६ माघ २०७८, बिहीबार

लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग निर्माण

प्रकाशित मिति :  २९ बैशाख २०७६, आईतवार ०७:५६


म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित माछेखोलामा पदमार्ग निर्माणका लागि तोकिएको लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग बनाएको छ ।

वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० हजार बजेटबाट पदमार्ग बनाउन शुरु गरेका माछेखोलावासीले रू एक लाख ५० हाजारमा सो काम पूरा गरेका हुन् ।

मौवाफाँटको मसिनाचोकदेखि मौवाफाँट हुँदै भगवती जोड्ने मोटरबाटोसम्म माछेखोलाको किनारमा साँघुरो डोरोमा ढुङ्गा चिनेर पदमार्ग बनाइएको उपभोक्ता समितिका अध्यक्ष गोपाल शर्माले बताए । उनका अनुसार छ व्यक्तिले करीब ४० दिन समय खर्चेर पदमार्ग बनाएका थिए ।

सरकारी बजेटले थोरै मात्रै पदमार्ग बन्ने भएको र यसबाट स्थानीयवासीलाई दैनिक आवतजावतमा कठिन हुने भएकाले एक महीनाभन्दा बढी समय लगाएर पदमार्ग बनाइएको अध्यक्ष शर्माले बताए ।

वर्षात्को समयमा खोला बढेपछि माछेखोलाका बासिन्दा जिल्ला सदरमुकाम आउनका लागि समेत घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो । अहिले खोलाको किनारमा परम्परागत रुपमा आवतजावतका लागि प्रयोग गरिँदै आइएको ठाउँमा ढुङ्गा चिनेर पदमार्ग बनाएपछि वर्षात्को समयमा समेत बालबालिकादेखि वृद्धवृद्धासम्म सहजरूपमा आवतजावत गर्न सक्ने भएका छन् ।

खोलाको छेउछाउ पदमार्ग बनाइएकाले खोला तर्नुपर्ने स्थानमा ढुङ्गाकै फड्केसमेत बनाइएको छ । मसिनाचोकमा मोटरबाटोबाट माछेखोलातर्फ जाने स्थानमा भने वारपारका लागि सानो फड्के उपयुक्त नहुने भएकाले थप सहयोग उपलब्ध गराउनका लागि गाउँपालिका र वडा कार्यालयमा अनुरोध गरिएको बताइएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा