शुक्रबार शेखर कोइरालाको पत्रकारहरुसँंग बसिबियाँलो !
केदार भट्टराई (काका)
भदौ २३, २०८० शनिबार १२:५८:१५
२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले शुक्रबार पत्रकारहरुसँग मुलुककाबारेका गुनासो सुनाए । अहिलेको अराजकता र जनतामा देखिएको निराशा हटाउन कांग्रेस नेतृत्वमा सरकारबन्नुपर्ने आवश्यकत्ता औंल्याए । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने तयारीमा रहेको समयमा कोइरालाले पत्रकारहरुलाई बोलाएर मुलुकको नेतृत्व कांग्रेसले नगरी नहुने अवस्था देखिएको बताए ।
सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्ने केही कारणहरु पनि उनले प्रस्तुत गरेका थिए । आफूले सभापति शेरबहादुर देउवासँग पनियो विषय राखेको बताए । कांग्रेसको नेतृत्वमा सरकार बने अहिले देखिएको अराजकता हटेर जाने भन्दै उनले कांग्रेसले ९ मन्त्रालय लिएर सरकारमा गएपनि जनता र कार्यकर्तालाई सरकारमा भएको अनुभूति नभएको बताए । अहिलेकै गठबन्धन निरन्तर रहने गरी कांग्रेसले सरकारको नेतृत्व लिन सक्छ, उनले भने ।
प्रधानमन्त्री को भन्ने विषय छ, संसदीय दल नेता सभापति देउवा नै भएकोले उहाँ नै प्रधानमन्त्री बन्ने हो । संसदीय दल नेता परिवर्तनका कुरा पनि आएका छन् तर त्यो परिस्थिति आइसकेको छैन । सरकार परिवर्तन हुनुपर्छ र कांग्रेसकै नेतृत्वमा भनेर मैले भनिराखेको छु । तर अहिले नै सरकार परिवर्तन हुने परिस्थिति बनिरहेको छैन् । जनता बढी निरास भएका छन् । जनताले भोली नराम्रो परिस्थिति ल्याउन सक्छन् । यसका लागि कांग्रेस सचेत हुनुपर्छ, कोईरालाले भने ।
उनले केहि दिन अघि प्रधानमन्त्रीलाई भेटेको कुरा सुनाए । ‘मैले केही दिनअघि प्रधानमन्त्रीजीसँग भेटेको थिएँ । विभिन्न विषयबारे कुराकानी भए । ललिता निवास जग्गा प्रकरणजस्ता विषय पनि उठ्यो । यसमा प्रधानमन्त्रीजीले भन्नुभयो, माधव नेपाल र बाबुराम भट्टराईको बयान त लिएँ नि । मैले प्रश्न गरे, बयान लिनुभयो ? मलाई त थाहा छैन । सिआइबीका मानिस उहाँहरूका निवासमा गए होलान्, कुराकानी गरे होलान्, त्यसलाई बयान भन्न मिल्छ र? बयान लिन त उहाँहरूलाई सिआइबीमा झिकाउनुपर्याे, सरकारी वकिलको उपस्थितिमा बयान हुनुपयो ।’
उनले अदालतले सबै बिगारिदिएको भनेर प्रधानमन्त्रीजी भनेको बताए । मैले भने, सरकारले गलत गयो भने अदालत एक्टिभ भइहाल्छ नि, तपाइहरू गलत नगर्नुस्, संविधानअनुसार चल्नुस् । अनि अदालतले हस्तक्षेप पनि गर्दैन । देशमा दण्डहीनता बढेको छ, कुनै पनि कुरा ठिक ठाउँमा छैन भनेर प्रधानमन्त्रीजीलाई भनेको थिए, उनले भने ।
कोइरालाले आफू सभापति भएपनि नभएपनि सुशासनका पक्षमा वकालत गरिहने बताए । एक्लै भए पनि यो अभियानमा लागिरहने र जिल्ला–जिल्ला गएर पार्टीका साथीहरू र जनताहरूसँग कुराकानी गर्ने बताए । अहिले संघीयता चल्दैन भन्ने मानसिकता देखिएको भन्दै कांग्रेसकै कतिपय नेताहरुले संघीयता काम छैन भनिरहेको उनले बताए । केन्द्रमा बस्नेले अधिकार नदिने अनि संघीयता काम छैन भन्ने जस्ताकुरा वेठिक भएको भन्दै उनले आफू संघीयता अझै बलियो हुनुपर्छ भन्नेमा रहेको बताए ।
उनले सञ्चार माध्यमहरूमा पार्टीको गुटलाई धेरै महत्व दिएको हो कि जस्तो आफूलाई लागेको बताए । पार्टीको आन्तरिक जीवनमा असमझदारी हुने भएपनि विभाग गठन, भ्रातृ संस्थालगायतमा पनि कांग्रेस पार्टीभित्र केही असमझदारीजस्ता देखिएको उनले बताए । विधि र विधानअनुसार चलिएन भने यस्तो अवस्था देखिन्छ, भ्रातृ संस्थाका सभापतिले जिल्ला सभापतिसँग समन्वय गरी ३ जनाको नाम मागेर तीमध्येबाट जिल्ला नेतृत्व चयन गर्ने समझदारी बनेकोमा त्यो उल्लंन भएपछि आफूले ध्यानाकर्षण गराएको उनको भनाइ छ ।
आफूले कुनै विभाग नमागेको र विभाग प्रमुख कसलाई बनाउने भन्ने सभापतिको अधिकार भएको भन्दै विधानले नै सभापतिलाई यो अधिकार दिएको बताए । उनले भने, ‘शेखर र गगनबीच असमझदारी भएका विषय आइरहेको देख्छु । हामीबीच त त्यस्तो केही छैन । सुशासनजस्ता एजेन्डामा हामी एकै ठाउँमा उभिएका छौं । कहिलेकाहीँ कुनै विषयमा म र गगनबीच पनि फरक मत हुन सक्छ । तर एजेन्डामा म र गगन एकै ठाउँमा छौं ।’
कोइरालाले आफू सभापतिको उम्मेदवार भएको बताए । पार्टी विधानअनुसार चार वर्षमा महाधिवेशन हुनुपर्छ । ०७८ मंसिरमा महाधिवेशन भएकोले अब १५ औं महाधिवेशन ०८२ भित्रै हुनुपर्छ । क्रियाशील सदस्यता छानबिन समितिमा महामन्त्री गगनजी नै हुनुहुन्छ, यसकारण समयमै महाधिवेशन हुन्छ भन्ने हाम्रो विश्वास छ । महाधिवेशन आउन अझै धेरै समय छ । समय छँदै मानिसहरू सभापतिका लागि दौडिएका छन् । यो देखेर मलाई अचम्म लागेको छ, उनले भने ।
समाजवादी मोर्चा गठनप्रति पनि उनले टिप्पणी गरे । ‘नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपाल कम्युनिष्ट पार्टी मिलेर समाजवादी केन्द्र बनाएका छन् । यो केन्द्र बनाउनुको उद्देश्य कांग्रेसलाई ठेगान लगाउनु हो भन्ने प्रष्ट छ । यसबारे साउनमा बसेको केन्द्रीय समिति बैठकमा मैले कुरा राखेको थिएँ । तर ’हामीलाई नै जानकारी दिएर प्रचण्डजीले समाजवादी केन्द्र बनाएको हो भन्नेजस्ता जवाफ पाएँ ।’ यो केन्द्र कांग्रेसलाई ठेगान लगाउन बनाएको हो भन्ने म पुष्टि गरिदिन सक्छु ।
कांग्रेसबाट अहिलेको सरकारमा ९ जना मन्त्री रहेको र आफूले मन्त्रीहरूसँग कुराकानी गरिरहेको बताएँदै उनले मन्त्रीहरूले छानेको सचिव राख्न पाइएन भन्ने गुनासो बताए । कांग्रेसका मन्त्री भएका ठाउँमा प्रधानमन्त्रीीले नेकपा एमालेनिकट सचिवहरू पठाइदिएको दावी गरे । उनले भने, ‘मन्त्रीहरूले काम गर्न सक्ने स्थिति नै छैन । मन्त्री निरीह छन् । पेट्रोल हाल्ने पैसा पनि छैन रे मन्त्रालयमा । जनतालाई आशा जगाउँदै काम गर्नुपर्ने मन्त्रीहरू यस्तो समस्यामा छन् । मन्त्रीहरूले आफूनिकटलाई मन्त्रालयमा राख्न सकेका छैनन्, विभिन्न नियुक्तिमा पहिले नै कोही माओवादी त कोही एमालेका मानिसले नियुक्ति लिएका छन् ।’
उनले आफूले प्रचण्ड नेतृत्वको सरकार परिवर्तन हुनुपर्छ र कांग्रेसकै नेतृत्वमा अबको सरकार बनाउनुपर्छ भनेर निरन्तर भनेको स्मरण गराए । तर, अहिले नै सरकार परिवर्तन हुने आफूले नदेखेको उनको भनाई थियो । उनले भने,‘अहिले जे–जसरी अघि बढेका छौं, त्यसले त प्रचण्डजीलाई धेरै नै सहज बनाइदिएको छ। उस्तै परे उहाँ नै ५ वर्ष प्रधानमन्त्री हुन बेर छैन ।’
मुलुक अराजकतातिर जाँदैछ भन्ने आफूलाई धेरै चिन्ता लागेको उनले सुनाए । देशमा अहिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक केही कुरा पनि ठिकसँग चलेको छैन । मुलुक अराजकतातिर जाँदैछ । हुँदाहुँदा कुटनीति पनि अराजक हुन थाल्यो । चुच्चे नक्साको विषय अहिले फेरि चर्चामा आएको छ । पहिलेका र अहिलेका परराष्ट्र मन्त्रीले यसबारे फरक–फरक कुरा राखेका छन्, चुच्चे नक्साको नोट अरू देशहरूलाई पठाइयो कि पठाइएन भन्ने बारेमा, उनले सुनाए ।
कोशीमा नामाकरणदेखि नै विवाद सिर्जना भएको भन्दै कोइरालाले केही सांसदहरूले जानीय हिसाबबाट नाम राख्नुपर्छ भनेका थिए तर अधिकांशले कोशी राख्ने भनेर कोशी नाम राखिएको बताए । कोशी पनि सम्यताको एक परिचय हो भन्ने दर्शाइएको थियो, उनले भने, ‘यो विषय केही सेलाएको थियो अरू विषय आयो– गोरू काटेर खाएको, मन्दिरनजिकै चर्च बन्न दिइयो भन्नेजस्ता । फेसबुक र टिकटकमा भिडिओ क्लिप आयो गोरू काटेर खाएका विषय । यसमा कतिले गाली गरेका थिए, के–के भनेका थिए । संयोगले म त्यसबेला विराटनगरमै थिएँ । म धरान पनि गएँ । साथीभाइहरूसँग कुराकानी गरे । धरानमा देख्दा धार्मिक लडाइँ जस्तो देखिए पनि त्यो जातीय लडाइँ हो कि जस्तो धरान पुगेपछि मलाई लाग्यो ।’
यसमा झिल्को दिने काम प्रधानमन्त्री प्रचण्डजीको अभिव्यक्ति भएको उनले बताए । आदिवासी जनजाती दिवसमा प्रधानमन्त्री प्रचण्डले बहुमत देऊ, जातीय राज्य दिन्छु’ भन्ने अभिव्यक्ति दिएको भन्दै कोइरालाले एउटा पार्टीको अध्यक्षले यस्तो बोलेको भए ठिकै थियो । तर, तर प्रचण्ड अहिले मुलुकको प्रधानमन्त्री भएकाले प्रतिक्रिया दिनुपरेको बताए ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपवर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव छैन : नेता कोइराला
बैशाख १६, २०८१ आइतबार
बझाङमा १५९३ मतसहित एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार