१ भाद्र २०७९, बुधबार
गण्डकी प्रदेश

मुलगोठाली सिँचाइ आयोजना सम्पन्न

प्रकाशित मिति :  १६ असार २०७९, बिहीबार १२:५३


१६ असार , म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ मा मुलगोठाली–चालीसे सिँचाई आयोजना निर्माण सम्पन्न भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीले विसं २०७६ देखि शुरुआत गरेको सो आयोजना यसवर्ष निर्माण सकिएको हो ।

कार्यालयका ई अञ्जन खत्रीले आयोजनाबाट दुई हजार दुई सय रोपनी क्षेत्रफल जमिनमा सिँचाई सुविधा पुगेको जानकारी दिए । “बेनी नगरपालिका वडा नम्बर ४ र ५ का सात सय घरधुरी कृषक लाभान्वित भएका छन,” उनले भने “सिँचाई सुविधासँगै खाद्यान्नबाली उत्पादन वृद्धि हुने अपेक्षा गरेका छौ ।

” भिरमुनी, डाडाखेत, कुमाल्नी, फुर्केसल्ला, बगुवाखोलाका कृषकहरु लाभान्वित भएका स्थानीय अमर बानियाले बताए । चालु आर्थिक वर्षमा रु. १९ लाखमा ठेक्का सम्झौतामा निर्माण भएको ५५० मिटर सहित एक हजार २०० मिटर नहर निर्माण भएको कार्यालयले जनाएको छ । मुलमा दुई वटा पानी संकलन गर्ने पोखरी निर्माण भएको छ ।

कुल रु। एक करोड ३३ लाख लागत अनुमान गरिएको योजनाका लागि विसं२०७६ मा ४४ लाख र २०७७ मा रु। १८ लाख खर्च भएको थियो । स्थानीय कृषक लेखबहादुर कटुवालले नहर निर्माण भएपछि समयमै खेतीबाली लगाउन र खडेरीमा सिंँचाई गर्न पाएको बताए ।

“नहर नहुँदा मुलबाट फेदीको खेतमा पानी ल्याउदा सोसिएर सुक्दथ्यो,” उनले भने “नहरमा मुहानबाट जति पानी पठाएको खेतमा त्यतीनै आइपुग्छ ।” सो क्षेत्रमा धान, मकै र गहुँ खेती हुन्छ ।

हालसम्म वर्षमा दुई वाली खेती हुने खेतमा सिचाई सुविधा भएपछि तीनबाली लगाउन सकिने कृषकहरुले बताएका छन् । पानीका कारणले हुने बिवाद न्युनीकरणमा सहयोग पुगेको छ ।

धान रोप्न, मकै र गहुँमा पानी लगाउन पालो पर्खनुपर्ने समस्या हटेको कृषक विशाल कटुवालले बताए । नहर निर्माणका क्रममा स्थानीय करिब २० जनाले ७५ दिनका दरले रोजगारी समेत पाएका उनले बताए ।

मुहानको पानी पोखरीमा संकलन गरेर आवश्यक परेको समयमा नहरबाट खेतमा लैजाने व्यवस्था मिलाइएको छ । दुई पोखरीमा एक लाख लिटर पानी संकलन गर्न सकिन्छ । यसअघि खडेरी परेको समयमा पानी लगाउन नपाएर मकै, गहुँ, धानको अपेक्षाकृत उत्पादन लिन सकेका थिएनन् ।


195
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा