अब गुणस्तरीय शिक्षामा हामी सबैको अर्जुनदृष्टि रहनुपर्छ : वरिष्ठ नेता डा. शेखर कोइराला
नेपालबहस संवाददाता
बैशाख १, २०८१ शनिबार १५:८:१९
१ वैशाख, काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अब गुणस्तरीय शिक्षामा अर्जुनदृष्टि रहनुपर्ने बताएका छन् । शनिबार नयाँ वर्ष २०८१ को शुभकामना दिँदै वरिष्ठ नेता डाक्टर शेखरले देशमा साक्षरताको दर सम्मानजनक रुपमा अगाडि बढेकोले अब गुणस्तरीय शिक्षामा हामी सबैको अर्जुनदृष्टि रहनुपर्ने बताएका हुन् ।
त्यस्तै जीवनको लम्बाइ पनि विगतको तीस दशकमा झन्डै सत्तरी वर्ष पुग्नु ठुलो उपलब्धि हो, उनले शुभकामना सन्देशमा भनेका छन् 'साक्षरता दरमा देखिएको उत्साहजनक वृद्धिले भविष्यको नेपाल निर्माणको पिल्लर खडा हुँदै गइरहेको आभाष दिलाएको छ ।'
'नेपाल युवाहरूको देश भनेर चिनिन्छ । तर युवाको आन्तरिक र अन्तराष्ट्रिय पलायन भने उच्च रहेकाले गम्भीर हुने बेला भएको छ । राज्य, निजी क्षेत्र, गैरसरकारी संस्था लगायत विकासका अन्तराष्ट्रिय साझेदारी संस्थाको एकीकृत प्रयासबाट तिनको ऊर्जा देशभित्र नै उत्पादनशील क्षेत्रमा लगाउन अब ढिलो गर्नु हुन्न । जनसांख्यिक लाभलाई उत्पादनमा जोड्ने ध्येय र हुटहुटी नभएसम्म नव नेपालको निर्माण सम्भव छैन' नेता कोइरालाले भनेका छन् ।
राज्यका सार्वजनिक संस्थाहरूलाई दलीय राजनीतिबाट मुक्त राख्न नसके नागरिकको दृष्टिमा तीनको उपयोगिता स्थापित गर्न सम्भव नभएको उनले बताए ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
विश्वभरिका नेपालीहरूले मात्र उत्साह र हर्षोल्लासका साथ मनाउने नयाँ वर्ष २०८१ आजबाट सुरु भएको छ । स्वभाविक रुपमा नेपाली समाजको आफ्नै संस्कृति र विशिष्ट स्वरूपलाई चिनाउने नयाँ वर्षलाई यसरी स्वागत गर्न पाउँदा हामी देशभित्र बस्ने र विश्वका कुनै कुनामा भए पनि नेपाली हुनुको गौरव गर्दछौं । भावनात्मक रुपमा एकताबद्ध हुन्छौं । यस पावन घडीमा म देशभित्र र बाहिर बस्ने सम्पुणर् नेपालीहरूलाई नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।
विसं २०८० को शुभकामना दिइरहँदा मैले नेपालमा नयाँ दशक र नयाँ युगको सुरुवात भएर आम नेपालीको जीवनमा खुसीयाली आउनेछ भनी तपाईंहरू समक्ष आफ्नो अभिमत प्रकट गरेको थिएँ । मैले त्यसो भन्नुको मूल कारण, सम्पन्न आम निर्वाचनमा व्यापक रुपले जनताको सहभागिता मार्फत जनप्रतिनिधिहरू स्थानीय तह, प्रदेश र केन्द्रमा चुनिएर आएका थिए । देशमा राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सांस्कृतिक एकता, सुशासन र सामाजिक न्यायको लागि राजनीतिक आधार भूमि निर्माण भएको थियो र छ ।
बितेको साढे तीन दशकमा शासकीय व्यवस्थामा आएको पटक पटकको परिवर्तनले आर्थिक, सामाजिक, भौतिक र सांस्कृतिक विकासलाई अवरोध पुग्दापुग्दै पनि हामीले त्यस क्षेत्रमा प्राप्त गरेको उपलब्धिलाई सन्तोषजनक मान्न सक्छौं । अझ खास गरी सूचना र प्रविधिको क्षेत्रमा विश्व समुदायसँग नागरिक बीचको अन्तरसम्बन्ध बढाएर अगाडि बढ्ने कार्यमा, पर्यावरण र मानवअधिकारको पक्षमा हामी झन्डै एउटै छातामुनि पुग्यौं ।
आज नयाँ वर्ष २०८१ को शुभकामना दिइरहँदा म दाजुभाइ दिदीबहिनीहरुलाई स्मरण गराउन चाहन्छु कि हामीले धेरै हदसम्म ऊर्जाको समस्यालाई सम्बोधन गर्ने हुटहुटी देखाएका छौं । यसको गुणस्तरमा वृद्धि गरेर आम नेपालीले उपभोग गर्न सक्ने गरी सस्तो पार्नु पर्नेछ । देशमा साक्षरताको दर सम्मानजनक रुपमा अगाडि बढेको छ । अब गुणस्तरीय शिक्षामा हामी सबैको अर्जुनदृष्टि रहनुपर्नेछ । त्यस्तै जीवनको लम्बाइ पनि विगतको तीस दशकमा झन्डै सत्तरी वर्ष पुग्नु ठुलो उपलब्धि हो । साक्षरता दरमा देखिएको उत्साहजनक वृद्धिले भविष्यको नेपाल निर्माणको पिल्लर खडा हुँदै गइरहेको आभाष दिलाएको छ ।
नेपाल युवाहरूको देश भनेर चिनिन्छ । तर युवाको आन्तरिक र अन्तराष्ट्रिय पलायन भने उच्च रहेकाले गम्भीर हुने बेला भएको छ । राज्य, निजी क्षेत्र, गैरसरकारी संस्था लगायत विकासका अन्तराष्ट्रिय साझेदारी संस्थाको एकीकृत प्रयासबाट तिनको ऊर्जा देशभित्र नै उत्पादनशील क्षेत्रमा लगाउन अब ढिलो गर्नु हुन्न । जनसांख्यिक लाभलाई उत्पादनमा जोड्ने ध्येय र हुटहुटी नभएसम्म नव नेपालको निर्माण सम्भव छैन ।
आज लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भएको छ । यो आक्रमणलाई निस्तेज पार्ने काम कसैले सक्छ भने त्यो नेपालका राजनीतिक दलहरू नै हुन । राजनीतिक दलहरूमा देखिएको सत्ता लिप्सा र अराजक व्यवहारले हामीलाई नराम्ररी जनताको कठघरामा उभ्याएको छ । राजनीति समाज सेवा हो, राष्ट्र निर्माणको अभियान हो र यो अभियानमा निष्ठावान, नैतिकवान र इमान्दार व्यक्तिहरू किमार्थ पछाडि पर्नु हुँदैन ।
राज्यका सार्वजनिक संस्थाहरूलाई दलीय राजनीतिबाट मुक्त राख्न नसके नागरिकको दृष्टिमा तीनको उपयोगिता स्थापित गर्न सम्भव छैन । हाम्रा संवैधानिक संस्थाहरू मात्र होइन राज्यका सबै जसो सरकारी निकायमा व्यापक सुधारको खाँचो छ । यो सुधार प्रक्रिया अब ढिलो गर्दा लोकतन्त्रमाथिको खतरा बढेर जानेछ । संघीयतालाई सफल पार्न प्रशासनिक र वित्तीय संघीयतालाई इमान्दारीपूर्वक हस्तान्तरणको खाँचो छ ।
अन्तमा, नयाँ वर्ष आगमनसँगै हामी विगतबाट शिक्षा लिएर आगतलाई सच्याउने संकल्प गर्दै अगाडि बढ्नु परेको छ । तब मात्र हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमद्वारा शान्ति र समृद्धिको यात्रा तय गर्न सक्नेछाैं । आमनागरिकको हामी राजनीतिकर्मीसँग त्यही अपेक्षा छ । प्रश्न छ के हामी राजनीतिकर्मी नागरिकको अपेक्षा अनुरूप अगाडि बढ्न तयार छौँ वा बढिरहेका छौँ ?
राजनीतिकर्मीहरूले प्राथमिकतामा सधैँ आफू र आफ्नो दललाई मात्रै राखे । त्यसकारण जनतामा चरम निराशा पैदा भएको छ । जनतामा आएको त्यो निराशालाई आशामा परिवर्तन गर्नुपर्ने आजको पहिलो आवश्यकता हो । अतः एक पटक आफू र आफ्नो दल भन्दा “देश र जनता” माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ ।
देशभित्र आमनागरिक, बुद्धिजीवी, व्यापारी, उद्योगपति, कर्मचारी लगायत सबैले समर्थन गरेकोलाई मात्र अन्तराष्ट्रिय समुदायले विश्वास गर्छन्, देशमा लगानी आउँछ र उत्पादन बढेर रोजगारीको अवसर सृजना हुन्छ । यो ‘इको सिस्टम’ निर्माण गर्न जति चाँडो सम्भव भयो नयाँ वर्षको उमंग र उल्लास त्यति नै दिगो हुन्छ । दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न तबमात्र सम्भव हुन्छ ।
मलाई लाग्दछ अब हामीसँग नागरिकको भावना, विश्वास र भरोसामा खरो उत्रिनुको विकल्प छैन । वर्ष २०८१ बाट हामी सबैले त्यस दिशातर्फ आफूलाई केन्द्रित गरौँ । यो देशमा केही हुँदैन भन्ने भाष्यलाई चिर्दै आमनागरिक, निजीक्षेत्र, राजनीतिकर्मी, कर्मचारीतन्त्रलगायत सबै पक्षले एकता, सहकार्य र संकल्प गर्दै देश विकासमा अगाडि बढौँ र भनौँ हामी राष्ट्र निर्माण गर्न सक्छौं । हामी आम नागरिकको मुहारमा खुशीयाली ल्याउन सक्छौँ । एक पटक फेरि नयाँ वर्षको सबैमा शुभकामना । जय नेपाल ।डा. शेखर कोइराला
२०८१ वैशाख १ गते
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार