२६ माघ २०७९, बिहीबार
समाचार

कांग्रेसमा ११ केन्द्रीय सदस्य थप हुने

प्रकाशित मिति :  १० आश्विन २०७६, शुक्रबार २१:४०


महामारीमा गण्डकी प्रदेश सरकार र महानगरपालिका गैरजिम्मेवार बनेको कांग्रेसको आरोप

१० असोज, काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी समायोजनको सहमतिअनुसार केन्द्रीय समितिमा ११ सदस्य थप गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको साङ्गठनिक संरचना समायोजनसम्बन्धी सहमतिको दस्तावेज सर्वसम्मत रुपमा पारित गरेको छ ।

सहमतिको दस्तावेजअनुसार कांग्रेसका साङ्गठनिक संरचनामा लोकतान्त्रिक फोरमको ११ केन्द्रीय सदस्य, ६०० महाधिवेशन प्रतिनिधि, विभिन्न जिल्ला कार्यसमितिमा पदाधिकारी र सदस्य, नगर-उपमहानगर-महानगर कार्यसमिति, भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्था तथा क्रियाशील सदस्यमा समायोजन गर्ने बैठकले निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमितिको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार काङ्ग्रेसलाई पार्टीको उपसभापति र सो पार्टीका २०० जनालाई महासमिति सदस्य स्वीकार गरी अनुमोदन गरेको थियो ।

यसैगरी तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बाँकी साङ्गठनिक संरचनाको समायोजनको कार्य सम्पन्न गरी केन्द्रीय कार्यसमिति समक्ष प्रस्ताव पेश गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समितिको गठन गरिएको थियो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, महेश आचार्य, एनपी साउँद, भीष्मराज आङ्दम्बे, देवेन्द्रराज कँडेलले आ–आफ्नो धारणा राख्नुभएको थियो । बैठकले उपसभापति निधिद्वारा प्रस्तुत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजनसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको थियो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा