काभ्रेमा बर्सेनि सुन्तला उत्पादनमा गिरावट, किसान चिन्तित
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार १५:३७:५२
८ पुस, काभ्रेपलाञ्चोक । यहाँ बर्सेनि सुन्तला उत्पादनमा गिरावट हुँदै आएको पाइएको छ । पछिल्ला केही वर्षदेखि जिल्लामा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा गिरावट हुँदै आएको कृषि ज्ञानकेन्द्र धुलिखेलले जनाएको छ ।
यस वर्ष पनि उत्पादनमा गिरावट हुने प्रक्षेपण गरिएको केन्द्रका कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताए । उनका अनुसार रोग–कीराका कारण केही वर्षयता लगातार सुन्तला उत्पादनमा दुई प्रतिशत हाराहारीमा गिरावट हुँदै आएको तथ्याङ्कले देखाएको छ । केही वर्षअघिसम्म काभ्रेपलाञ्चोकमा बर्सेनि सात हजार मेट्रिकटन सुन्तला उत्पादन हुँदै आएको थियो ।
जिल्लाको करिब एक हजार दुई हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिकरुपमा खेती हुँदै आएको आएको छ । गतवर्ष छ हजार पाँच सय १४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । “यसवर्ष पनि सुन्तला उत्पादनमा केही प्रतिशतसम्म कमी आउने प्रारम्भिक अनुमान गरेका छौँ”, महतले भने। विसं २०७२ को गोर्खा भूकम्पपछि निरन्तर सुन्तला उत्पादनमा ह्रास हुँदै आएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।
विशेषगरी सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएका धुलिखेल र पनौती नगरका केही क्षेत्रमा यसवर्ष पनि सुन्तला उत्पादनमा गिरावट आउने प्रक्षेपण गरिएको महतले बताए । “हामीले ती नगरका कृषि शाखाबाट जानकारी लिँदा विगतका वर्षभन्दा कमी नै उत्पादन भएको देखिएको जानकारी गर्नुभएको छ”, उनले भने । उनका अनुसार उत्पादनका क्षेत्र बढाइए पनि उत्पादनमा भने कमी आइरहेकाले विशेष अनुसन्धानका लागि सरोकारवाला निकायमा फसल परीक्षणका लागि पठाइएको छ ।
सुन्तलामा लाग्ने विविध रोग निराकरणमा किसान र कार्यालयबीच समन्वय नहुँदा समस्या उत्पन्न हुँदै आएको जनाइएको छ । महतले भने, “किसानले फलका बिरुवा रोपेपछि खासै ध्यान दिएको पाइँदैन, यसकारण विविध रोगले अक्रमण गरेपछि निराकरणमा समस्या उत्पन्न हुन्छ, जसका कारण उत्पादनमा कमी हुँदै जाने हो, अन्य कारण पनि खोज्दैछौँ ।”
यसैबीच विविध रोगका कारण सुन्तला उत्पादनमा आएको गिरावटका कारण जिल्लाका किसान चिन्तित देखिएका छन् । काभ्रेपलाञ्चोकको मुख्य उत्पादनको पकेट क्षेत्र पनौती नगरपालिका–१० पस्थलीका किसान प्रेमबहादुर तामाङले उत्पादनमा कमी हुँदै गएपछि अब सुन्तला बगैँचा फाँड्नुको विकल्प नभएको बताए ।
“अब सुन्तलाको बगैँचा काटेर तरकारी लाउनुकोे विकल्प छैन, हामीले यही बगैँचाबाट वार्षिक रु चार लाखसम्मको सुन्तला बेचेका थियौँ, तर अहिले रु एक लाख पनि पाउन मुस्किल हुने भयो”, उनी भन्छन् । विगत केही वर्षदेखि रोगकै कारण सुन्तला उत्पादनमा कमी आएको उनको अनुभव छ ।
यस्तै धुलिखल–१० शङ्खुका किसान शिवप्रसाद आचार्य सुन्तलाको उत्पादनमा कमी आएपछि आयस्रोतको अरु विकल्प खोज्नुपर्ने वाध्यता हुँदै गएको बताउछन् । उनका अनुसार सुन्तलाका बोट कुहिने, सुक्ने तथा फलेको सुन्तला पनि रसिलो नहुने जस्ता समस्या देखिएपछि उत्पादनमा कमी हुँदै गएको हो ।
रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि केन्द्रले प्राविधिक सल्लाह तथा आवश्यक औषधि र चुन वितरण गर्ने गरिएको अधिकृत महतले बताए । उनका अनुसार गत वर्षसम्म जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको थियो । यसका कारण बोटमा रहेका सुन्तलामध्ये १० प्रतिशत कुहिएर झर्ने गर्छन् ।
जिल्लाभर समस्याकैरुपमा सुन्तला खेतीमा फैलिएको औँसाको नियन्त्रण गर्न एक÷दुई किसानले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या समाधान गर्ने अभियानकैरुपमा लाग्नुपर्ने आवश्यकता देखिएको बताइन्छ । सुन्तलाजन्य जुनार, मौसम, भोगटे, निबुवा, विमिरो, कागती, ज्यामिरलगायत फलफूलमा यो रोगको सङ्क्रमण फैलिएको हो ।
रोग सङ्क्रमित भएर बोटबाट झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसले गर्दा प्रकोप नियन्त्रण बाहिर जानसक्ने खतरा रहेकाले झरेका फललाई व्यवस्थितरूपले व्यवस्थापन गर्न आवश्यक रहेको सापकोटाको भनाइ छ । “सुन्तला उत्पादनमा गिरावट हुनु रोग नै प्रमुख कारण हो”, महतले भने । काभ्रेपलाञ्चोकको नमोबुद्ध, पनौती, शङ्खु, बल्थली, सारदाबतासे, कुशादेवी, ¥याले, पस्थली र खरिबोट लगायतका स्थान सुन्तला उत्पादनका पकेटक्षेत्र हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार