११ कार्तिक २०७८, बिहीबार

एकीकृत समाजवादीले केन्द्रीय सदस्यको टुंगो लगाउन सकेन

प्रकाशित मिति :  ७ आश्विन २०७८, बिहीबार २०:१०


७ असोज, काठमाडौ । नेकपा ‘एकीकृत समाजवादी’ ले केन्द्रीय सदस्यहरूको टुंगो लगाउन सकेको छैन । आकांक्षी धेरै भएपछि दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यको टुंगो लगाउन नसकेको हो ।

केन्द्रीय कमिटीलाई पूर्णता दिने र जिल्ला इन्चार्ज तोक्ने भए पनि आकांक्षी धेरै देखिएपछि टुंगो लगाउन नसकिएको एकीकृत समाजवादीले जनाएको छ । पहिले २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भने पनि अहिले आकांक्षी बढेसँगै नेकपा एकीकृत समाजवादीले संख्या बढाएर ३०१ पुर्‍याएको छ ।

पार्टीका नेताले जिल्लास्तरका नेताहरूलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्ने आश्वासन दिएपछि अहिले केन्द्रीय सदस्य छान्न धौधौ परेको हो । बिहीबारको बैठकमा पोलिटब्युरोको नाम सार्वजनिक गरे पनि केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएन ।

समाजवादीका महासचिव वेदुराम भुसालले केन्द्रीय सदस्यका लागि प्रदेशबाट नामावली आए पनि ती नामावली काटछाँट गरी केन्द्रीय सदस्य टुंग्याइने बताए । ‘हामीले केन्द्रीय कमिटी बैठकबाट नै केन्द्रीय सदस्य थप्ने तयारी गरेका थियौँ’, उनले भने, ‘केन्द्रीय सदस्यका लागि ठूलो संख्यामा नाम प्राप्त भएको छ । प्राप्त भएका नाममा अलिकति मिलाउनुपर्नेछ ।’

केन्द्रीय सदस्य दिलु पन्तले केन्द्रीय सदस्यका लागि धेरैको नाम आएकाले स्क्रिनिङ् गरिने बताइन् । उनले केन्द्रीय सदस्यको नामावलीको टुंगो लगाउने जिम्मा स्थायी कमिटीलाई दिएको जानकारी गराइन् । ‘केन्द्रीय सदस्यका लागि धेरैको नाम आयो । बैठकले ती कसलाई केन्द्रीय सदस्य बनाउने भन्ने टुंगो लगाउन सकेन’, उनले भनिन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा