लक्ष्मण रेखामा फसेका ओली
नेपालबहस संवाददाता
बैशाख २६, २०७७ शुक्रबार १६:४६:६
यज्ञप्रसाद भट्टराई
नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को आन्तरिक विवाद फेरि भँडारबाट आँगनसम्म आईपुगेको छ । बिगत दिनहरुमा देखिएका समस्याहरुलाई थामथुम पार्न सफल बन्दै आउनु भएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीका लागि अब आउने दिनहरु भने आफ्नै दलभित्र फलामको च्यूरा बन्ने देखिदैंछ ।
नेकपा भित्रकै अर्का पाईलट तथा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) बिनानेतृत्व लामो समय पार्टीमा रहनु पर्दाको नैरास्यताले पानी बिनाको माछा भैरहेको अवस्था र फेरि नेतृत्वमा फर्कन केही आफ्ना पक्षका नेता तथा कार्यकर्ताहरुको चर्को दवाबका कारण प्रचण्ड पनि बेग्लै दवाबमा देखिन्छन् । अचानो र खुकुरीको अनौठो मिलनको पर्दाफास बिस्तारै हुन थालेको र तात्कालिन दुबै पार्टीहरुको एकिकरण रहर नभई बाध्यता भएको दुबै पक्षले स्वीकारी सकेका छन् ।
पूर्वनेकपा एमालेलाई जसरी पनि र जे गरेर भए पनि सत्तारोहण गर्न आतुरता थियो भने पूर्वमाओवादी केन्द्रलाई चुनावबाट बढारिने डरले कसैसँग चुनावी एकता वा दलगत एकिकरण गर्न हतारो थियो । यसलाई नेकपा एमालेका वरिष्ठ नेता बामदेव गौतमले सहज बनाई दिए । देशकै शक्तिशाली अवस्थामा देखिएका दुबै कम्युनिष्ट पार्टीको एकिकरणले आम नेपालीमा एउटा बेग्लै राजनैतिक तरंग ल्याई दियो । सर्वहारा वर्गको लामो नेतृत्वकर्ता दलहरुको एकिकरणले गरिबका लागि केही नयाँ र नौलो आशाका त्यान्द्राहरु देखिनु स्वभाविक नै थियो ।
त्यही आशा र भरोसाका साथमा आम नेपाली जनताले अति नै उत्साह र अलौकिक सहभागिताका साथ दलगत समिकरणका दुबै दलका उम्मेदवारलाई एउटै चुनाव चिन्हमा मतदान गरे । पार्टी एकिकरणको प्रभाव जनतामा राम्रै तवरले परेको देखियो । तात्कालिन नेकपा एमाले र माओवादी केन्द्रले झण्डै दुई तिहाई नजिकको बहुमत प्राप्त गरे । दुबै दलको आन्तरिक संझौता बमोजिम केपी शर्मा ओली सरकारको नेतृत्व गर्दै दोश्रो कार्यकालका लागि मुलुकको प्रधानमन्त्री बने । पार्टी एकीकरण हुँदाका दुबै दलका आन्तरिक सम्झौता भने उनीहरुका लागि अहिले पनि बाँदरको घाउ बनिरहेको देखिन्छ । कहिले कोट्याउने त कहिले मल्हम लगाउने प्रबृत्तिले जनतामा पार्टी एकिकरणको विश्वासिलो वातावरण अझैसम्म बन्न नसकेको देखिन्छ ।
हिजोका जनवादी गीत गाएर, सुनेर, त्यसैलाई आपनो राजनैतिक धर्म बनाएर आपनो जीवनका दशकौं गृष्म र बर्षा ऋतु पार गरेका नेपाली बामआन्दोनका भुक्तभोगीहरुले अब मुलुकमा केही देखिने परिवर्तन हुन्छ भन्ने आशा तथा विश्वास लिएका थिए । समानता र सम–बिकासका पक्षपाती कम्युनिष्ट पार्टीका बिचारहरु अनि तिनै बिचारहरुलाई परिपूर्ति गर्ने सोही अनुरुपका सरकारका नीति र सिद्धान्तहरु आउने आशालेसमेत आम नागरिकलाई आशावादी बन्न हौसाएको थियो ।
तर जबजब सरकारले जनताका पक्षमा भन्दा घर कुरुवा र धन चोरुवाहरुका पक्षमा मात्रै काम गर्न थाल्यो, जब सिंगो मुलुकमा एकपछिका अर्का घिनलाग्दा काण्डहरु जनताका मझेरीमा छताछुल्ल हुन थाले तिनै दललाई मतदान गरेर हौसिएका नागरिकहरु सरकारका बिरुद्धमा धारे हात लगाउन थाले । सरकार गठन हुँदाको जनसमर्थनलाई सरकारले धेरै लामो समयसम्म निरन्तरता दिन सकेन । प्रधानमन्त्रीका केही गलत सल्लाहकार तथा लोभी भँडारेहरुका कारण सरकार बदनामीको मार्गतर्फ अगि बढ्यो । अझ सरकारले लिएका केही गलत गतिविधिहरुका कारण सरकार बिस्तारै बदनामी कमाउनतर्फ अग्रसर भयो ।
आफ्नै दलभित्रका फरक दलका नेताका जस्ता व्वयहारका कारण पनि सरकारलाई बदनाम गराउन थप मलजल प्राप्त भयो । सरकारले पनि यो दुई बर्षको अवधिमा जनताका पक्षमा प्रभावकारी काम गर्न भन्दा केही लोभलाग्दा काण्डहरु सम्पन्न गर्न भ्यायो । यसले पनि सरकारलाई आफ्नै कारण थप बदनामीको अवसर प्राप्त भएको देखियो । कहिले वाईडबडी काण्ड, कहिले निर्मला पन्त बलात्कार काण्ड, कहिले मिडिया बिधेयक काण्ड, कहिले सिण्डीकेट काण्ड, कहिले गुठी बिधेयक काण्ड, कहिले सुनलाई पित्तल बनाउने काण्ड, कहिले गोकर्ण रिसोर्ट काण्ड, कहिले ७० करोड घुसकाण्ड, कहिले जन्मोत्सवमा हेलिकप्टर र हजारौलाई साडी वितरण काण्ड, कहिले फोर जी कमिशन काण्ड, कहिले एनसेल कमिशन काण्ड, कहिले कोरोनाको औषधि खरिदमा भ्रष्टाचार काण्ड, कहिले के काण्ड कहिले के काण्ड हुदैं अध्यादेश काण्डसम्म आईपुग्दा सिंगो नेकपाभित्र धेरे नै दरार परिसकेको अवस्थामा सतहमा समस्याहरु पोखिए ।
आफ्नै सरकारको बिरोध गर्न पाउँदा हौसिएका दैत्यहरुलाई सरकारको बदनाम गराउनुमा नै असी प्रतिशत अंक आउनु स्वभाविक हो । सिंगो सरकारले गरेका कामहरुको बिरोध एक्लो प्रधानमन्त्रीलाई बोकाएर वर्तमान नेकपा पार्टी पंक्तिले वास्तवमै केपी ओली प्रति अन्याय नै गरिरहेको देखिन्छ । केही भ्रष्ट पूर्ब तथा बर्तमान मन्त्रीहरुका बोली र ब्यवहारका कारणसमेत बदनाम बन्नुपरेका प्रधानमन्त्री ओली अहिले आप्mनै दलको लक्ष्मण रेखाबाट बाहिर निस्कन नसक्ने गरी फसेका छन् ।
आफ्ना बिरोधीहरुलाई कुनैपनि कुरा राख्दा स्पष्ट र चोटिलो व्यङ्यबाण प्रहार गर्न सक्ने ओलीलाई अहिले आफ्नै दल भित्रको लज्जावतीको काँडाले नै उठनै नसक्ने गरी घोचिरहेको छ । २५ गते बस्ने भनिएको पार्टीको स्थायी कमिटी बैठक स्थगित भएपछि तमाम नेकपाका नेता तथा कार्यकर्ताहरु एकाएक रुष्ट तथा आक्रोसित बनेका समाचारहरु बजारमा छ्याछ्याप्ती आउन थालेका छन् । वरिष्ठ नेता माधव नेपाल पक्षधर तथा प्रचण्ड पक्षधर स्थायी समिति सदस्यको भेलाले पार्टीको स्थायी समितिको बैठक तत्काल बोलाउन दवाब दिईरहेका छन् । यसले प्रधानमन्त्री ओलीलाई थप दवावमा पार्ने निश्चित छ ।
बुधबार दिउँसो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली एकाएक आराम गर्न भनि उठेर हिँडेपछि स्थायी समितिमा छलफलका लागि प्रस्तुत हुने एजेण्डाहरु सचिवालय बैठकले पारित गर्न सकेन । यसै कुरालाई थप मजबुत बनाउन बिहिबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेताहरुको अनौपचारिक भेलाले नेकपाका अध्यक्ष ओली तथा प्रचण्डलाई भेटेरै स्थायी समितिको बैठकका लागि दवाव दिने निर्णयमा पुगे । यसले नेकपाभित्रको भुसको आगो अब बाहिरै दन्किने अवस्थामा देखिँदैछ । यसले देशमा ठूलै राजनैतिक तरंग ल्याउन सक्ने अनुमान गरिएको छ ।
संसदको बर्षे अधिवेशनको आब्हानसहित बजेट तर्जुमामा तल्लिन हुनुपर्ने समयमा सरकार सञ्चालन गरिरहेको दलभित्रको घर झगडाले देश विकासमा भन्दा पनि ब्यक्तिगत फाईदा र नेता केन्द्रित बजेट बिनियोजनको अवस्था देखिने निश्चित छ । बिगत बर्षहरुमा बजेट बिनियोजन गर्दा समेत आप्mनै दलका सांसदहरुको ब्यापक बिरोध र चर्को आलोचना ब्यहोरेका प्रधानमन्त्री र सिंगो सरकारका लागि अविश्वासको प्रस्ताव समेत फेस गर्नुपर्ने अवस्थासमेत आउन सक्ने संभावना भएकोले यो अधिवेशन फलामको च्यूरा हुने निश्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
नागरिक पहिलो अभियानकाे गैर दलीय राजनीतिक अभियान बारे
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार