विद्यार्थीमा ठेउला देखिएपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार ११:३५:३५
२५ जेठ, वालिङ । स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ ।
सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौँ प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि कोखे पुगेर नमूना सङ्कलन गरेका हुन् ।
“ठेउला देखिएको ठाउँमा पुगेर स्वास्थ्यकर्मीको टोलीले घाँटीको स्वाब, छालाको नमूना तथा रगतको नमूना सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको छ”, उनले भने, “लक्षणअनुसार ठेउला भएको प्रारम्भिक परीक्षण हेर्दा सङ्ख्या धेरै भएकाले नमूना परीक्षण गर्न काठमाडौं पठाएका छौँ ।”
ठेउला रोगको रोकथाम तथा नियन्त्रण गर्न हावाबाट बच्न र सामाजिक दूरी कायम राख्नसमेत अनुरोध गरिएको शाखा प्रमुख पाण्डेले बताए । दोस्रो पटक जाँच गर्दा थप दश जना बालबालिका तथा समुदायस्तरसम्म सङ्क्रमण फैलिएकाले रोकथाम तथा न्यूनीकरणका लागि स्थानीयलाई सचेत गराइएको उनले बताए ।
ठेउला भाइरसबाट सर्ने सङ्क्रामक रोग हो । विशेष गरी १५ वर्ष उमेर समूहमुनिका बालबालिकामा यो रोग बढी देखिने गर्छ । यसले दीर्घरोगी तथा गर्भवती महिलालाई बढी असर गर्नसक्ने भएकाले समुदायस्तरमा फैलिन नदिन विशेष सावधानी अपनाइएको स्वास्थ्य कार्यालय स्याङ्जाकी प्रमुख वसुन्धरा शर्माले बताए ।
“सङ्क्रमण फैलिन नदिन सङ्क्रमित बिरामीको सम्पर्कमा नआउने, एउटै लुगा प्रयोग नगर्ने, सरसफाइमा ध्यान दिनुपर्छ”, उनले भने, “एकदेखि दुई हप्तासम्म यसको लक्षण देखिन्छ, एकपटक भएपछि दोस्रो पटक हुँदैन ।” जेठ १४ गतेदेखि सुरु भएको ठेउलाको सङ्क्रमण अहिले सिर्सेकोट जनहित विद्यालय तथा समुदायस्तरमा फैलिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
जेठ ८, २०८१ मंगलबार
पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा आज पेशी
जेठ ८, २०८१ मंगलबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार