बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
केदार भट्टराई (काका)
असोज ४, २०८० बिहिबार १७:५२:४८
४ असोज, काठमाडौं । नेपालको राजनीतिमा कोइराला परिवार कमब्याक हुन्छ कि हुँदैन भन्ने यतिबेला आम चासो छ । कोइराला परिवारका तीन सदस्य राजनीतिमा छन् । यद्यपि कोइराला परिवारको लिगेसीका बारे भने तीन कोइरालाको मत फरक छ । उनीहरू कोइराला परिवारको राज्यसत्तामा कमब्याक हुनुपर्ने भन्ने मै एकता छैन । पार्टीमै हेर्ने हो भने सुजाता र शशांक एकातिर छन भने शेखर अर्कातिर । कोइराला परिवारकाे विरासत फर्काउन १४ औँ महाधिवेशनदेखि लागेका शेखरलाई सुजाता र शशांकको साथ छैन ।
कांग्रेसले भदौ २६ मा रोकिएको बीपी साहित्य महोत्सव असाेज ३ गते संविधान दिवसकाे अवसर पारेर आयोजना गरेको थियो । जसको अन्तिम सत्रमा "परिवारले बुझेका बीपी" नामको सेसनमा तीन कोइरालालाई राखिएको थियो । उनीहरूले नेपाली कांग्रेसको सात दशक लामो जीवनमा करिब पाँच दशक राज गरेकाे कोइराला परिवारमा फेरी नेतृत्व फर्काउने अठोट गर्न सकेनन् । डा. शेखरले त देश मिलाउन भन्दा परिवार मिलाउन कठिन भएको बताए ।
कांग्रेसले अहिले पनि संस्थापक नेता बीपी कोइरालाकै विचार र मार्गदर्शन अंगाली रहेको छ । पार्टीको नेतृत्वमा कोइराला परिवारको कमब्याक शेखरले गराउन सक्छन् कि भन्ने आस धेरै कांग्रेसीहरुमा भएको पनि देखिन्छ । साहित्य महोत्सवको अन्तिम सत्रमा परिवारले बुझेका बीपी शेसनमा शेखरले पनि यही सन्देश दिन खोजेका थिए । महाधिवेशनबाट आफूले यसलाई सफल बनाउने उनको मनसाय थियो । पार्टीको इतिहासमा गर्विलो रेकर्ड भएपनि गएको महाधिवेशनमा शेखरले परिवारकै साथ पाएनन् । परिवारको साथ पाएको भए आफू सफल हुने उनले बताए ।
महाधिवेशनका बेला तितरबितर भएका कोइराला परिवारका नेताहरू बुधबार भने एकै मञ्चमा देखिए, र अब कोइराला परिवार एक ठाउँमा उभिनुको विकल्प नभएको सन्देश दिन खोजे पनि उनीहरू एक भएर आउँदो महाधिवेशनमा उभिने संकेत भने दिन सकेनन् । उनीहरूले विगतमा एकताबद्ध हुन नसक्दाको क्षतिको महसुस भएको अनुभूति वाक्यमा मात्र दिए । कांग्रेस मुख्यालयमा आयोजित बीपी साहित्य महोत्सवको अन्तिम सत्रमा बीपीका आफ्नै कान्छा छोरा शशांक कोइराला, भतिजा शेखर कोइराला र भतिजी सुजाता कोइरालाले परिवारले जाने बुझेका बीपीका बारेमा जानकारी दिन उपस्थित थिए ।
उनीहरूले बीपीका आनीबानी र योगदान स्मरण गरे । शशांकले पटनामा दुई कक्षामा पढ्दा आफूलाई ठगको छोरो भनेको भन्दै त्यसपछि मात्र आफूले बीपी चिनेको बताए । शेखरले आफूले धेरै समय बीपीसँग संगत गर्न नपाएको बताए । उनले यो सत्रलाई आगामी महाधिवेशनमा आफू सभापति बनेर आउने सम्भावनामै केन्द्रित गर्न खोजे । १४ औँ महाधिवेशनमा सभापतिको प्रत्याशी बनेका शेखर कोइरालाले त सार्वजनिक रूपमै परिवारको साथ नपाएका कारण आफू नेतृत्वमा आउन नसकेको दोहोर्याए । सुजाताले अहिले पनि कोइराला परिवार एक रहेको बताउँदा शेखरले भने १४ औँ महाधिवेशनमा परिवारको साथ नपाएको गुनासो गरे । मैले परिवारको साथ पाउन सकिँन । यदि अन्य सदस्यहरूले सहयोग गरेको भए अहिलेको परिणाम आउने थिएन,’ उनले भने ।
बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको जनाउँदै शेखरले आफूहरू एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरूले दुःख पाइरहने दाबी गरे । उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझाव लिएर आफूले पार्टीको १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेर सम्मान पाएको बताए । ‘मैले पाउने सम्मान पाएकै छु तर महाधिवेशनमा तपाईँहरूले साथ दिएको भए, यस्तो हालत हुँदैनथ्यो । पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाए जस्तो सजिलो हुन्न रहेछ,’ शेखरले त्यो सत्रमा आफ्नाे अनुभूति सुनाए ।
सुजाताकै शैलीमा पूर्व महामन्त्रीसमेत रहेका शशांकले पनि अब कांग्रेसको भविष्यकै लागि पनि कोइराला परिवार एक हुनुको विकल्प नभएको बताए । उनले पनि नेतृत्वका लागि आफ्नो दाबी रहेको बताए । उनले भने, ‘बीपीले भन्नुहुन्थ्यो, यो प्रधानमन्त्री पद भनेको त फाटेको जुत्ता जस्तै हो, जो पनि यो पदमा आउँछ र बस्छ । बीपी सफल हुनुका कारण जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुहुन्थ्यो । बीपीपछि सफल प्रधानमन्त्री भनेको गिरिजाप्रसाद कोइराला नै हो ।’
शशांकले आफू निर्वाचित भइरहेको क्षेत्रबाट निरन्तर चार पटक चुनाव जितेको र कुनै चमत्कार गर्न नसकेको स्वीकारे । नवलपरासीबाट चुनाव जित्दै आएका उनले भने, ’मैले ४ पटक जिते, मन्त्री भएको छैन। केही गरेको छैन । तर जिते । महिलाहरूलाई मैले प्राथमिकता दिन्छु । महिलाकै कारण जिते । म कसैलाई चिन्दिनँ थिए, मलाई त ठाउँको नाउँ पनि थाहा थिएन ।’
अर्का नेता सुजाता कोइरालाले पनि कांग्रेसमा फेरि कोइराला परिवारको एकताबद्ध नेतृत्वको खोजी भइरहेको बताइन् । भारतमा गान्धी परिवार कांग्रेसको नेतृत्वबाट विमुख भइरहेको प्रसंगमा सोधिएको प्रश्नमा उनले भनिन्, ’एकै परिवारको नेतृत्व भइरहनुपर्छ भन्ने पनि होइन । तर एकपटक नेतृत्वबाट विमुख हुँदैमा सधैं नेतृत्वबाट बाहिर हुन्छ भन्ने पनि हुँदैन ।’ बलियो पार्टी र समृद्ध देशको सपना बोकेर काम गरे कांग्रेसलाई कसैले रोक्न नसक्ने उनको भनाइ थियो ।
कोइराला परिवार मिल्यौ भनेर दुईले भनिरहँदा शेखर बीपीले भन्ने गरेको स्मरण गर्दै, ’बीपी भन्नुहुन्थ्यो, आफ्नो परिवार नै मिलाउन नसक्नेले यत्रो पार्टी र देश कसरी मिलाउन सक्छ ? अहिले हामीहरूबीच यस्तै समस्या छ ।’ उनले बीपी प्रतिभन्दा पनि अहिलेको देशको स्थितिप्रति बढि चिन्ता देखाए । उनले दोस्रो जनआन्दोलनका कारण देशमा नयाँ संविधान, समावेशीता जस्ता कुरा आएको भन्दै त्यो अनुसार देश चलाउने कुरामा गम्भीर खालका त्रुटीहरु भएको बताए । शिक्षा, स्वास्थ्य रोजगारीका विषयमा हामीले जनतालाई केही दिन नसकेको उनको भनाइ थियो ।
एक महिनामा १ खर्ब १२ अर्ब रेमिटेन्स आयो भनेर खुशी मान्नुको अर्थ नहुने भन्दै उनले भने, बीपीले विदेशी लगानीबाट उद्योग धन्दा खोल्याे भने त्यहाँ भूईफूट्टा वर्गकाे जन्म हुन्छ भन्नुभएको थियो । अहिले यसैको कारणले गर्दा फुटपाथमा पनि राजा जन्मिन पुगेका छन् । जनतालाई केही छैन । देशका यावत समस्यामाथि नेपाली कांग्रेसले पनि मोल मोलाई गरिरहेको छ । यो कांग्रेस जस्ता बीपीको आदर्श बोकेको पार्टीले गर्नुभएन ।’ बीपीको आदर्शलाई मान्ने हो भने सुशासन दिनुपर्ने र दण्डहीनताको अन्त्य गर्नुपर्ने शेखरको भनाइ थियो ।
परिवारले बुझेका बीपी सत्रमा उनीहरूले जाने जति बीपीका विषयमा बताए । उपस्थित कांग्रेसीहरुले बेमेलको अवस्थामा रहेका कोइरालाहरू कसरी प्रस्तुत हुन्छ भन्ने हेरिरहेका थिए । बीपीबारे जानकारी भन्दा पनि उनीहरूलाई अब कोइराला परिवार एक भएर राजनीतिमा आउन सक्छन् कि सक्दैनन् भन्ने थियो । दर्शक दिर्घाबाट पनि यही खालका प्रश्नहरू सोधिएका थिए । तर, उनीहरूले व्यवहारिक एकता भने देखाउन सकेनन् । मञ्चबाट बाहिरिएपछि पहिलाकै अवस्थामा विभाजित रहने संकेत गरे ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपकसरी हुन्छ नेपाल टेलिकमको लाइसेन्स नवीकरणः कानुनमा अडचन छ, आर्थिक लाभ हेर्छन् कर्मचारी ?
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम २ मा एमालेका सुहाङ २८५३ मतले अगाडि, रुख र मुढाबीच टक्कर
बैशाख १७, २०८१ सोमबार
संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै
बैशाख १७, २०८१ सोमबार
६ सय परिवारका लागि लिफ्ट आयोजना
बैशाख १७, २०८१ सोमबार
नेपालगञ्ज रङ्गशाला सुनसान
बैशाख १७, २०८१ सोमबार
चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति
बैशाख १७, २०८१ सोमबार
बझाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, दमनभन्दा अभिषेक २५९ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार