madhav-kp-parchanda-badal
Advertisement

दुईतिहाई समर्थन पाएको प्रधानमन्त्री के पी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकार यति चाँडै यस्तो निरिह र बचाउको अवस्थामा आइपुग्ला भनेर थोरैले मात्र अनुमान गरेको हुनुपर्छ । ओली अहिले साँच्चै ठूलो संकटमा छन् । बाहिर हेर्दा ओली र उनको दल ने क पा सामान्य देखिएपनि दुई अध्यक्षबीचको तिक्तता भित्र–भित्रै भूसको आगो जस्तो भएको छ ।

अहिले पार्टी भित्र र बाहिर दुबै मोर्चामा ओली रक्षात्मक अवस्थामा पुगेका छन् । हिजोका उनका साथ सहयोगी अहिले कट्टर आलोचक भएका छन् । ओलीलाई अकल्पनीय रुपमा सत्ताको सिंढी चढाउने पूर्व माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला सबैभन्दा सशंकित छन् ।

र याे पनि हेर्नुहाेस्… दुईतिहाई सांसदको समर्थनमा पराजित मानसिकताका ओली

गएको दुई साता यताको घटनाक्रम हेर्ने हो भने प्रचण्ड ओलीको सबैभन्दा बढी आलोचना गर्नेमा पर्छन् । कहिले सत्ता हस्तान्तरणको मुद्धा उचालेर ओलीको सातो लिने काम गर्दै छन् त अहिले मन्त्रिमण्डल पुनर्गठनको मुद्धामा ओलीको ध्यान तान्दै छन् । प्रचण्डका हरेक अभिव्यक्ति ओलीका लागि तिखो बाण बनेर घोचिरहेको छ । यतिसम्म त ओलीले पचाउने थिए होलान् तर ने क पा कै वरिष्ठ नेताहरु पनि उनीप्रति कटाक्ष गर्न हच्किएका छैनन् । ओली सरकारको कार्यशैलीप्रति सार्वजनिक रुपमै विमती जनाउन उनीहरु अग्रसर भएका छन् ।

Advertisement

तर ओली भने कसैका कुरा सुन्ने वा मान्ने पक्षमा अझै सहमत छैनन् । बरु साथीहरुप्रति अझै कठोर बन्ने उनको कार्यशैली देखिएको छ । सरकारलाई विपक्षीले प्रहार गर्दा अरिंगाल जस्तो जाइलाग्नु पर्ने उनको सनातनी मान्यता हो । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेताद्धय माधव नेपाल, झलनाथ खनाल र प्रभावशाली नेता वामदेव गौतमहरु भने ओली कार्यशैलीको स्वामित्व ग्रहण नगर्ने भन्दै सार्वजनिक भाषण गर्दै छन् । पछिल्ला दिन सरकारले गरेका काम कारबाहीप्रति प्रतिपक्षी र सरोकारवालाहरुले चर्काे विरोध गर्दासमेत पार्टी पंक्तिबाट बचाउ नहुँदा ओली क्रुद्ध बनेका छन् ।

र याे पनि हेर्नुहाेस्… प्रधानमन्त्री ओलीमा लुई सोह्रौंको भूत ! गोयबल्स शैलीको प्रचार गर्ने संकेत

खासगरी मिडिया काउन्सिल, आमसञ्चार र सूचना प्रविधि, गुठी, प्रदेश लोकसेवा, मानव अधिकार लगायत धेरै विधेयक विवादको भूमरीमा पर्दा पार्टी भित्रका विरोधी खुच्चिङ गरिरहेका छन् । लोकसेवा आयोगको विज्ञापन रद्ध गर्न राज्य व्यवस्था समितिले दिएको आदेशले पार्टी पंक्ति नै दुई चिरा परेको छ । गुठी सम्वन्धी विधेयकले त ओलीको सिंहासन नै हल्लाइदियो । यी सबै प्रकरणमा ओली एक्लै रक्षात्मक अवस्थामा पुगेका छन् । उनको कामको स्वामित्व पूर्व माओवादीले त लिएन लिएन आफ्नै पक्षका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले अझ उग्र विरोध गरिदिए ।

प्रधानमन्त्री ओली दुईतिहाई समर्थन जुटाउन सफल भएपछि उनमा सत्ताको उन्माद चढेकै हो । पछिल्लो चरणमा यसको ग्राफ चरम उत्कर्षमा पुगेको छ । बन्द कोठामा बसेर उनी शासन गर्न तम्सिएका छन् । यतिखेर उनी सबैलाई बाउन्ने देखिरहेका छन् । जनताको मतले सत्तामा आएको मैले पाँच वर्ष जे गरेपनि हुन्छ भन्ने अहंकारले बास गरेको छ कामरेड ओलीमा ।

त्यसैले उनी कसैलाई नटेरी असनको साँढे जस्तो सबैसँग सिंगौरी खेल्दै थिए र छन् । प्रतिपक्षीलाई त उनले भुसुनो नै ठानेका छन् । थोरै त्रास भएको आमसञ्चार जगतलाई पनि गोर्खे लौरी लगाउने विभिन्न कानून मस्यौदा गरेपछि त उनकाे सत्ता उन्माद चरम चुलीमै पुगेको हो ।

र याे पनि हेर्नुहाेस्…जयशंकरको भूतले सातो लियो ओली वृत्तको

यसैबीच उनले गुठी विधेयक ल्याए । यो भने उनका लागि प्रत्युद्पादक भयो । आफ्ना वास्तविक चेला गोकुल बाँस्कोटामार्फत उनले गुठियारलाई सामन्तवादको अवशेष भने । त्यसले त आगो नै बाल्यो । काठमाडौंका नेवारको पारा तात्यो । दशौं हजारको संख्यामा मानिस माइतीघर मण्डलामा निस्केपछि भने ओलीको सातोपुत्लो गएको हो । सडकमा उत्रेका मध्ये करिब ७५ प्रतिशत त उनकै मतदाता थिए । माइती घरको जनसागरले उनको आँखा र कान खुलेको छ । त्यसपछि उनी आफ्नो वास्तविक धरातलमा आउन वाध्य भएका छन् ।

हुन पनि ओलीले सत्ता सम्हाले यता हरेक ठाउँमा एकलौटी गरेको देखिन्छ । माओवादीसँगको पार्टी एकतादेखि सत्ता साझेदारी गर्दासम्मको अवस्थामा ओली एक्लै हिंड्न खोजेको देखिन्छ । साथै ओलीले पार्टी भित्रको आन्तरिक समीकरणमा समेत खेल्न थालेपछि प्रचण्डको आवेगको पारो उकालो लागेको छ ।

र याे पनि हेर्नुहाेस्…शक्ति केन्द्रको चेपुवामा ओली र प्रचण्ड

माओवादी पक्षबाट सत्ताको भ¥याङ उक्लिन सफल रामबहादुर थापा बादल अब प्रचण्डको पोल्टामा रहेनन् । आन्तरिक समीकरणमा उनी ओलीसँग लहसिएका छन् । यसले प्रचण्डलाई ज्यादै तनाव दिएको छ । बादलको साथ पाएका ओली प्रचण्डलाई गन्न समेत छाडेका छन् । त्यसैले प्रचण्डले जति कराएपनि ओलीलाई त्यसले छोएको छैन । पार्टी एकीकरण प्रकृया होस् या समीकरणको खेल सबै मोर्चामा प्रचण्ड कराउने ओली कानमा तेल हालेर बस्ने अवस्था रहेको छ ।

यो परिवेश केही समय यतिकै जाला । तर यसले उत्पन्न गरेको तरंग भने चानचुने छैन । सतहमा सामान्य देखिएको होला तर ने क पा को आन्तरिक जीवनमा भने ठूलै हलचल ल्याएको छ । यही रुप र शैलीको ने क पा अब सग्लो रहने संभावना रहँदैन । गुठी विधेयकले निर्माण गरेको परिस्थिति र चुनौतीले ओलीलाई दुई विकल्पमा जान वाध्य बनाउने छ । पहिलो अब सच्चिएर जाने दोस्रो अझै आक्रामक हुने । ओलीको विगत हेर्दा सच्चिने नाममा माधव–झलनाथ वा वामदेवसँग लत्रिएर सत्तामा टिक्ने स्वभाव देखिंदैन ।

त्यसैले स्वभाविक रुपमा ओली दोस्रो विकल्पमा जाने हुन् । त्यो भनेको विरोधीलाई पेलेर नै जाने । अब स्थिति वार कि पारमा छ । ओली बाहेक सबैको मोर्चाबन्दी हुने अवस्था बन्यो भने प्रचण्डलाई नेता मानेर माधव–झलनाथले पार्टी फुटाउन मान्ने छैनन् । यो यथार्थ बुझेका प्रचण्डले माधव नेपालको नेतृत्वमा ने क पा टुक्र्याए भने अन्यथा नमाने हुन्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्