुस्किल छ । उनले गएको महाधिवेनमा नै रामचन्द्र पौडेल लगायतका अन्य समूह र कोइराला परिवारले साथ दिएको भए देउवालाई समस्या पर्ने अवस्था थियो । यसरी अहिले कांग्रेसको आन्तरिक विषय सत्तातिर भन्दा पनि सभापतितिर नै बढी लक्षित देखिएको छ ।

मुल यही विषयमा सभापति देउवा र कोइरालाबीचमा हानथाप चलिरहेको छ । पार्टी सभापतिमा कोइराला आएमा आरजुले कांग्रेसको राजनीतिमा स्थान नपाउने चिन्ता देउवालाई छ । उनले अहिलेकै अवस्थामा आरजुलाई सभापतिको उम्मेदवारका रुपमा अगाडी बढाउन सक्ने अवस्था पनि छैन् । यी विविध कारणले गर्दा देउवा अहिलेबाट नै कोइरालालाई रोक्ने प्रयासमा छन् भने कोइराला सबै कुरा त्यागेर सभापतिका लागि तयारीमा लाग्ने मनस्थितिमा देखिएका छन् । यद्यपि सरकारमा पठाउने प्रयास भने देउवाको जारी नै छ । देउवाबाहेकका संस्थापन पक्षका नेताहरु इतरलाई नेतृत्व दिने पक्षमा देखिएका छैनन् । उनीहरु कांग्रेसबाट सरकारको नेतृत्वमा संस्थापन पक्षबाटै हुनुपर्ने पक्षमा छन् ।

नेताहरुको भनाइमा सभापति देउवा अझै पनि कांग्रेसबाट नेतृत्व गरेर सरकारमा पठाउन पुर्णबहादुर खड्का, शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहितसँग छलफल गरिरहेका छन् । सरकारमा रहँदा पनि पार्टी र सभापति देउवाको प्रतिनिधित्व आवश्यक हुने हुँदा संस्थापनले नेतृत्व गर्ने पर्ने देउवा निकटका नेताहरुको जोड छ । देउवाको रोजाइमा उपसभापति खड्का पहिलो नम्बरमा छन । तर, उनले ज्ञानेन्द्र बहादुर कार्की र विमलेन्द्र निधि जस्ता नेताहरुलाई देखाएर आफु नजाने भनिरहेका छन् । पूर्वमहामन्त्री डा। शशांक कोइराला पनि सरकारको नेतृत्वसहित कुनै मन्त्रालय सम्हाल्न जाने मनस्थितिमा छन । तर, देउवाको मनस्थिति अकै छ ।

कांग्रेसबाट नेतृत्व गर्नेले उपप्रधानसहित गृह वा अर्थमध्ये एक मन्त्रालय पाउनेछ । मन्त्रीका लागि आकांक्षीको लर्को लागेपनि कांग्रेसले बढीमा ८ भन्दा बढी मन्त्रालय नपाउने अवस्था छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेसमा यस विषयले थप चर्चा पाउने छ ।प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने विषयमा छलफल भने भइरहेको छ । कांग्रेसले अहिले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सरकारले निरन्तरता पाउने र गठबन्धनका अरू दलहरू यो सरकारमा सामेल हुनेछन् । राष्ट्रपतिलाई मतदान गर्ने सबै दल सरकारमा सहभागी हुने भए कांग्रेसका मन्त्रालय घट्ने सम्भावना पनि देखिएको छ ।


4.07k
Shares
roadshow real state
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक बिमर्श, देशान्तर, रेडियो नेपालवाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्ट्राचार एवं विकृति र विसंगतिका बिरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा