खोरेतले दिनप्रतिदिन पशुवस्तु मर्न थालेपछि कृषकलाई ठूलो नोक्सानी
नेपालबहस संवाददाता
साउन १४, २०७६ मंगलबार १२:५१:१०
हुम्ला । एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुवस्तुमा खोरेत रोग फैलिएको छ । पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र यस सम्बन्धमा अनभिज्ञ रहेको छ ।
जिल्लाको सर्केगाड गाउँपालिकाको राहदेव र खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ मा रहेको लेकमा खर्कमा वर्षा लागेसँगै पाटनमा चरिचराउ गर्न लगिएका दुई दर्जनभन्दा बढी पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेपछि पशु मरेका छन् ।
वडा नं ५ दुर्पागाउँ निवासी पशुपालक कृषकले गाउँभन्दा टाढा रहेका खर्कमा लगेका पशुवस्तु यतिबेला मर्न थालेको दुर्पागाउँ निवासी देवसिंह रोकायाले बताए । यसरी पशुवस्तुमा देखापरेको रोगले दुई दर्जन पशु मर्दा पशुपालक कृषकलाई ठूलो नोक्सानी भएको उनले जानकारी दिए ।
यसैगरी जिल्लाको सिमकोट गाउँपालिका–२ ठेहेमा रहेको चुवाखोलामा पनि भेडाबाख्रामा यो रोग देखापरेको छ । खार्पुनाथ गाउँपालिकामा पशुचौपायलाई उपचारका लागि औषधि भए पनि स्वास्थ्यकर्मी नभएको र कर्मचारी समायोजनका कारण समस्या भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।
रावलका अनुसार एक गाउँ एक प्राविधिकलाई गाउँबाटै बजेटको व्यवस्था गरेर रोग प्रभावित क्षेत्रमा पठाउने तयारी भएको बताए । रोगको उपचारका लागि गाउँपालिकामा पशु स्वास्थ्य शाखामा कर्मचारी अभाव भएकाले पशुवस्तुलाई भ्याक्सिनसहितको उपचारको टोली तत्काल उक्त स्थानमा पठाउन समस्या भएको अध्यक्ष रावलले जानकारी दिए । सर्केगाड गाउँपालिकामा पनि महामारी फैलिन नदिन जिल्लाका लेकमा रहेका विभिन्न खर्कमा स्थानीय निकाय लागिपरेको सर्केगाड गाउँपालिका अध्यक्ष करन रोकायाले जानकारी दिए ।
एउटै वडामा पाँचपशु मरे
सिमकोट गाउँपालिका–७ मा जिब्रेन, खोरेत रोगले पाँच गाईवस्तु मरेका छन् । एक महीनादेखि देखापरेको यो रोगबाट पशुवस्तु मर्न थाले पनि औषधिको अभाव भएको गाउँपालिका पशु स्वास्थ्य शाखाले बताएको छ । गाउँपालिकाको पशु स्वास्थ्य शाखामा दुई प्रकारको औषधि मात्रै हुँदा किसानले निजी मेडिकलबाट महङ्गो औषधि किनेर लिनुपरेको स्थानीय मन्दिर सिंहले जानकारी दिए ।
पशु स्वास्थ्य शाखामा औषधि नहुँदा खाली भएको सिरिन्ज लिएर गाउँपालिकाबाट फिर्ता हुनुपरेको अर्का किसान हरिबहादुर शाहीले दुखेसो गरे । गाउँमा फैलिएको रोगका कारण पशुवस्तु मर्नुका साथै बिरामी पशुवस्तु थला पर्न थालेका छन् ।
वडा नं ७ मा शान्ति शाहीको एउटा जुमा, शीरबहादुर शाहीका दुई गाई, अजय शाहीको एक झोपा एउटा गाईसहित दुई बाछा मर्दा रु दुई लाखभन्दा बढी क्षति भएको उनले जानकारी दिए । हुम्लामा एउटा जुमाको मूल्य रु ७० हजारसम्म पर्ने गर्दछ भने गाईको रु ३० हजार पर्ने गरेको छ ।
सर्केगाड गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा दुई दर्जन पशुवस्तु मर्दा रु पाँच लाखभन्दा बढी क्षति पुगेको किसान देवसिंह रोकायाले जानकारी दिए । सिमकोट गाउँपालिका पशु शाखाका प्रमुख हिराजन शाहीले नयाँ आर्थिक वर्ष लागेकाले औषधि अभाव भएको बताए । उनले आठवटै वडाका पशुपालक कृषकले फैलिएको रोगको बारेमा जानकारी दिन नआएको र औषधिमात्रै माग्न आएको बताए ।
स्थानीय निकायमा सोझै बजेट आउँदा खोरेत रोगलगायतका रोगको पहिचान, रोकथाम, उपचार र जैविक सुरक्षासम्बन्धी प्रचारप्रसार गर्दै किसानस्तरसम्म पठाइने गरिएको भनिए पनि पशु स्वाथ्यकर्मीकै अभावले अहिले रोग प्रभावित क्षेत्रमा पशु स्वास्थ्यकर्मी पठाउन नसकिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष रावलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्डको २३ वर्ष पूरा
जेठ १९, २०८१ शनिबार
मनाङ घुम्न गएका युवक चार दिनदेखि सम्पर्कविहीन
जेठ १९, २०८१ शनिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार