१९ माघ, विराटनगर । भन्सार प्रतिनिधिसँगको सेटिङ्गमा भन्सार जाँचपासलाई प्रमाणीकरण गर्ने विराटनगर भन्सारका भन्सार प्रमुख ताराप्रसाद सापकोटासहितका तीन कर्मचारी छानविनका लागि भन्दै अर्थ मन्त्रालयले काठमाडौं तानेपछि त्यसका सम्बन्धमा आवश्यक जाँचबुझ गरी प्रतिवेदन बुझाउने जिम्मा पाएको अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालको नेतृत्वमा आएको एक टोलीले भन्सार कर्मचारी र भन्सार प्रतिनिधिसँग सोधपुछ गरी फर्किएको छ ।
नेपालबहसले निरन्तर विराटनगर भन्सारका भन्सार एजेन्टका प्रतिनिधिहरुले गर्ने बैध र अबैध कामका विषयमा निरन्तर खबरदारी गर्दै गर्दा उक्त कुरा खुलेको हो । भन्सारको राजश्व छली प्रकरणमा भन्सार प्रतिनिधि शरण खरेलले भन्सार जाँचपास गर्ने क्रममा प्रयोग गरेको भन्सार एजेन्ट ईश्वर केसीको एजेन्ट नम्बर ४२३ को लगइन प्रयोग गरेर माल जाँचपास गरेको भन्दै ती भन्सार एजेन्टलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने निश्कर्ष निकालेको रहस्य पनि भन्सार स्रोतले खोलेको हो ।
विराटनगर भन्सारमा रहेका भन्सार प्रतिनिधि शरण खरेल पनि एजेन्ट नम्बर ४२३ को काठमाडौ क्लियरिङ्ग एण्ड फरवार्डिङ्गकै भन्सार प्रतिनिधि भएर भन्सार जाँचपासमा संलग्न भएको देखिएको हुँदा दुवैलाई कार्वाही गर्नुपर्ने निश्कर्ष सहसचिव सुमन दाहालको नेतृत्वमा आएको टोलीले निकालेको दावी स्रोतले गरेको हो । यसरी भन्सार जाँचपासमा पटकपटक विवादमा तानिदै आएका शरण खरेल संलग्न भएर घटाएको पछिल्लो घट्ना सार्वजनिक भएसँगै विराटनगर भन्सार भित्र हुने भन्सार प्रतिनिधिको सेटिङ्गलाई पनि छताछुल्ल बनाईदिएको हो ।
विराटनगर भन्सारमा भन्सार जाँचपासको काममा संलग्न एजेन्ट नम्बर ४२३ बीरगन्ज भन्सारको भन्सार एजेन्टमा कार्यरत भएर उनकै प्रतिनिधिका रुपमा शरण (सन्तोष) खरेलले काठमाडौंको देव इन्टरनेशनलले चीनबाट आयात गरेको जुत्ता र रेडिमेड गार्मेन्टका सामान जाँचपास गर्ने क्रममा करोडौं राजश्व छली गरी सेटिङ्गमा सामान जाँचपास गराएको विषय छताछुल्ल बन्न पुगेको थियो ।
स्रोतका अनुसार देव इन्टरनेशनलले ७३ हजार डलर बराबरको जुत्ता र तयारी गार्मेन्ट चीनबाट आयात गरी आयातकर्ताले उनै भन्सार प्रतिनिधि शरण (सन्तोष) खरेलमार्फत राजश्ववापत जम्मा ४५ लाख तिर्ने घोषणा गरेका थिए । उक्त सामग्री विराटनगर भन्सारको आईसीपीस्थित भन्सार कार्यालयको परिसरमा आइपुगेपछि देव इन्टरनेशनलका प्रतिनिधि एवं भन्सार प्रतिनिधि खरेलले भन्सार कार्यालयमा प्रज्ञापनपत्र दर्ता गराएका थिए ।
यसरी दर्ता भएको प्रज्ञापनपत्र एकाएक रद्द गरि प्रज्ञापनपत्र सिस्टममा इन्ट्री लगत्तै प्रतिनिधि खरेलले डिलिट गराएपछि भन्सार एजेन्ट नम्बर ४२३ र उनका प्रतिनिधि शरण (सन्तोष) खरेललाई किन कार्वाही नगर्ने भन्ने प्रश्न छानविन समितिले महत्वकासाथ उठाएको रहस्य पनि खुल्न पुगेको हो । यसरी भन्सार एजेन्ट र भन्सार प्रतिनिधिको लाखौं राजश्व चुहावट गर्ने योजना सार्वजनिक पछि पनि एजेन्ट निलम्बन र प्रतिनिधिलाई कार्वाही नगरी अहिलेसम्म किन छोडियो भन्ने कुरा रहस्यमय बन्दै गएको भनाई अहिले उठ्न थालेको छ ।