सयौँ रोपनी जग्गा ठगेको प्रमाण जुटाएर अर्बपति विनोद चौधरीसम्म पुग्ने तयारीमा सीआईबी
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार १८:५८:४२
१८ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार एउटा पुरानो जग्गाका विषयमा अनुसन्धान गर्न भन्दै चौधरी समूहका कान्छा भाई अरुण चौधरीलाई नियन्त्रणमा लिएको छ । उनीसँगै तत्कालीन सञ्चालक समितिका अध्यक्षद्वय अजितनारायण थापा र सञ्जय ठाकुरलाई पक्राउ गरिएको छ । १० रोपनी जग्गामा हले नियम विपरीत काम गरेपछि सीआईबीले समातेको हो ।
प्रहरी स्रोतको भनाइमा चौधरी समूहले सयौं रोपनी जग्गा हडपेकाे उजुरी परेका छन् । विनोद चौधरीका नाममा रहेको उद्योगहरूमा मात्र २ हजार रोपनीभन्दा बढी सरकारी जग्गा हडपेका उजुरी आएपछि त्यसमा प्रमाण जुटाउने काम अहिले भइरहेको छ । विनोद चौधरीले हडपेका जग्गाको लगत खोज्दै गर्दा बाँसबारी प्रकरणमा अरुण चौधरी पक्राउ परेका हुन् । अख्तियारमा परेको उजुरीमाथि पनि सोधखोज भइरहेको छ ।
अरुण चौधरी कांग्रेस सांसद विनोद चौधरी एवं डलर अर्बपति विनोद चौधरीकै कान्छा भाई हुन् । उनलाई सीआईबीले नियन्त्रणमा लिएपछि राजनीतिक वृत्तमा पनि खैलाबैला मच्चिएको छ । सबैजसो राजनीतिक दल र नेताहरू चौधरी समूहको चन्दा र अरू सहयोगबाट अक्षुतो छैनन् । विनोद चौधरी कांग्रेसको सांसद बन्नु भन्दा पहिले एमालेका सांसद थिए । आर्थिक रुपमा मात्र होइन, राजनीतिक रुपमा पनि पहुँच भएको चौधरी समूहले सयौं रोपनी जमिन हडपेको विषय यसअघि पनि आएको हो ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति विनोद चौधरीलाई पनि सोधपुछका लागि पक्राउ गर्ने तयारीमा सीआईबी छ । राजनीतिक नेतृत्वको दवाव र उनीसम्म पुग्ने कागजी प्रमाण नपुगेकाले मात्र उनी पक्राउ नपरेका हुन् । यसैले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी मात्र पक्राउ गरिएको हो । तर, विनोद चौधरी संलग्न उद्योगहरूले ठूलो परिमाणमा जग्गा हडपेको विषयमा प्रहरीले जानकारी पाएको छ ।
अर्थ मन्त्रालय र कम्पनी रजिस्ट्रारको कार्यालयका चौधरी समूहले हडपेका जग्गाको लगत रहनुपर्ने भएपनि कतिपय कागजात लुकाइएको पाइएको छ । विनोद चौधरीकै नाममा करिब २ हजार कित्ता सरकारी जग्गा हडपेको विषयमा लगत खोज्दा सरकारी निकायले लुकाएको प्रहरीको भनाइ छ । अहिले सीआईबीले ती प्रमाण खोजिरहेको छ । प्रहरी स्रोतले भन्यो, सरकारी जग्गा हिनामिना गर्ने कसैलाई नछाड्नु भन्ने आदेश छ तर, प्रमाण जुटिसकेको छैन ।
चौधरी समूहले अहिले आएर मात्र हैन, पञ्चायतकालदेखि नै जग्गा हिनामिना गर्दै आएकाले उसविरुद्ध प्रमाण जुटाउन समस्या भएको हो । उच्च प्रहरी स्रोतका अनुसार २०४२ सालमा पञ्चायतको पालादेखि प्रजातन्त्र कालसम्म उनीहरूले सरकारी जग्गा हडपेको पाइएको छ, उजुरी पनि परेका छन तर, पूर्ण प्रमाण जुटाउन मुस्किल भइरहेको छ । चौधरी समूहले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी छ । विनोद चौधरीले गरेको कीर्तेबारे मिहिन ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनले २ हजार कित्ता सरकारी जग्गा हडपेको उजुरी छ, छानबिन भइरहेको छ । पञ्चायतको समयमा दरबारलाई प्रभाव पारेर र बहुदल तथा गणतन्त्रको समयमा राजनीतिक दलका नेतालाई प्रभावमा पारेर चौधरी समूहले सरकारी जग्गा हडप्दै आएको थियो । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले हडप्यो भनेर खुलासा भएपनि अरु जग्गा कहिले र कसरी हडपेको थियो भनेर अहिले खोजी भइरहेको छ ।
स्रोत भन्छ, अर्थ मन्त्रालयमा बाँसबारी छाला तथा जुत्ता कारखानाको फाइल अहिले हराएको छ । बाँसबारी छाला तथा जुत्ता कारखाना निजीकरण गर्ने निर्णयसँगै चौधरी समूहको प्रवेश भएको हो । अहिले अस्तित्वमै नरहेको कारखानाको फाइल खोज्न पनि सहज छैन । भएका कर्मचारीले नै लुकाएका छन् । अरुण चौधरीलाई ६ महिना अगाडि नै पक्राउ गर्न खोजिएको थियो । प्रमाण पूर्ण रुपले नजुटेका हाल समातिएको हो ।
अहिले प्रहरीले अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई फाइल खोजेर उपलब्ध गराइदिन पत्र पठाएको छ । चौधरीले हडपेका जग्गाको लगत यी मन्त्रालयमा भेटिन सक्ने भन्दै खोज्न लगाइएको हो । बिहीबार समातिएका अरुण चौधरीको प्रकरण पनि पुरानै हो । २०४३ भदौ १० गते वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सहमतिमा चौधरी समूहको च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडलाई जग्गा नामसारी गरिदिने भनिएको थियो ।
त्यस बापत च्याम्पियन फुटवेयरमा बाँसबारी छाला तथा जुत्ता कारखानाको २५ सय कित्ता शेयर लगानी गर्ने निर्णय गरेको थियो । तर, त्यो च्याम्पियन फुटवेयर खुलेकै थिएन । कम्पनी रजिस्ट्रारको कार्यालयमा २०४३ कात्तिक २७ मा च्याम्पियन फुटवेयर दर्ता भएको प्रमाण अहिले भेटिएको छ । २०४४ सालमा दुई पटकमा गरेर बाँसबारी छाला तथा जुत्ता कारखानाले आफ्नो १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई नामसारी गरिदिएको प्रहरीको भनाइ छ ।
मालपोत ऐन २०३४ ले सरकारी जग्गा कुनै कम्पनीको स्वामित्वमा नामसारी गर्न मन्त्रिपरिषदको स्वीकृति अनिवार्य गरे पनि त्यसबेला मन्त्रिपरिषदको स्वीकृतिबेगर जग्गा नामसारी गरिएको थियो । तर, जुत्ता उत्पादन गर्ने भन्दै १० रोपनी जग्गा हडपेको च्याम्पियन फुटवेयरले तीन वर्षपछि हरायो । तत्कालीन बाँसबारी कारखाना शेयर पनि एकलौटी बनाए चौधरी समूहले सीजी चाँदबाग रेसिडेन्सी प्रालि बनाएको थियो । त्यो अरुण चौधरी र शिला चौधरीको नाममा भेटिएको छ ।
यिनै आधार पाएर सीआईबीले अरुण चौधरीलाई समातेको हो । विनोद चौधरीका नाममा रहेका उद्योगले हडपेका जग्गाको विवरण खोज्न अझै बाँकी छ । आधा उधि प्रमाण जुटेका छन्, प्रहरी स्रोतले भन्यो, प्रमाण जुटेपछि विनोद चौधरीलाई नियन्त्रणमा लिने तयारीमा सीआईबी छ । जग्गा हडपेको विषयमा विनोद चौधरीलाई नियन्त्रणमा लिन कुरा राजनीतिक वृत्तसम्म पनि पुगेको छ । चौधरीलाई समाउँदा विभिन्न राजनीतिक दलमा पनि असर पर्ने भएकाले अरुण समातिएको घटनाले राजनीतिक दलमा तरंग ल्याएको हो ।
जग्गा हिनामिना प्रकरणमा सीआईबीले तीन महिनादेखि अनुसन्धान गरिरहेको थियो । १० रोपनी जग्गा सीजी रेसिडेन्सीको नाममा नामसारी भएको सूचना पाएपछि सीआईबीले प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीको नेतृत्वमा ३ सदस्यीय टोलीले अनुसन्धान गरेर प्रमाण संकलन गरेको सीआईबीले जनाएको छ । उक्त टोलीले मालपोत कार्यालयमा पुगेर प्रमाणहरु संकलन गर्नुका साथै स्थानीय बासिन्दासँग पनि कुराकानी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार