नेतृत्वप्रति उठे औंलाः युवा अभियानले कांग्रेसमा साँच्चै बदलाव ल्याउला कि द्वन्द्व मात्रै बढाउला ?

भेषराज पोखरेल
जेठ ६, २०८० शनिबार ११:२७:२१

देशमा डरलाग्दो रुपमा भ्रष्टाचारको जालो बाहिर आइरहँदा कांग्रेसका युवाहरू पार्टी रुपान्तरणको अभियान लिएर हिँडेका छन् । अहिलेको नेतृत्वको चाल, चरित्र र चेहराले काम नगरेको र त्यसलाई बदल्नुपर्ने भन्दै कांग्रेसका तेस्रो तहका नेताहरूले सो अभियान अगाडि बढाएका हुन् । कांग्रेस रुपान्तरण चाहने सबै नेता, कार्यकर्ता सो अभियानमा समेट्ने भन्दै विभिन्न १२ वटा विषय छलफलका लागि अगाडि सारेका छन् । कांग्रेस विगतमा प्रजातन्त्रका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको र पटक–पटक राज्य सञ्चालनको बागडोर सम्हाल्दै आएको मुख्य दल भए पनि पछिल्लो समय पार्टीभित्र र राज्य संयन्त्रमा त्यो ऊर्जा, त्यो प्रजातान्त्रिक चरित्र र परिवर्तनकारी भूमिका निर्वाह गर्न सकेको छैन ।
जसले गर्दा कांग्रेस कमजोर बन्दै गएको छ । यसैलाई मध्यनजर गर्दै युवाहरूले यो अभियान अगाडि सारेको बताएका छन् । स्वतन्त्र रुपमा अगाडि बढाएको बताइएको यो अभियानले सबैभन्दा पहिलो कुरा सभापति शेरबहादुर देउवालाई थप सशंकित तथा आक्रोशित बनाउने मात्रै होला कि बदलिन बाध्य पार्न सक्ला ? अर्को, यो अभियान पार्टीभित्रको खटपटमा मात्रै रुमल्लिने होला कि कांग्रेसलाई राष्ट्रिय समस्यामा गम्भीर भएर बहस गर्ने र समाधानको बाटोमा लाग्न दबाब सिर्जना गर्न सफल होला ? यसै भन्न सकिन्न ।
युवा नेताहरू गुरुराज घिमिरे, केन्द्रीय सदस्य गोविन्दराज पोखरेल, मधु आचार्य, भूपेन्द्रजंग शाही, देवराज चालिसे, रञ्जित कर्णसहितका नेताहरूले अगाडि सारेको यो अभियानलाई कसैका विरुद्ध नभएर कांग्रेस रुपान्तरणका लागि भएको बताइएको छ । यी नेताहरूले त्यसो भने पनि अहिलेसम्म पार्टीमा शक्तिशाली अवस्थामा रहेका पार्टी सभापति शेरबहादुर देउवा र उनको राजनीतिक शक्तिको घेराले त्यसलाई स्वीकार्ने छैन । अहिलेसम्मको अवस्थालाई हेर्दा संस्थापन पक्षले शेखर कोइराला पक्षका मानिएका यी नेताहरूको अभियानलाई सीधै खारेज गर्नेछ । अधिवेशनका बेला भनिए जस्तो पार्टीलाई नयाँ रुपमा लैजाने प्रक्रिया सुरु गर्न चासो नै देखिएको छैन । युवाहरूको समूहले १० महिनादेखि केन्द्रीय समितिको बैठक बस्न नसकेको, भ्रातृ संस्थाहरू लथालिङ्ग रहेकाले तिनको पुनर्जीवन जस्ता मुद्दा उठाएका छन् ।
उनीहरूले पार्टीको चुस्त संगठन, दुरुस्त सदस्यता, सन्तुलित विदेश नीति, भ्रष्टाचार मुक्त राजनीति, अवसरमा समानता, सुशासन र सेवामुखी राजनीतिको बाटोमा जानुपर्ने बताएका छन् । यी मुद्दालाई सामान्य रुपमा स्वीकारे पनि संस्थापन पक्षले इतर पक्षबाट चलाइएको अभियानलाई अवैध घोषणा गरिदिने निश्चित छ । पार्टी नेतृत्वले द्वन्द्व बढाउने नै ठाने पनि यी विषयमा देशभर पार्टीका तलदेखि माथिसम्मका निकायमा बहस गराउन सक्ने हो भने यसले कांग्रेसभित्र सकारात्मक परिणाम ल्याउने नै छ ।
परिणाम र मुद्दाको अवस्थालाई विश्लेषण गर्दा शीर्ष नेतृत्व सत्ता र शक्ति प्राप्त कसरी गर्न सकिन्छ भन्ने ध्याउन्न मै रहेकाले पार्टीलाई नयाँ रुपमा लैजान चाहन्न । एकलौटी सत्ता र शक्तिको चास्नीमा डुबिरहन चाहने शीर्ष नेतृत्वबाट समानताको सिद्धान्त लागू सम्भव हुँदैन । सक्षम वा अक्षम जे जस्ता भए पनि आफ्ना नजिकका नातेदार, नेता, कार्यकर्तालाई सत्ता र शक्तिमा सँगै नलगेसम्म बलियो भइन्न भन्ने नेतृत्वलाई थाहा छ । तसर्थ सामान्य रुपमा देउवाको सत्ता र शक्तिको जालो पन्छाउन सजिलो छैन । नेपालका अन्य ठूला दलमा पनि त्यस्तै छ । एमालेमा अध्यक्ष केपी ओली र उनको राजनीतिक शक्तिको जालो तोड्न कसैले पनि सक्दैन । युवा, विद्वान् वा जो कसैले पनि ओलीसामू सामान्य प्रश्न उठाउन समेत सक्दैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध बोल्न कसैले पनि हिम्मत गर्न सक्दैन । जनता समाजवादीमा पनि त्यस्तै छ । कांग्रेसमा युवाहरूले रुपान्तरणको मुद्दा उठाएर तल्लो तहसम्म जाने हिम्मत गर्नुलाई राम्रै मान्नुपर्ने हुन्छ । प्रजातन्त्रको धागो अझै चुँडिएको रहनेछ कि भन्ने आशा जगाउला ।
यति भन्दै गर्दा पछिल्लो पुस्ताका शिक्षित अझ उच्चशिक्षासम्म हासिल गरेका नेता तथा कार्यकर्ताहरूले साँच्चै आफ्नो भूमिका निर्वाह गर्न सकेका छन् त ? भन्ने प्रश्न उठ्छ । केन्द्रीय पदाधिकारीकै कुरा गर्ने हो भने दुवै जना महामन्त्री, उपसभापति, सहमहामन्त्रीहरू तथा सदस्यहरूको भूमिका सभापति देउवाको निर्णयमा मुन्टो हल्लाउने मात्रै कि आफूले पाएको भूमिका निर्वाह गर्ने ? इतर पक्षका यी पदाधिकारीले दह्रोसँग आ-आफ्नो भूमिका निर्वाह गरे परिवर्तन हुन बाध्य पार्न सकिन्थ्यो तर सभापतिको मुख ताकेपछि जे परिणाम आउन सक्थ्यो त्यही आइरहेको छ । पछिल्ला उपचुनावका परिणामले कांग्रेसलाई झस्कायो । शीर्ष नेतृत्व प्रति जनताको भरोसा समाप्त भएको स्पष्ट मात्र भएन युवा नेतृत्वप्रति पनि जनताले विश्वास नभएको छनक दिए । कांग्रेसको अवस्था यस्तै रहे अब निर्वाचन कांग्रेसका लागि दुःखद हुने स्पष्ट चित्र प्रस्तुत गर्यो । यसले गर्दा पनि युवाहरू कुनै न कुनै रुपमा जाग्नै पर्ने भएको छ । हुन त कांग्रेसको केन्द्रीय संगठनको अवस्था यस्तो छ, प्रदेश र स्थानीय तहको संगठन पनि आफ्नो भूमिका निर्वाह गर्न असफल देखिएको छ ।
केन्द्रीय संगठनले कुनै नीति दिएन, कार्यक्रम दिएन, भूमिका दिएन रे तर ती युवा प्रतिनिधिहरु स्वतः परिचालन हुनुपर्नेमा त्यसो गरेको देखिन्न । सबै निकायका संगठनले प्रजातन्त्रको अभ्यास गरेको भए, जनताको नजिक भएर काम गरेको भए कांग्रेस त्यसै पनि बलियो बन्न सक्थ्यो भने देउवाको सत्ता र शक्तिको जालो तोड्न पनि कठिन थिएन । उही मानसिकता, उनै अनुहार लिएर कांग्रेस रुपान्तरणको अभियान परिणाममुखी नै होला भन्ने के निधो होला र ? युवा रुपान्तरण अभियानको नेतृत्व गर्दै गरेका नेताहरूले केही विषय छलफल गरेर हो, नेतृत्वले गल्ती गर्यो, सबैलाई समान व्यवहार गरेन, दबाब दिनै पर्छ भन्ने निष्कर्ष निकाल्न सक्छन् तर पहिले आफूहरू रुपान्तरण नभए नेतृत्वलाई कुनै खालको दबाब पर्ने छैन । यो कुरको हेक्का राख्नै पर्ला ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपसत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
एमाले र सभामुखको ‘किलो’ मा भैंसी-राँगा बहस !
जेठ २३, २०८० मंगलबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
जेठ २२, २०८० सोमबार
गुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार
इजलासमा अधिवक्ताहरूको प्रश्न, हाई प्रोफाइलका कसुरदार किन छाडिए ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
सिरहामा भयावह बन्दै लागुऔषध ओसारपसार, कुलतमा फस्दै युवा पुस्ता
जेठ २६, २०८० शुक्रबार
सत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
दश महिनाको शोधनान्तर दुई खर्ब १४ अर्बले बचतमा रहँदा चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा
जेठ २६, २०८० शुक्रबार
गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता
जेठ २६, २०८० शुक्रबार
सदावहार मिडिया हाउसका अध्यक्ष एवं वरिष्ठ पत्रकार रिजाल सम्मानित
जेठ २६, २०८० शुक्रबार
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८० शुक्रबार
कांग्रेसले आफ्नो परिचय खोज्नुपर्ने बेला आयो: वरिष्ठ नेता शेखर कोइराला
जेठ २६, २०८० शुक्रबार
कञ्चनपुरमा उखुबारीभित्र महिलाको शव फेला
जेठ २६, २०८० शुक्रबार
यसपटक कृषि अनुदान सिधै किसानको हातमा पुग्छ : प्रधानमन्त्री
जेठ २६, २०८० शुक्रबार