२ असोज, काभ्रे । अविरल वर्षाको कारण आएको पहिरोले घर पुरिँदा ४ वर्षीय बालकको मृत्यु भएको छ । पहिरोले पाँचखाल नगरपालिका वडा नम्बर ४ फेदीबजारका रोजन तामाङको घर पुरिदा छोरा दिपेशको मृत्यु भएको हो ।
दिपेश बुधबार घरभित्रै पुरिएको प्रहरीले जनाएको छ । पहिरो आउँदा आमाबुबा आत्तिएर घरबाट बाहिर निस्केको तर बालक निस्कन नसकेको छिमेकीले बताए । पहिरोले पुरिएको ३ घण्टापछि प्रहरीले स्काभेटरको सहयोगमा दिपेशलाई निकालेको थियो तर उनी जीवित थिएनन् ।
घटनापछि पहिरोस्थलमा प्रदेश सांसद लक्ष्मण लम्साल, मण्डनदेउपुर नगरपालिका मेयर टोकबहादुर वाइवा, पाँचखाल नगरपापालिका मेयर महेश खरेल, जिल्ला रेडक्रस सभापति रघुभर चौप्रधान, नेपाल पत्रकार महासंघ अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला प्रहरी कार्यालय प्रमुख लगायत लगायतको टोली पुगेका थिए । बालकको बुधबार नै अन्त्येष्टि गरिएको छ ।
लगातारको वर्षाले जिल्लाको विभिन्न ठाउँमा पहिरो गएको छ । भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलातीको २५ घर पहिरोको जोखिममा छन् । पहिरोको जोखिममा रहेका सबै परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष गुमानध्वज कुवरले जानकारी दिए ।