धुलिखेल–खावा सडकको ठेक्का सम्झौता तोडिने
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार ११:४०:५९
२३ माघ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडक खण्ड विस्तारको ठेक्का तोड्ने तयारी भएको छ । चार किलोमिटर उक्त सडक खण्ड विस्तारकार्य सम्झौताको करिब दुई महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो ।
सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा यस सडक खण्ड विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको थियो । कार्यालयले सोमबार सूचना जारी गर्दै उक्त सडक खण्डमा कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेपछि ठेक्का तोड्न लागिएको जनाएको छ । सूचनामा ठेक्का नतोड्नुपर्ने कुनै पनि कारण भए सात दिनभित्र स्पष्टीकरण पेस गर्न कार्यालयले निर्माण कम्पनीलाई समय दिएको छ ।
पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माणको काम बीचमा छाडेर कम्पनी सम्पर्कविहीन भएको समेत सूचनामा उल्लेख गरिएको छ । कम्पनीले आउँदो चैत १९ गतेसम्म उक्त कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । सम्झौताको समयावधि नजिकिँदै गर्दा एक तिहाइसमेत काम नसकिएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको जनाएको हो ।
उक्त सडक खण्ड विस्तारका लागि व्यवसायीसँग रु २० करोड १९ लाख ४६ हजार पाँच पाँच सय एकमा सम्झौता गरिएको थियो । कार्यालयले ठेक्का तोडेर कार्यसम्पादन जमानतबापतको रकमसमेत जफत गर्ने योजना बनाएको जनाइएको छ । साथै बाँकी काम सम्पन्न गर्न लाग्ने लागतसमेत यसै निर्माण कम्पनीबाट असुलउपर गरिने कार्यालयले जनाएको छ ।
गत मंसिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनसमेत ठेकेदार कम्पनीले अटेर गर्दै आएको छ । यस्तै निर्धारित समयमा काम सम्पन्न गराउन जिल्ला स्तरमा सरोकारवालाको पटक–पटक छलफल भए पनि ठेकेदार कम्पनीले काम गर्न आलटाल गर्दै आइरहेको थियो । समयमै काम सम्पन्न नहुँदा घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुँदा यस सडक भएर आवतजावत यात्रा गर्ने यात्रुले सास्ती खेप्दै आइरहेका छन् । दैनिक जसो दुर्घटना हुने गरेको छ ।
निर्माणकार्यका लागि हाल आधा दर्जनको संख्यामा मजदुरको भरमा निर्माण कम्पनीले समय बिताइरहेको छ । जिल्ला तहमा उक्त कम्पनीलाई म्याद थप नगर्न दबाब बढिरहेको छ । प्रमको प्रशासनिक तहमार्फत निर्माण कम्पनीलाई निर्देशन दिएको खबर पाइयो, तर त्यसपछि पनि निर्माण व्यवसायीले अटेर गरेको देखिन्छ, धुलिखेल नगरपालिका–८ का वडाध्यक्ष विनोद गौतमले भने ।
केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडक खण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो । कार्यालयका इञ्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार उक्त सडक खण्डको ठेक्का लिएको निर्माण व्यवसायीले काममा ढिलाइ गरेका हुन् । डिभिजन कार्यालयले निर्माण व्यवसायीले सुरुआती चरणदेखि नै काममा ढिलाइ गरेपछि कार्यालयले पटक–पटक पत्र काटेर ढिलाइ हुनुको कारण सोधेको उनले बताए ।
उनका अनुसार निर्माण व्यवसायीले कुनै पनि पत्रको जवाफ पठाउने गरेका छैनन् । पत्रको बेवास्ता गरेपछि कार्यालयले पुनः पटक–पटक सार्वजनिक सूचना जारी गर्दै गैरजिम्मेवारीपन देखाएको जनाउँदै समय सीमा दिएर लिखित स्पष्टीकरण पेस गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएको थियो । सरोकारवालाले निर्माण व्यवसायीले उक्त सडकखण्डबाट अनधिकृत रूपमा माटो र ढुङ्गा निकालेर अन्यत्र बिक्री गरेको आरोपसमेत लगाउँदै आएका छन् ।
सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनाएको छ ।
काभ्रेपलाञ्चोकको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । चार महिनाअघि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि उक्त राजमार्गका सवारी चाप बढ्न थालेको छ । हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लामो दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् भने दैनिक दुई हजार पाँच सय मालवाहक सवारी गुड्ने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा
बैशाख १६, २०८१ आइतबार
सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
बैशाख १४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने
बैशाख १४, २०८१ शुक्रबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार