विराटनगरको क्यासिनोमा नेपाली जुवाडे ! मोरङ प्रहरी मालामाल, उद्योगी व्यापारी टाट
कानुन विपरीत विराटनगरका क्यासिनोमा नेपालीलाई जुवा खेलाईदै
नेपालबहस संवाददाता
मंसिर ७, २०८० बिहिबार १८:२७:३
७ मंसिर, विराटनगर । कानुनतः नेपालको क्यासिनोमा स्वदेशी (नेपाली) हरुलाई जुवा खेलाउन पाईदैन । तर सो कानुनी प्रावधानको खिल्ली उडाउँदै विराटनगरमा क्यासिनो संचालकहरुले स्थानीय उद्योगी, व्यापारी तथा आम सर्वसाधारणहरूलाई निर्वाध रुपमा जुवा खेलाउँदै आएका छन् । विशेष गरी विराटनगरको होटल विगमा संचालनमा रहेको च्याम्पेन जोन क्यासिनोमा नेपालीहरूलाई निर्वाध रुपमा जुवा खेलाइरहेको घटना बाहिरिएको छ ।
मिनी क्यासिनो नाम दिइएको यसमा नेपालीलाई प्रवेशमा कुनै रोकतोक नै छैन । क्यासिनोमा प्रवेश गर्दा विदेशी नागरिक भएको पुष्टि हुने आईडी कार्ड अनिवार्य देखाउनु पर्ने नियम छ । तर यस क्यासिनोले आईडी अनिवार्य चेक गर्नुपर्ने नियमको पालना समेत नगरेको रहस्य खुलेको छ । विराटनगरका होटलमा संचालित क्यासिनोहरूको मुख्य ग्राहक भारतीय नागरिक हुन् । विराटनगर महानगरपालिका भारतीय सीमासँग जोडिएको कारणले गर्दा भारतका नजिकका प्रान्तहरू विहार, वेष्ट बंगाल, झारखण्डबाट भारतीय पर्यटकहरूलाई विराटनगर घुम्न र जुवा खेल्न आउन सजिलो पर्दछ ।
तर च्याम्पेन जोनका संचालक रामकृष्ण गौतमलगायतको सञ्चालक टीमले भारतका शहरहरूमा प्रचार गर्नुको सट्टा विराटनगरकै व्यापारी तथा सर्वसाधारणलाई जुवाको पासो थापिरहेका कारण विग होटलमा संचालित च्याम्पियन जोन क्यासिनो विवादमा आएको हो । टाढा टाढा रहेका भारतीय ग्राहक नियमित नआउने भएकाले क्यासिनो संचालक गौतमले विराटनगरको औद्योगिक घरानाका जुवाडेलाई नै जुवाको लतमा फसाएर दैनिक कमाउ धन्दा चलाइरहेको दावी समाचार स्रोतले गरेको छ ।
विश्वसनीय सुत्रका अनुसार च्याम्पेन जोनका संचालक रामकृष्ण गौतम जुवाडे खोज्न आफै विराटनगर लगायत नजिकका शहर जाने गरेका छन् । उनले नयाँ नयाँ व्यवसायी तथा उद्योगपतिलाई विग होटलमा संचालित क्यासिनोमा घुम्न आउनु भन्दै बोलाउने गरेका छन् । यसरी स्थानीय ग्राहक जुवा खेल्न आउन छोडे स्वयम् क्यासिनो संचालक गौतमले फोन गरेर समेत बोलाउने गरेको दावी स्थानीय एक व्यवसायीको रहेको छ । सो क्यासिनोकै ग्राहकसमेत रहेका विराटनगरका एक व्यापारी भन्छन् “ग्राहक दुई चार दिन क्यासिनो आउन छोडे भने किन माया मार्नु भएको भन्दै ग्राहकलाई संचालक गौतमको फोन आइहाल्छ” उनले थपे “त्यति गर्दा पनि नआए, ग्राहकलाई कसरी क्यासिनोमा फर्काउन सकिन्छ भन्दै संचालक गौतमले नयाँ नयाँ रणनीति अपनाउने गरेको दावी ती क्यासिनोका व्यापारी खेलाडीको छ ।
प्रहरीको मिलेमतो, अन्य निकाय बेखबर
स्वदेशीलाई क्यासिनोमा लुकाईछिपाई जुवा खेलाउन सम्भव छैन । तर केही प्रहरी अधिकारीसँगको मिलेमतोमा विराटनगरको क्यासीनोमा नेपालीलाई निर्वाध जुवा खेलाउने काम भइरहेको छ । सो मिलेमतोको विषयमा कुनै बेला संचालक गौतम आफैंले समेत व्यक्त गर्ने गरेका छन् । चेकिङको डरले क्यासिनो आउन नमान्ने ग्राहकहरूलाई आफूले प्रहरी मिलाई सकेको र क्यासिनोमा बिना जानकारी कोही पनि चेकिङमा आउन नसक्ने भन्दै खेलाडीलाई आश्वासनसम्म दिने गरेको कुरा स्रोतले बताएको छ ।
यो विषयलाई हेर्ने निकाय प्रहरी भने अहिलेसम्म पनि बेखबर जस्तो देखिएको छ । नेपालबहसको जिज्ञासामा जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी छेदीलाल कामतीले भने,“हामीलाई त्यहाँ नेपाली प्रवेश भएको बारेमा कुनै जानकारी नै छैन, वडा प्रहरी कार्यालय विराटनगरले हेर्ने भएकाले तपाईँको जानकारी अनुसार अब हामी हेर्छौं ।” अन्य सरकारी संयन्त्रहरु प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित पालिकालाई समेत क्यासिनोको अनुगमन गर्ने अधिकार छ । तर क्यासिनोमा नेपालीहरू नै लुटिरहेको विषयमा यी निकायहरू बेखबर हुँदा सीमित धन्दा चलाउनेहरूको लागि क्यासिनो पछिल्लो समय आम्दानीको राम्रो माध्यम भएको छ ।
महानगर जिम्मेवार बन्न सकेन
यस विषयमा सबैभन्दा बढी विराटनगर महानगरपालिका जिम्मेवार बन्नुपर्ने प्रष्ट कानुनी व्यवस्था रहेको छ । कानुनतः स्थानीय निकायमा दर्ता गराउनुपर्ने क्यासिनो अहिलेसम्म पनि विराटनगर महानगरपालिकाले दर्ता समेत गर्न चासो नदेखाएको रहस्य पनि खुलेको छ । किनभने महानगरपालिका यहाँको स्थानीय सरकार भएका कारण क्यासिनो दर्ता गरी खेलाडीको अभिलेख राख्न समेत सम्बन्धित होटललाई निर्देशनात्मक आदेश गर्नसक्ने सम्मको कानुनी व्यवस्था रहेको छ । त्यस बाहेक क्यासिनो खेल्न आउने विदेशीको अभिलेख राखी दर्ता गरेपछि प्रत्येक खेलाडीबाट रु १ सयका दरले प्रवेश शुल्कवापत संकलन गरेर महानगरपालिकामा राजश्व जम्मा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
तर विग होटलमा संचालित उक्त क्यासिनोले महानगरपालिकामा समेत दर्ता नगरी महानगरको ठूलो राजश्व समेत ठगी गरिरहेको रहस्य स्रोतले खोलेको छ । यसरी जुवाको लतले विराटनगरका व्यवसायी तथा औद्योगिक घरानाका सयौं परिवार आर्थिक सकंटमा गुज्रिरहँदा पनि सरोकारवाला निकाय बेखवर हुनुलाई आश्चर्य मान्न थालिएको छ ।
को जिम्मेवार ?
यसको मुख्य जिम्मेवार क्यासिनो संचालक रहेपनि बराबर दोष क्यासिनोमा जुवा खेल्न जाने व्यक्ति पनि हो । जुवा खेलाउने मात्र होइन, खेल्ने पनि दोषी नै हो । सोही कारण अब समाजमा रहेको यस्तो कामलाई रंगेहात पक्राउ गरी कानुन अनुसार कार्वाही गर्न जरुरी भइसकेको छ । सँगै प्रहरी जस्तो गहन जिम्मेवार संस्थाले जुवा खेलाउनु जस्तो घिनलाग्दो अपराधलाई नियन्त्रण गर्नुको सट्टा प्रबर्द्धन हुने कदम सार्नु कदापि वाञ्छनीय होइन । यस्तो अपराधमा संलग्न भएका जो कोही होस् पत्ता लगाई उनीहरू उपर अविलम्ब कारबाही चलाउनु जरुरी भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइयो
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै, कांग्रेसको अवरोधले चल्छ त संसद ?
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार