मधेशका सबै नाका खुला: राजश्वमा गिरावट, सुरक्षा व्यवस्था कमजोर
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १३:३१:५४
२५ असोज, काठमाडौं । दशैंको सम्मुखमा राजश्व अनुसन्धान कार्यालय इटहरीले तस्करको गोदाममा छापा मारेर करिब तीन करोड बराबरको तस्करीको सामान बरामद गरेपछि मधेसको सीमावर्ती क्षेत्रमा परिचालित सुरक्षा संयन्त्रमाथि प्रश्न उठेको छ । सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै मिलेर संगठित तस्करीलाई छुट दिएको आशंका गरिएको छ ।
जसमा सशस्त्र प्रहरीका सिरहा एसपी प्रमोद भारतीलाई सशस्त्र मूख्यालय तानेर कारबाही थालिएको छ । सिरहाको सीमावर्ती माडर भन्सार क्षेत्रको विभिन्न स्थानमा लुकाई राखेको तस्करीको सामान बरामद गरे पनि राजश्व अनुसन्धान कार्यालयले तस्करलाई भने समाउन सकेन । प्रहरीले उम्काएका तस्करीमा संलग्न व्यापारीलाई भने राजश्व अनुसन्धान कार्यालयले पनि पक्राउ गर्न सकेनन् । जसको भूमिकालाई सन्देहपूर्ण मानिएको छ ।
असोज १७ गते बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया र अमलेखगन्जबाट प्रहरीले तस्करीको सामान बोकेर वीरगन्जबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ३८२८ र ना ८ ख ४८४२ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । बिलबिजक भन्दा बढी सामानको स्रोत खुलाउन नसक्दा करिब १ करोड ४२ लाख रूपैयाँ मूल्यांकन सहित कारबाही अघि बढाइएको छ । तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्रको टोलीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी दर्शक बनिदिँदा तस्करी बढेको छ ।
सीमादेखि शहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको धापका कारण वीरगन्ज भन्सार र बाराको सीमा क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन । पछिल्लो समय पर्सामा सेटिङमा तस्करी फस्टाउँदो छ । पर्साको मुख्य भन्सार नाकासहित अमरपट्टी र भिस्वा नाकाबाट तस्करी बढेको स्रोतले जनाएको छ । नेपाल भारतको सीमामा पर्ने वीरगंज भन्सारको पछाडि, छपकैया, श्रिसिया, अमरपर्टी, प्रसौनी, पाकाहाँ, सबैठवा, भिस्वा, र्मिजापुर, टिहुकी,पाण्डेपुर, जयमङ्गलापुर, महादेवपर्टी, जानकिटोला, भिखमपुर र स्वर्णपुरनाकाबाट व्यापक रुपमा तस्करी लाईन खुलाइएको छ । ‘माथिकै आदेशमा लाइन खुलाइएको हो’, स्रोतले भन्यो । अहिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल देशबाहिर भएको बेला तस्करी खुलाइएको हो ।
पर्साको वीरगंज भन्सारको पछाडिको बाटो प्रयोग गरि लत्ताकपडा, काजु, जुत्ता चप्पलको तस्करी ४ जनाको समूहले पाएको छ भन्ने वीरगंजको छपकैया र श्रीसियाबाट काजु, पटका र लत्ताकपडाको लाईन ठूलो मात्रामा सशस्त्र प्रहरीको घुमुवाहरु मार्फत सुचारु भएको नाम नछाप्ने सर्तमा एक प्रहरीले बताएका छन । त्यसै गरि अमरपर्टीबाट नेपालबाट कबाड भारत पुर्याउने र कबाड पुर्याउन प्रयोग गरिएको पिकअपमा लत्ताकपडा र काजुको तस्करी हुँदै आएको छ भने प्रसौनी र सबैठवाबाट धान, गहुँ , काजु, भैसी, पटका साथै भिस्वाबाट चाइनिज स्याऊ , लत्ताकपडा, हाडयेवर, हुन्डी कारोबार, कबाडको ठुलो मात्रामा तस्करी भइरहेको छ ।
त्यस्तै जानकिटोला, महादेवपर्टी र स्वर्णपुरबाट भैसी, काजु , लत्ताकपडा र पटका को लाइन सशस्त्र प्रहरीको घुमुवाहरु मार्फत संचालनमा आएको स्रोतले जनाएको छ। सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले सशस्त्र प्रहरी बल हेडक्वार्टरको निर्देशन विपरीत २ जना घुमुवा परिचालन गरेर तस्करीको लाइन खुलाएको स्रोतको दावी छ ।
रक्सौलको भेलाही नाका हुँदै पर्साको अमरपट्टी र भिस्वा नाकाबाट ठूलो परिमाणमा भन्सार राजस्व छली कपडा, मोटर पार्ट्स लगायतका सामान भित्रिने गरेको सीमा क्षेत्रका बासिन्दाले बताएका छन् । मधेस प्रदेश सप्तरीको सीमा नाका तस्करको उर्वर भूमि बनेको छ। यहाँको विभिन्न नाकाबाट मटर, मरिच, मदिरा, छोकरा, स्याउसहितका सामग्रीको भारत तस्करी फस्टाएको छ। पारिबाट चिनी, दाल, चामल, मोटरपार्ट्सदेखि कस्मेटिक्सलगायत दैनिक उपभोग्य मालवस्तुकाे तस्करी व्यापक छ ।
सप्तरीको बलान बिहुल गाउँपालिकाको बेल्ही नाकाबाट स्याउ र मदिरा तस्करी व्यापक छ। यो सहितको सीमा नाकाबाट पछिल्लो समय सुन, सुपारी र स्याउ तथा मटर, मरीच र मदिरा तस्करी व्यापक छ। पातो, छिन्नमस्ता, सोभरणपटी र बेल्ही लगायतका नाकाबाट स्याउ, सुन, सुपारी, मदिरा तस्करीको सुरक्षित नाका मानिन्छ । सिरहाको माड्र, ठाढी, बरियारपट्टी, झाझपट्टी, माड्र, चतरी नाका पछिल्लो समय तस्करका लागि भूस्वर्ग बनेको छ। माडर नाका अन्तर्गतको बुधौरा, लगडिगोठ, लक्षमीनिया र ठाडी नाका अन्तर्गत झाझपट्टी, ठाडी, अभयनगर पछिल्लो समय ठूलो परिमाणमा तस्करीका लागि चर्चित छन् । यी नाकाबाट नुनदेखि सुनसम्म तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीय बताउँछन् ।
धनुषाको जटही नाका पनि तस्करका लागि उर्वर भएको छ । धनुषामा नेपाल प्रहरीले सशस्त्र प्रहरीसँगको मिलेमतोमा तस्करीको लाइन खुलाउन लागेका छन् । त्यहाँ सुरक्षाकर्मीको उपस्थिति रहेकै सीमा नाकाबाट तस्करको राज चलेको मधेस प्रदेशको नामी जिल्ला हो, धनुषा । नाता सम्बन्धका कारण धनुषा र महोत्तरी बाक्लै आउजाउ गर्ने रन्जीत भन्छन्, ‘धनुषा र महोत्तरीका सीमानाका अहिले तस्करलाई जिम्मा लगाइदिए जतिकै महसुस हुन्छ ।’ महोत्तरीबाट कुखुरा र कुखुराको मासु तस्करी हुने गरेको छ । त्यसका अतिरिक्त त्यहाँका नाकाबाट चिनी, कपडा, मोटर पार्टस्, पान मसाला, तेल, दाल, चामल, मैदा, कुखुरा, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुट्खा) देखि हरेक सामान भन्सार राजश्व छली गरी भित्रिन्छ। यताबाट (वारीबाट) मदिरा, चाइनिज स्याउ, सुपारी पारि पुर्याइन्छ । रौतहटमा सशस्त्र प्रहरीका घुमुवाले नरकटिया र बंकुलको बीचमा पर्ने वशिष्ट चौक नाकाबाट तस्करीलाई सहयोग गरिरहेका छन् । बारामा एसपी डाँगी आफै नाकामा घुमेर बीओपी प्रमुखलाई राती राती होटलमा बोलाएर तस्करीको लाइन खुलाउन व्यस्त रहेका छन्
सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा (लाइन मिलाएर) त्यहाँ तस्कर राज चलेको बताउने स्थानीय सीमावर्ती क्षेत्रमा प्रशस्त भेटिन्छन् । सुरक्षाकर्मीबाट (घुमुवा) ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि अन्धाधुन्ध वारिपारि सामान ढुवानी सुरु हुन्छ । सीमादेखि शहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि (घुमुवा) खटिएका हुन्छन् । पछिल्लो मधेस प्रदेशका धनुषा, महोत्तरी, सप्तरी, सिरहा, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लाका सीमा नाकामा तस्करी बढिरहेको घटनाक्रमबाट नेपालमा राजश्व समेत कम उठिरहेको छ
सप्तरीको बेल्ही, छिन्नमस्ता, कुनैली, गोबरगाढा, बरसाइन, धनुषाको मैनाथपुर, भररिया, खौना, जटही, इनर्वा, दुहबी, अकौरा, दिबदिहा, खजुरी, महोत्तरीको सम्सी, इटहर्वाकटी, मरुवाही, मटिहानी, जलेश्वर, भिठामोड, सर्लाही पर्सा, रौतहटको बंकुल, सरमुजवा, रामपुरखाप, लक्ष्मनपुर बेलबिचवा, सेरवाब्रहमपुर, बाराको कचोरवा, सिमरौनगढ, बेलदारी, कबही, मटिअर्वा, छतवा, गण्डक र पर्साको इनर्वा, छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, भिस्वा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाकामा तस्करको रजाइँ छ ।
यी नाकाबाट पछिल्लो समय मदिरा, चाइनिज स्याउ, मरीच, मटर, सुन, छोकरा पारि तस्करी हुने र पारिबाट दैनिक उपभोग्य सामानसहित लत्ताकपडा र मोटर पार्टस् वारि तस्करी हुने गरेको छ । तस्करलाई लाइनमा ल्याउन भन्सारका कर्मचारी र राजमार्गतिरका प्रहरीले कहिलेकाहीँ केही सामान समात्ने गरेको पाइन्छ । लाइन मिलेपछि सबै नदेखे झैँ गरेर चुप बस्ने गरेको सीमा क्षेत्रवासी बताउँछन । प्रदेश प्रहरी र सशस्त्र प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, राष्ट्रिय अनुसन्धानको प्रदेश र जिल्ला कार्यालयका सादा पोशाकका प्रहरी (घुमुवा) सीमा क्षेत्र र सहरमा अखाडा बनाएर तस्करको लाइन मिलाउँछन् ।
तस्करीकै कारण वीरगन्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्षको २ महिनामा राजस्व संकलन निराशाजनक देखिएको छ । आर्थिक वर्ष भदौ र असोज चाडपर्वको महिना भएकाले साउनको तुलनामा भदौ, असोजमा राजस्व संकलन अधिक हुने गर्दछ । आर्थिक वर्ष २०८०/०८१ को साउन महिनाको राजस्व संकलन लक्ष्यको ७५ दशमलव ९३ प्रतिशत छ। भदौ महिनामा लक्ष्यको ६५ दशमलव ३५ प्रतिशतमात्रै राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालय पर्साले जनाएको छ । चालु आर्थिक वर्षको साउन महिनामा १५ अर्ब ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ११ अर्ब ७८ करोड रूपैयाँ संकलन भएको छ। भदौ महिनामा १९ अर्ब ३८ करोड लक्ष्य रहेकोमा जम्मा १२ अर्ब ६६ करोड राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
गत वर्ष राजस्व संकलनको लक्ष्य २ खर्ब ६० अर्ब रहेकोमा १ खर्ब ५७ अर्बमात्रै संकलन भएको थियो, जो लक्ष्यको ६० दशमलव २ प्रतिशत हो। वीरगन्ज भन्सारले चालु आर्थिक वर्षका लागि २ खर्ब ५१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । जनकपुर भन्सार कार्यालयले गत्त वर्ष लक्ष्यको ६६ प्रतिशत राजश्व संकलन भएको जनाएको छ । जलेश्वर भन्सार कार्यालय, मलिबारा, महोत्तरीका अनुसार गत्त वर्ष लक्ष्यको ७७ प्रतिशत राजश्व संकलन भएको छ ।
सिरहा भन्सार कार्यालय माडरका अनुसार गत्त वर्ष लक्ष्यको ४७ प्रतिशत कम राजश्व संकलन भएको छ । सिरहाको माडर भन्सार कार्यालयले गत्त वर्ष (२०७९/८०)मा लक्ष्यको ४७ प्रतिशत राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको हालसम्म (साउनदेखि असोज १४ सम्म) लक्ष्यको ९ प्रतिशत मात्र राजश्व संकलन भएको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा
बैशाख ४, २०८१ मंगलबार
सशस्त्रको नायव महानिरीक्षकमा पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान
बैशाख ३, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति
बैशाख १७, २०८१ सोमबार
इलाममा एमालेको अग्रता फराकिलो बन्दै, कांग्रेस २६४३ मतले पछाडी
बैशाख १७, २०८१ सोमबार
आजको मौसम : पहाडमा वर्षा, तराइमा हावाहुरीको सम्भावना
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आजको राशीफल
बैशाख १७, २०८१ सोमबार