एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला

नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १४:४२:१८

२४ जेठ, काठमाडौं । ७० वर्षे उमेर हद हटाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुल्ला भएको छ । उनी अहिले ७२ वर्षको भएका छन् । ओली २००८ साल फागुन ११ गते जन्मिएका हुन् । ७० वर्षे उमेर हद कायम रहँदा उनी पुनः पार्टीको अध्यक्ष बन्ने सम्भावना थिएन । अब भने बाटो खुलेको छ ।
एमालेको केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिए । यही वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि पार्टीले जेठ २३ गते जारी गरेको अन्तर पार्टी निर्देशन–७ मा सो कुरा उल्लेख थियो ।
यसअघि पार्टीमा रहने केन्द्रीय सदस्यको उमेरहद ७० वर्ष तोकिएको थियो । अन्तर पार्टी निर्देशन–७ को विविध निर्णय अन्तर्गत केन्द्रीय कमिटीको उमेर हद सम्बन्धी व्यवस्थामा ‘पार्टी विधानमा रहेको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने’ उल्लेख गरिएको हो । गत २०७० मा भएको नवाैँ महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्यका लागि ७० वर्ष उमेर हदबन्दी लागू गरिएको थियो ।
पार्टीले सचिवालय बैठक, स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकका निर्णय समावेश गरेर यो अन्तर पार्टी निर्देशन–७ जारी गरेको हो । यसै गरी अन्तर पार्टी निर्देशनमा पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटीका नेताको जिम्मेवारी पनि हेरफेर गरिएको छ । अन्तर पार्टी निर्देशनमा सबै प्रदेश अधिवेशन आगामी भदौ महिनाभित्र आयोजना गर्ने उल्लेख गरिएको छ । असोजदेखि चैत महिनासम्ममा जिल्ला, पालिका, वडा र टोलटोलका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाउने उल्लेख गरिएको छ ।
यसैगरी प्रदेश कमिटीको कामको महत्वलाई ध्यानमा राखी अब निर्वाचित हुने सात प्रदेशका अध्यक्ष पदेन पोलिटब्युरो सदस्य सरह हुने र केन्द्रीय कार्यालय सचिवलाई पदेन केन्द्रीय सदस्यको रूपमा बैठकमा सहभागी गराइने अन्तर पार्टी निर्देशनमा उल्लेख गरिएको छ ।
यस्तै पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न नयाँ अभियान सञ्चालन गर्ने र त्यसका लागि अधिवेशन र पुनः गठनका माध्यमबाट आधारभूत तहका कमिटीमा एक तिहाई सदस्य ३५ वर्ष मुनिका पार्टी सदस्यलाई सङ्गठित गर्ने गरी युवालक्षित अभियान सञ्चालन गर्ने पनि जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहामा कार्यरत सशस्त्रका एसपी र डीएसपी छानविनमा तानिए
असोज १६, २०८० मंगलबार
नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु आदेश
असोज १६, २०८० मंगलबार
सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ भर्न ?
असोज १७, २०८० बुधबार
सिक्किममा बाढीमा परेर २३ सैनिक बेपत्ता
असोज १७, २०८० बुधबार
लगातार घटेको सुनको मूल्य तीन सयले बढ्यो
असोज १७, २०८० बुधबार