१७ चैत्र २०७९, शुक्रबार
आज मतदान
राजनीति

उपराष्ट्रपति पदका लागि आज मतदान,गठबन्धनको भएन साझा उम्मेदवार

प्रकाशित मिति :  ३ चैत्र २०७९, शुक्रबार ०९:४१


३ चैत, काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज शुक्रबार मतदान हुँदै छ । निर्वाचनमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ ।

उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसंकेत गर्नुपर्नेछ । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ । निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेका छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो । उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ । मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो । हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन रहेका छन् । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।

बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको थियो । तर निर्वाचन आचारसंहिता लगायतका कारण बैठक स्थगित भएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । राष्ट्रपति निर्वाचनमा रास्वापाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो । शुक्रबार १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार छन् ।

मधेशमा वर्चस्व कायम गर्ने यादव र राउतको राजनीतिक लडाइँले उपराष्ट्रपतिमा नौदलीय गठबन्धनबाट साझा उम्मेदवार तय हुन सकेन । अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतको तराई–मधेशमा वर्चस्व कायम गर्ने राजनीतिक लडाइका कारण उपराष्ट्रपतिमा एकल उम्मेदवार बनाउने नौदलीय गठबन्धनको प्रयास अझै सफल भएको छैन । यादव र राउतको टकरावमा दक्षिणी छिमेकीको पनि चासो रहेको नेताहरू बताउँछन ।

गठबन्धनको दल जनता समाजवादी पार्टीले संसदीय दल नेतासमेत रहेका रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाएको छ । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त हुने बारा–२ बाट उपनिर्वाचनमार्फत संसद् प्रवेश गर्ने योजनामा पार्टी अध्यक्ष उपेन्द्र यादव रहेका छन् । उनलाई रोक्ने लक्ष्यका साथ गठबन्धनको अर्को दल जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको छ । उनको उम्मेदवारी दर्ताका बेला समर्थन गरेका लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले यादवलाई नै मत दिने देखिएको छ ।


182
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा