fbpx

स्थानीय तहहरुको भूमिकासम्बन्धी सम्मेलन नेपालको लागि महत्वपूर्ण : गृहमन्त्री थापा



नेपालबहस संवाददाता
 




काठमाडौं । विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिकासम्बन्धी दक्षिण एसियाली सम्मेलन सोमबारदेखि काठमाडौं सुरु भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजना उक्त सम्मेलन भएको हो ।सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले सम्मेलन नेपालको लागि महत्वपूर्ण भएको बताए ।

उनले सम्मेनले नेपालको पुनर्निर्माण र उर्जा नीतिलाई थप मजबुत बनाउन टेवा गुग्ने विश्वास व्यक्त गरेका छन् ।सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा २०७२ सालमा गएको भूकम्पपछिको पुनर्निर्माणको उपलब्धीहरु र त्यसको दीगोपनासम्बन्धी विशेष प्रस्तुति दिए ।

ज्ञवालीले विपद्, पुनर्निर्माण लगायतका विषयमा तुलनात्मक रुपमा अनुभव आदान–प्रदान गर्न र भावी रणनीति बनाउन सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजन गरेको जानकारी दिए । सम्मेलनमा नेपालसहित चीन भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु र विज्ञहरुको सहभागिता रहेको छ । सम्मेलन मंगलबारसम्म चल्नेछ ।


सम्बन्धित समाचार