प्रधानमन्त्रीले नै धम्कीको भाषा प्रयोग गर्ने ? कांग्रेस नेता डा. कोइराला

९ फागुन, विराटनगर । नेपाली कांग्रेस प्रभावशाली नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका ल्याएर सरकारले अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोजेको बताएका छन् । यो निर्देशिका अधिनायकवादको परिणतिको रुपमा आएको उनको निष्कर्ष छ ।
नेपाली कांग्रेस मोरङको सुन्दरहरैंचा ४ वडा कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले उक्त बुरा बताएका हुन् । संसद पुनर्स्थापनाको विकल्प नभएको बताउँदै डा. कोइरालाले प्रतिनिधिसभा बिघटनको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्कीको भाषा प्रयोग गर्नु गलत भएको बताए ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यपालिकाले न्यायपालिकालाई धम्क्याउन थालेको भन्दै प्रधानमन्त्री केपी ओलीमा निरंकुशता हावी भएको दावी गरेका छन् । पार्टी प्रवेश कार्यक्रमका लागि आज सुन्दरहरैंचामा आयोजित एक कार्यक्रममा बोल्दै नेता डा. कोइरालाले भने–न्यायालयलाई धम्क्याउने शैली र प्रवृत्ति गलत हो, हामीले समेत यसको प्रतिकार गर्नुपर्छ ।
नेपाली कांग्रेसको नेतृत्वमा आएको नेपालको संविधान २०७२ को संरक्षण गर्ने मूल जिम्मेवारीसमेत कांग्रेसकै रहेकाेले ओलीको गलत कामको भण्डाफोर गर्न उनले आह्वान गरे । ओलीले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र र संविधानकै हत्या गर्न खोजेकाले न्यायप्रेमी जनताका लागि अस्वीकार्य रहेको भन्दै उनले ओली प्रवृत्ति परास्त गर्न सबै सचेत र सजग हुनुपर्ने नेता डा.कोइरालाले बताए ।
प्रधानमन्त्री ओली विधि नमान्ने प्रवृत्तिका मानिस हुन् , अस्ती निर्वाचन आयोगलाई धम्याएर सूर्य चिह्न आफूले पाउनुपर्ने भन्दै थिए, हिजो विराटनगर आएर सर्वाेच्च अदालतलाई आफ्नो निर्णय नमाने विरोधमा आन्दोलन गर्ने भनी त्रसित बनाउन खोजेका छन् – नेता कोइरालाले भने ।
संविधानका विज्ञ र मर्मज्ञ भन्छन्– विघटन गर्ने अधिकार कुनैपनि धारामा उल्लेख छैन, तर ओली भने आफ्नो निर्णय उल्टाइयो भने आन्दोलन गर्छु भन्दैछन्, यो भन्दा ठूलो बिडम्बना के होला ? डा. कोइरालाको प्रश्न छ ।
तीन करोड नेपाली अहिले सर्वाेच्च अदालतको निर्णय कुरेर बसेका छन्, संविधानको अक्षर र भावना विपरीत निर्णय आउनेवाला छैन , ढुक्क हौं संसद पुनस्थापना भएर लोकतन्त्र पुन ट्रयाकमा आउनेछ– डा. कोइरालाले भने ।
डा. कोइरालाले शक्तिशाली प्रधानमन्त्री कमजोर भएकोले साइबर सेनाको सहारा लिन लागेको बताए । राष्ट्रपति र प्रधानमन्त्रीलाई केही भनेमा घरमै प्रहरी आउने कानुन निर्माणमा सरकार लागेको आरोप लगाउँदै कोइरालाले बोल्न पाउने अधिकार समाप्त पार्ने खेलमा सरकार लागेको दावी गरेका छन् । आफूले थर्काएर नपुगेर साइबर सेनाको सहाराले नागरिकहरुलाई डराउने ,धम्क्याउने, तर्साउने काममा सरकार आफै लागेको कोइरालाको आरोप छ ।
उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी (बिप्लव समुह) का केन्द्रीय सदस्य थानेश्वर दाहाल र पुर्वएमाले मोरङका सदस्य थानेश्वर भट्टराई लगायत २७६ लाई शेखर कोइरालाले रातो टिका लगाएर कांग्रेसमा प्रवेश गराएका छन् ।
प्रतिक्रिया