टोखामा विद्यार्थीलाई ‘निःशुल्क दिवा खाजा’
नेपालबहस संवाददाता
माघ ११, २०७६ शनिबार १३:३४:१८
११ माघ टोखा । काठमाडौँको टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल विकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउन लागिएको हो ।
नगरपालिकाभित्रका झोर महाँकाल, बौडेश्वर, चण्डेश्वरी, धापासी, तिलिङ्गाटार, जालपा र मनोहर माविका विद्यार्थीलाई खाजा खुवाउन लागिएको हो । आठ सरकारी विद्यालयमा हाल चार हजार ३०६ विद्यार्थी अध्ययनरत छन् । निजी र सरकारी विद्यालयमा गरी झण्डै ४० हजार विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका शिक्षा शाखाका प्रमुख उपसचिव बाबुराम गौतम ‘मेयर दिवा खाजा कार्यक्रम’का लागि आर्थिक वर्ष २०७६/०७७ को बजेटमा रु ७५ लाख विनियोजन गरिएको बताउछन् । “दैनिक रु २५ बराबरको खाजा वितरण गर्न बोलपत्र आह्वान भएको छ, फागुनदेखि दिवा खाजा कार्यक्रम सञ्चालन गर्छौं”, उनी भन्छन् ।
बजेट अपुग भए थप्दै लैजाने गौतमको भनाइ थियो । नगरपालिकामा हाल आठ सामुदायिक, ८१ निजी, तीन वैकल्पिक मावि र ३५ मन्टेश्वरी विद्यालय छन् । टोखाले प्रत्येक वैकल्पिक विद्यालय बराबर रु सात लाख २० हजार आर्थिक सहयोग गर्दै आएको छ ।
नगरप्रमुख प्रकाश अधिकारी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गरेको बताउछन् । “पछिल्लो समय सरकारी विद्यालयप्रति विद्यार्थीको आकर्षण घटेको छ, त्यसलाई बढाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो”, उनी भन्छन् ।
नगरपालिकाका ११ मध्ये ५, ६, ९ र ११ नम्बर वडामा सामुदायिक विद्यालय छैनन् । सबै वडामा सामुदायिक विद्यालय बनाउने उद्देश्यले ‘एक वडा, एक सामुदायिक विद्यालय’ को अवधारणा नगरपालिकाले अगाडि सारेको छ । नगरसभाको बैठकबाट संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा रुपान्तरण गर्न सकिने गरी ऐन संशोधन गरिएको छ । सो संशोधनले अब निजी विद्यालय सामुदायिक विद्यालयमा रुपान्तरण हुन चाहेमा ढोका खुलेको छ ।
शिक्षा शाखा प्रमुख गौतम सबै वडामा सामुदायिक विद्यालय स्थापना गर्ने गरी नगरपालिकाले नीति तथा कार्यक्रम निर्माण गरिरहेको बताउछन् । “आगामी दिनमा निजी विद्यालय बन्द भयो भने सामुदायिकमा विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्छ, त्यसका लागि पनि सामुदायिक विद्यालय आवश्यक छ”, गौतम भन्छन् ।
नगरपालिकाले हरेक वर्ष नगरभित्रका कक्षा ८, १० र १२ मा उत्कृष्ट अङ्क ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिरहेको छ । अभिभावकलाई लक्षित गरी घरमा हुने लैङ्गिक हिंसा र विद्यार्थीको गुणस्तरीय शिक्षासम्बन्धी दुईवटा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
महिलाको शिक्षालाई ध्यानमा राखेर नगरपालिकाभित्र छुट्टै महिला वैकल्पिक विद्यालय चलाइएको छ । नयाँ बसपार्कमा निर्माण गरिएको चेतना महिला विद्यालयमा हाल ३०० विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयको शिक्षाको विकासका लागि टोखा नगरपालिकाले सहयोग गरेको छ ।
सामुदायिकमध्ये सरस्वती, बौडेश्वर, मनोहर र तिलिङ्गाटार माविले दश जोड दुई कक्षा चलाएका छन् । सामुदायिकमा अध्ययनरत विद्यार्थीलाई एसइई परीक्षामा गुणस्तरीय नतिजा ल्याउन ‘कोचिङ’ तथा ‘काउन्सीलिङ’ कार्यक्रम चलाइएको छ । त्यसका लागि नगरपालिकाले एक विद्यालय बराबर रु ५० हजार विनियोजन गरेको छ ।
नगरपालिकाभित्रको शिक्षालाई गुणस्तरीय बनाउन विद्यालयका प्राचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षकलाई शैक्षिक भ्रमण गराइएको छ । टोखाभित्रको शिक्षालाई समावेश गरेर ‘टोखा शैक्षिक दर्पण’ प्रकाशन गर्न लागिएको शिक्षा शाखाका अधिकृत विजया भट्टराईले जानकारी दिए ।
अपुग शिक्षक पदपूर्ति गर्न नगरपालिकाले चण्डेश्वरी, धापासी, जालपा र सरस्वती माविमा एक-एक दरबन्दी थपेको छ । उक्त दरबन्दीका लागि नगरपालिकाले चालु आवमा रु १६ लाख रकम विनियोजन गरेको छ । केन्द्रले शिक्षक नियुक्ति गर्ने परिपाटी राम्रो नभएको प्रमुख शिक्षा अधिकृत गौतम बताउछन् ।
असहाय, अपाङ्गता र आर्थिकरुपले विपन्न विद्यार्थीलाई नगरपालिकाले निःशुल्क अध्ययन गराउने भएको छ । त्यसका लागि नगरपालिकाले टोखा–९ मा रहेको स्कोलास्टिक नेशनल एकेडेमी र टोखा–३ को नितेन मेमोरियल स्कूललाई वार्षिक रु पाँच÷पाँच लाख आर्थिक सहयोग गरेको छ ।
कम शुल्कमा काम गरिरहेका सामुदायिक विद्यालयका कार्यालय सहयोगी र तल्लो दर्जाका २४ कर्मचारीका लागि वार्षिक रु ५० हजार बराबर प्रोत्साहन अनुदान विनियोजन नगरपालिकाले गरेको छ ।
त्यसले गर्दा ती कर्मचारीलाई सरकारले तोकेबमोजिम न्यूनतम पारिश्रमिक रकम बराबर हुन पुग्छ । नगरपालिकाभित्रका सबै विद्यालयमा समान शिक्षा प्रदान गर्न टोखाले स्थानीय शिक्षा नीति, शिक्षा योजना र स्थानीय पाठ्यक्रमको कामलाई अगाडि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार