‘मर्निङ वाक’मा पनि हात्तीकै त्रास
नेपालबहस संवाददाता
कात्तिक ५, २०८० आइतबार १४:१५:४५
♦ चन्द्रकला भण्डारी
५ कात्तिक, झापा । झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जान्थे । एकदिन घरबाट दुई सय मिटर टाढा पुग्नासाथ जङ्गली हात्तीसँग जम्काभेट भयो । जङ्गल छेउको एकान्तमा एक्लै भएको अवस्थामा उनी हात्तीको आक्रमणमा परे । उनको दमकको एडभान्स हस्पिटलमा उपचारकै क्रममा उनको मृत्यु भयो ।
झापामा भारतबाट समूहमा आउने हात्ती र स्थानीय जङ्गललाई बासस्थान बनाएका रैथाने गरी दुई किसिमका जङ्गली हात्तीको त्रास छ । मेची नदी पार गरेर दर्जनौंको सङ्ख्यामा भित्रिने जङ्गली हात्ती रातभर खेतीपाती चरेर विहानको उज्यालो नहुँदै भारततिर फर्किन्छन् । तर, रैथाने हात्ती विहान अबेरसम्म स्थानीयको खेतबारीमा चरिरहेका हुन्छन् ।
एक दर्जनभन्दा बढी सङ्ख्यामा रहेका रैथाने हात्तीका कारण ‘मर्निङ वाक’ त्रासमय हुने गरेको छ । “विहानै सडकमा हात्ती हिँड्दै गरेका हुन्छन्, मर्निङ वाक गर्न पनि डराउने अवस्था आयो”, मेचीनगर–१० धुलाबारीका गङ्गाधर पराजुलीले सुनाए ।
‘मर्निङ वाक’ मात्र होइन, विहान सडक आसपास फूल टिप्न हिँड्ने चलन पनि हात्तीकै कारण घट्दै गएको छ । हालै धुलाबारी बजारभित्रै बगैँचामा फूल टिपिरहेका बेला जङ्गली हात्तीको आक्रमणमा परी ८० वर्षीया पानालाल देवी साहको घटनास्थलमै मृत्यु भयो ।
‘मर्निङ वाक’ गर्ने, च्याउ र निगुरो टिप्ने र घाँस र दाउरा सङ्कलन गर्ने मानिसहरु हात्तीको आक्रमणमा पर्ने गरेका छन् । झापाको जङ्गलमा टिपेको च्याउ र निगुरो बेचेर जीविका चलाउनेहरु धेरै छन् ।
पूर्वपश्चिम राजमार्गको चारआली जङ्गल खण्डमा दिनहुँ ५० भन्दा बढी महिला तथा बालबालिका निगुरो र च्याउ बेच्न बस्ने गरेका छन् । उनीहरु एकाविहानै घना जङ्गलभित्र पसेर निगुरो र च्याउ सङ्कलन गर्छन् र सडक किनारमा पसल थाप्छन् ।
निगुरो र च्याउ खोज्ने मानिसहरु हात्ती आक्रमणको जोखिममा छन् । जङ्गल पार गरेर सडकमा आउनुपर्ने र एकाविहानै जङ्गलभित्र ती वस्तु खोजी गर्नुपर्ने भएकाले उनीहरु कुनै पनि बेला हात्तीको निशानामा पर्न सक्छन् ।
हात्ती नियमित हिँड्ने बाटोमा चारआलीको निचाझोडा र जलथल वनसहित दर्जनौं सामुदायिक वन क्षेत्र छन् । मेचीनगर, अर्जुनधारा, बुद्धशान्ति, विर्तामोड, भद्रपुर, हल्दिबारी, बाह्रदशी, कनकाई, शिवसताक्षीलगायतका क्षेत्रमा पनि हात्ती भेटिन्छन् ।
स्थानीय शिक्षक रञ्जित परियारका अनुसार निगुरो र च्याउ खोज्ने चारआली जङ्गल हात्तीले बाहुनडाँगीदेखि जलथलसम्मको पचास किलोमिटर विचरण गर्ने मुख्य बाटो मै पर्दछ । “दिनहुँजसो हात्ती यताउता हिँडिरहेका हुन्छन्, मानिसहरु ज्यान जोखिममा पारेर च्याउ र निगुरो टिपिरहेका हुन्छन्”, उनले भने, “हात्ती जङ्गलमा छ कि छैन भन्ने थाहा हुने कुरा भएन । ‘साइरन’को व्यवस्था पनि छैन ।”
डिभिजन वन कार्यालय झापाले हात्ती विचरण गर्ने जङ्गल आसपास सर्वसाधारणको सतर्कताका लागि सूचना पाटी राखेको छ । कार्यालयले हात्तीलाई नजिस्काउन, नजिक नजान र नमार्न स्थानीयलाई चेतावनी दिए पनि घाँस, दाउरा, च्याउ र निगुरोको सङ्कलन स्थानीयको जीविकासँग जोडिएका कारण जोखिम बढेको छ ।
भद्रपुर नगरपालिका वडा नं. ७ का गिरेन कर्मकार हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा मारिए । दमक वडा नं. ३ का कमैया राई हम्सेदुम्से सामुदायिक वनमा हात्तीको आक्रमणमा मारिए ।
वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत अभियन्ता शङ्कर लुइँटेल जङ्गली हात्ती सामान्यतया आफू खतरामा परेको महसुस गरेपछि मात्रै आक्रमणमा उत्रिने बताउँछन् । हात्ती आहारा खोज्दै मानिसको बस्ती, खेतबारी र सहरतिर जाने गरेको हुँदा उसको लक्ष्यमा बाधा महसुस गरेपछि आक्रामक हुने गरेको उनको भनाइ छ ।
“मानिस र हात्तीको हिँड्ने र जीवन धान्ने क्षेत्र एउटै हो,” अभियन्ता लुइँटेलले भने, “हात्तीका लागि जङ्गलमा आहारा छैन । त्यसो भएकाले हात्तीहरु मानव बस्ती र खेतबारीसम्मै आइपुग्छन् । बालीनाली जोगाउने मान्छेको प्रयास र जसरी पनि बाली खाएर पेट भर्नुपर्ने हात्तीको बाध्यताका कारण मानव–हात्ती द्वन्द्व चर्किएको हो ।”
डिभिजन वन कार्यालय झापाको तथ्याङ्कअनुसार विगत एक दशकमा झापामा हात्तीको आक्रमणमा ६० जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार