रौतहट फतुवाकी कावा मेयरको गुनासो, ‘अनपढ भनेर प्रमुख प्रशासकीय र लेखा अधिकृतले फसाउन खोजे’
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १४:३१:१४
•सञ्जय मिश्रा
१४ चैत, रौतहट । रौतहटको फतुवा विजयपुरकी कार्यवाहक मेयर अम्बेया खातुनले आफूलाई अनपढ भनेर कर्मचारीले फसाउन खोजेको आरोप लगाएकी छन् । केही दलका नेता र नगरकै जनप्रतिनिधिको इसारामा आम्दानीभन्दा बढी खर्चमा हस्ताक्षर गराई कर्मचारीले आफूलाई फसाउन खोजेको मेयर खातुनले बताएकी छन् । नवौं नगर सभाको निर्णय विपरीत भएकाले आफूले कोष तथा लेखा नियन्त्रण कार्यालय गौरबाट रकम निकासा गर्ने सहमति नदिएको उनको भनाइ छ ।
उनले आन्दोलनरत शिक्षकलाई तलब खुवाउने बहानामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत मिलेर नगरसभाको निर्णय विपरीत रकम निकासा गराई नियतबस आफूलाई फसाउन खोजेको दाबी गरिन् । केही समयअघि सम्पन्न नवौं नगरसभाले फतुवा विजयपुरको सम्पूर्ण ११ वटै वडा अध्यक्षहरूलाई ४१ लाखको दरले विकासको सिलिङ वितरण गर्ने निर्णय गरेको थियो ।
तर प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र लेखा अधिकृत नवीन कुमार यादव केही जनप्रतिनिधिको इसारामा वडाको सिलिङ बढाएर प्रत्येक वडामा ७५ लाख देखि ८१ लाख पुर्याएको उनले बताइन् । तलबको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीले तलब पाउनु पर्छ । तर शिक्षकको आन्दोलन देखाएर आम्दानी भन्दा साढे ३ करोड बढी खर्चको सूची तयार पारिएको कारण मेयर खातुनले रेडबुकमा हस्ताक्षर नगरेको जानकारी दिएकी छन ।
प्रदेश सरकार र निजी स्रोतको आम्दानी गरेर कुल १३ करोड ४० लाख रुपैयाँ हुने रेड बुकमा उल्लेख गरिएको छ । यस आर्थिक वर्षमा विभिन्न शीर्षकमा कुल खर्च १६ करोड ९८ लाख हुने रेड बुकमा उल्लेख भएको कारण उक्त रेड बुकमा हस्ताक्षर नगरेको कारण कोलेनिकाबाट रकम निकासा हुन नसकेको उनले बताइन् ।
यस आर्थिक वर्षमा आम्दानी तर्फ संघीय सरकार बाट समानीकरण बजेट ११ करोड १० लाख, प्रदेश बाट सशर्त अनुदान ८० लाख, ६२ हजार, आन्तरिक बाट १ करोड ५० लाख गरी कुल बजेट १३ करोड ४० लाख रहेको उनले बताइन् ।
यस आर्थिक वर्षमा खर्चको लागि तयार पारिएको रेड बुकमा नगरभरीको विद्युत महशुलमा ४ करोड, अघिल्लो बर्षको दायित्व १ करोड ५० लाख, आर्थिक बर्ष २०७९ / ०८० को फिर्ता गर्नुपर्ने ३ करोड ११ लाख र नगरको ११ वटै वडाको बजेट सिलिङ ८ करोड ४९ लाख गरी कुल खर्च १६ करोड ९८ लाख रेडबुकमा देखाइएको कावा मेयर खातुनले बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत उपसचिव प्रधान र लेखा अधिकृत अन्य जनप्रतिनिधिको प्रभावमा परेर मेयरको विकासको बजेट सिलिङ पुर्णरुपले कटौती गरेर वडाको सिलिङ दोब्बर बनाएर आँखामा छारो हाली फसाउने षडयन्त्र गरेको मेयरका श्रीमान महमद सेराजले दाबी गरेका छन ।
कार्यवाहक मेयर त्यति पढेलेखेकी छैनन् भनेर शिक्षक कर्मचारीलाई तत्काल तलब ख्वाउने भन्दै रेडबुकमा हस्ताक्षर गर्न लेखा अधिकृत यादवले भनेपछि आफूले पहिले रेडबुक अध्ययन गरेपछि मात्र मेयरले हस्ताक्षर गर्ने भनेर रोकेको महमद सेराजले बताएका छन ।
पछि रेडबुकको अध्ययन गर्दै जाँदा कर्मचारीहरूको नियत बारे आफूले चाल पाएको सेराजले गुनासो गरेका छन । केही जनप्रतिनिधि र कर्मचारीकै कारण तत्कालीन मेयर गोपाल राय यादव अख्तियार द्वारा दोषी ठहर भएका थिए, त्यो सब जानी जानी कुन हिसाबले आम्दानी भन्दा साढे तीन करोड बढी खर्च देखाइएको रेडबुकमा कार्यवाहक मेयर खातुनले हस्ताक्षर गर्ने सेराजले प्रश्न गरेका छन् ।
गलत गरिरहेका कर्मचारी माथि एकदुई दिनभित्रै कारवाहीको लागि उजुरी दिने र नियमसंगत रूपमा रकम निकासाको लागि पहल गर्ने उनले जानकारी दिएका छन । प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र लेखा अधिकृत नवीन कुमार यादवलाई प्रतिक्रियाको लागि पटकपटक फोन सम्पर्क गर्दा उनीहरू सम्पर्कमा आउन चाहेनन् ।
असार १० गतेभित्र हुनुपर्ने नगरसभा समयमा हुन नसक्दा फतुवा विजयपुर नगरपालिकामा आर्थिक कारोबार ठप्प भएको छ । नगरभरिका शिक्षक कर्मचारी गरी ३५० जनाले गत साउन देखि तलब पाउन नसकेको कारण पटकपटक आन्दोलन गर्दै आएको छन् । लालबकैया नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भएका तत्कालीन मेयर गोपाल राय यादवलाई विशेष अदालतले १५ लाख रुपैयाँ जरिवाना र तीन वर्ष कैदको फैसला गरेपछि उनको पद रिक्त भएको थियो ।
गत आर्थिक बर्षमा तत्कालीन उपमेयर अम्बेया खातुन कार्यवाहक मेयरको जिम्मेवारी पाएपछि बजेटको भागबन्डाको बिषय लिएर उनी र वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्यहरूबीच पटकपटक विवाद हुँदै आएको छ । फतुवा विजयपुर नगरपालिका भएदेखि नै त्यहाँ कार्यरत शिक्षक कर्मचारी तलब पाउनकै लागि बर्षेनी आन्दोलन गर्दै आएका छन् ।
फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधि पूर्ण बहुमतमा रहेपनि एउटै पार्टी बीच एक अर्कालाई असफल बनाउने षडयन्त्र चलेको कारण त्यहाँका सयौं कर्मचारी र हजारौं नागरिकले दुःख पाउनु परेको देखिन्छ । सरकारले शिक्षक तथा कर्मचारीको तलब केन्द्रबाट पाउने व्यवस्था नगरेसम्म फतुवा विजयपुर मात्र नभई मधेश प्रदेशका दर्जनौं पालिकामा कार्यरत शिक्षक कर्मचारी सहज रुपमा तलब पाउने सम्भावना न्यून देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
पहिलो टी २० मा नेपालसँग वेष्ट इण्डिज ४ विकेटले पराजित
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन देखाएर सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न मिल्दैनः कांग्रेस
बैशाख १५, २०८१ शनिबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इलाममा अहिलेसम्म ४९ हजार मत खस्यो
बैशाख १५, २०८१ शनिबार