नयाँ बजेट अगाडि सरकारको आम्दानी ८ खर्ब पनि पुगेन
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १३:२:१
१४ जेठ, काठमाडौं । सरकार बजेट तयारीको अन्तिम घडीमा छ । सोमबार आगामी आर्थिक वर्षको वार्षिक बजेट संसदमा प्रस्तुत हुँदैछ । बजेट निर्माण गरिरहेको अर्थ मन्त्रालयको कोर टीमले आज आइतबार आम्दानीको मुख्य स्रोत राजश्व र करका दरहरूबारे अन्तिम निर्णय गर्दैछ । आज करका दरमा तलमाथि हुने भएकाले उद्योगी व्यवसायीहरूले विशेष चासो पनि राखेका छन् ।
चालू आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी रहँदा सरकारको आम्दानी भने ८ खर्ब पनि कटेको छैन । शुक्रबारसम्म सरकारको कुल आम्दानीमा सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो दिनसम्म कुल ७ खर्ब ८३ अर्ब रूपैयाँ मात्र आम्दानी भएको छ । यो चालू आर्थिक वर्षमा तय भएको लक्ष्यको ५५.८३ प्रतिशत मात्र हो । यो अवधिमा सरकारले कर, गैर कर, अनुदान र अन्य आय सबैमा लक्ष्यभन्दा कम आम्दानी गरेकाले कुल आम्दानी लक्ष्यको प्रगति करिब ५६ प्रतिशत मात्र भएको हो ।
अर्थतन्त्रका बाह्य सूचक सकारात्मक भए पनि पुँजीगत खर्च र राजश्व संकलन नाजुक रहेकाले सरकारी वित्त संकटको अवस्थामा छ । चालू आर्थिक वर्ष सकिन करिब डेढ महिना बाँकी रहँदा लक्ष्यको करिब ५६ प्रतिशत मात्र आम्दानी भएको छ भने पुँजीगत खर्चको अवस्था पनि निराशाजनक छ । यस्तो अवस्थामा सरकार आगामी आर्थिक वर्षको बजेट बनाइरहेको छ । चालु वर्षको साढे १० महिनामा भएको आम्दानी सोही अवधिको चालू खर्चभन्दा कम हुनाले सरकारी वित्तको नाजुक रहेको देखाउँछ ।
यता, सरकारले चालू आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउने बताइरहेको छ । स्रोतमा देखिएको संकुचन र कार्यान्वयन क्षमतामा देखिएका कमजोरीका कारण सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट सानो आकारको ल्याउने जानकारी दिएको हो । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको भन्दा करिब ५ प्रतिशतबराबरले आकार घटाएर बजेटलाई अन्तिम रूप दिइरहेको मन्त्रालयका कर्मचारी बताउँछन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेटका लागि १६ खर्ब ८८ अर्बको सिलिङ दिएको छ । जुन चालू आवको बजेटको भन्दा ६ प्रतिशतले कम हो । चालू आवमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको थियो । आगामी आवका लागि १७ खर्ब ननाघ्ने गरी बजेटलाई अन्तिम रूप दिने प्रयास भइरहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । बजेट सिलिङकै नजिक रहेर तयार भइरहेको उनको भनाइ छ ।
१५ जेठमा संघीय संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिइरहेको छ । संसदमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत भइसकेका छन्, नीति–कार्यक्रमसमेत पास भइसकेको छ भने सिद्धान्त र प्राथमिकता एवं नीति–कार्यक्रममा आधारित भएर बजेट बनिरहेको छ । बजेट तयारी भइरहँदा १२ खर्ब ५७ अर्ब राजस्व संकलन हुने प्रारम्भिक अनुमान गरेको छ । वैदेशिक सहायता २ खर्ब १ अर्ब र आन्तरिक ऋण २ खर्ब ३० अर्ब मात्रै परिचालन गर्न सकिने अनुमान गरेको छ ।
सोही आधारमा आयोगले १६ खर्ब ८८ अर्बको सिलिङ दिएको हो । तर, आगामी वर्ष राजस्व संकलन १२ खर्बभन्दा बढी हुन नसक्ने राष्ट्र बैंकलगायतका निकायले सुझाव दिएका छन् । त्यस्तै, आन्तरिक ऋण पनि दुई खर्ब ५० अर्बभन्दा नबढाउन उनीहरूले सुझाव दिएका छन् । सरकारले राजस्व बढाउन करको दरमा हेरफेर गर्ने सम्भावना रहेको भन्दै उद्यमी–व्यवसायीले चासो दिइरहेका छन् ।
विगतमा कुनै एक व्यावसायिक घरानालाई लाभ मिल्ने गरी करका दर हेरफेर हुने गरेको प्रवृत्ति देखिएका कारण कतिपय उद्योगी–व्यवसायी भने सशंकित देखिएका छन् । अहिले विद्युतीय सवारीसाधन तथा एसेम्बलिङ उद्योगमा दिँदै आएको कर छुटमा हेरफेर गर्ने, विलासिताका वस्तुको भन्सार दर बढाउने तथा नेगेटिभ लिस्टका सामग्रीमा थप कर लगाउने गरी बजेट तयारी भइरहेको छ । करका दरमा के–के हेरफेर गर्ने भनेर १४ गते मात्रै टुंगो लगाउने यसअघि नै तयारी गरिएको थियो ।
सरकारको आम्दानी भने महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार शुक्रबारसम्म कुल ७ खर्ब ८३ अर्ब रूपैयाँ मात्र आम्दानी भएको छ । गत शुक्रबारसम्म सरकारले १ खर्ब ३५ अर्ब ४४ करोड रूपैयाँ पुँजीगत खर्च गरेको छ । यो वार्षिक लक्ष्यको करिब साढे ३५ प्रतिशत मात्र हो तर गत वर्षको यही अवधिको पुँजीगत खर्चभन्दा धेरै हो । गत आर्थिक वर्षको यही अवधिमा सरकारको पुँजीगत खर्च लक्ष्यको करिब ३३ प्रतिशत थियो । गत शुक्रबारसम्म सरकारको चालु खर्च ८ खर्ब २१ अर्ब रूपैयाँ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार