१३ माघ २०७८, बिहीबार

नेकपाले लगायो १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार १९:४०


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले पार्टी पोलिटब्युरो सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो लगाएको स्रोतले जनाएको छ ।

पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र स्थायी कमिटी सदस्य स्वतः पर्ने गरी बनाइएको छ । बैठकले सबै जनवर्गीय सङ्गठनको एकतासमेत टुङ्गाएको छ ।

गत वर्ष जेठ ३ गते नेकपा ‘एमाले’ र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ ।

यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो ।

बैठकले बाँकी रहेका सबै जनवर्गीय सङ्गठनको एकताको आज टुङ्गो लगाएको बताइएको छ । विद्यार्थी, मजदूर र बुद्धिजीवी तत्कालीन एमाले तथा युवा, महिला र पत्रकार सङ्गठन तत्कालीन माओवादी केन्द्रको भागमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भियतनाम र कम्बोडियोको भ्रमण सकेर आएपछि आज सचिवालय बैठक बसेको थियो ।

पार्टी एकता भएको अवसरमा नेकपाले शुकबार बिहान  ८ बजे तत्कालीन नेकपा ‘एमाले’ को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा