
२६ पुष, बैतडी । बैतडी सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि शिल गरिएको छ । कोरोना संक्रमणका कारण एक स्थानीयवासीको मृत्यु भएपछि दशरथचन्द नगरपालिकाले वडा नं ४ को गढी क्षेत्र माघ ६ गतेसम्म शिल गर्ने निर्णय गरेको हो ।
केही दिनअघि मात्रै गढी क्षेत्रमा कोरोनाबाट एक व्यक्तिको मृत्यु भएपछि उनको सम्पर्कमा रहेकामा पनि कोरोना देखिएकाले गढी क्षेत्र आजदेखि माघ ६ गतेसम्म सिल गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिए । नगरपालिकाको गढी क्षेत्रमै अहिले पनि सात जना संक्रमित रहेकाले संक्रमण नफैलियोस् भन्नका लागि गढी क्षेत्र शिल गरिएको हो ।
गढी क्षेत्र शिल भएसँगै आवतजावत नगर्न, शिक्षण संस्था बन्द गर्न आग्रह गरिएको छ भने बजार तथा पसल बन्द रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । बैतडीमा अहिलेसम्म ६३६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ भने कोरोनाबाट दुईको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट