
२९ माघ, काठमाडौं । केपी ओली सरकारले नेकपा प्रचण्ड–माधव समूहका नेतृ रामकुमारी झाँक्रीलाई आज राजकाज मुद्धा लगाएर गिरफ्तार गरेपछि राजनीतिक माहोल तरंगित भएको छ । सरकारले नेतृ झाँक्रीलाई पक्रेपछि आजै यो समूहले तत्काल रिहाइको माग गरेको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग राखेका हुन् । संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता खिल्ली उडाउँदै गरिएको यो गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो बनाएको छ – विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीको ढाडो आदेशमा नेतृ झाँक्रीलाई प्रहरीले पक्रेको घटनालाई धेरैले गलत र अनुचित भनेकाछन् । नेकपा अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डदेखि माधवकुमार नेपाल र झलनाथ खनालसम्मले ओलीको निरंकुशताले हद पार गरेको टिप्पणी गरेका छन् ।
यस्तै नेकपा प्रचण्ड –माधव समूहकै नेताहरु योगेश भट्टराई र विष्णु रिजालले पनि सामाजिक सञ्जालमार्फत चर्काे आलोचना गरेका छन् ।
उता, नेकपाकै अर्का नेता जनार्दन शर्माले ओली सरकारले आफ्नो अभिष्ट पूरा गर्न झाँक्रीलाई पक्रेको बताएका छन् । सबैले विगतमा सकृय राजतन्त्रका बेलासमेत नेपाली जनताले शासकको खुलेर आलोचना गर्दा कोही पक्राउ नपरेको तर अहिलको लोकतान्त्रिक भनिएको सरकारको मति चाहिं गए गुज्रेको भन्दै चर्काे आलोचना गरेका छन् ।
यसैबीच, नेपाली कांग्रेसका नेता गगन थापाले समेत झाँक्रीको गिरफ्तारी सर्वसत्तावादको उत्कर्ष भन्ने चित्रण गरेका छन् । थापाले पनि सामाजिक सञ्जालमार्फत आफ्ना भनाई सार्वजनिक गरेका छन् ।
नेता थापा भन्छन्–कर्तव्य निर्वाह गर्न छाडेर असंवैधानिक र अलोकतान्त्रिक गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति । सरकार झ्यालखानाको संख्या थप, किनकी सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्राशले बन्द हुँदैन ।
प्रतिक्रिया