
१ असोज, काठमाडौं । पार्टीभित्रको कचिंगल मिलाएर प्रतिनिधिसभाको बाँकी अवधिका लागि निर्वाध प्रधानमन्त्री पद सुरक्षित बनाएका नेकपा अध्यक्ष केपी ओली अब भने विवाद नगर्ने पक्षमा देखिएका छन् । तर उनी आफू पक्षीय नेता कार्यकर्तालाई यसै अवधिमा सुरक्षित बनाउने कसरतमा समेत लागेका छन् ।
त्यसैले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ लिएर उनी पूर्व एमालेमा आफू पक्षीय नेता कार्यकर्तालाई बलियो बनाउने अभियानमा जुटेका छन् । यसका लागि ओलीले एकपटक फेरि पुरानै समीकरण बलियो बनाउने तयारी थालेका छन् । बामदेव गौतमलाई लिएर जाँदा नै आफ्नो पक्ष बलियो रहने बुझाई ओलीमा रहेको छ । त्यसैले उनले मन नलाग्दा नलाग्दै पनि गौतमलाई राष्ट्रियसभाका लागि सिफारिश गरेका छन् ।
गएको सोमबार नै मन्त्रिपरिषद बैठकले गौतमको नाम सिफारिश गरेको चर्चा चलेपनि अहिलेसम्म शीतलनिवास नपुगेको बताइयो । गौतमलाई लात्ते भकुण्डो बनाउने काम फेरि दोहरिएको भन्दै ओलीको आलोचना बढ्न थालेपछि आज भने मन्त्रिपरिषद सचिवालयले उनको नाम राष्ट्रपति कार्यालय पठाएको छ । स्रोतका अनुसार, हिजो साँझ मात्रै गौतमको नाम राष्ट्रपति कार्यालय पुगेको छ । सम्भवतः आजै गौतम राष्ट्रियसभामा मनोनित हुनेछन् । उनको शपथ भने भोलि वा आइतवार मात्रै हुने संसद सचिवालय स्रोतले जनाएको छ ।
गौतमलाई संघीय संसद्मा प्रवेश गराएपछि मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य सुरु हुने बालुवाटार निकट स्रोतको दाबी छ । राष्ट्रियसभामा सिफारिश गरिसकेकाले अब गौतमलाई मन्त्रिपरिषदमा ल्याउन ओली तयार भएका छन् । तर अर्थ मन्त्रालय भने उनले पाउने छैनन् । अरु नै कुनै शक्तिशाली मन्त्रालय दिएर गौतमलाई मन्त्रिमण्डलमा ल्याएपछि ओली सरकार “ग्रीन जोन” मा पर्ने अनुमान गरिएको छ ।
गौतमसँगै सचिवालय सदस्यसमेत रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई समेत मन्त्रिमण्डलमा ल्याउने ओलीको चाहना छ । त्यसो हुँदा सचिवालयमा उनको धेरै आलोचना नहुने र बाँकी अवधि सहजै पार लाग्ने अनुमान ओली पक्षले गरेको छ । आजबाट मन्त्रिमण्डल पुनर्गठनका लागि दुई अध्यक्षबीच छलफल सुरु हुने जानकारी प्रचण्ड निकट स्रोतले जनाएको छ ।
दुई अध्यक्षबीच सहमति जुटेपछि त्यसलाई भोलि बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने पनि स्रोतको दाबी छ । मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा दुई अध्यक्षबीच सामान्य मतभेद रहेको बताइन्छ । ओली वर्तमान मन्त्रीहरुलाई नै निरन्तरता दिएर बलियो हुन चाहेका छन् । रिक्त मन्त्रालयमा मात्रै थपेर जाने पक्षमा ओली छन् । तर प्रचण्ड भने कम्तिमा एक दर्जन मन्त्रीहरु फेरबदल गर्नुपर्ने पक्षमा देखिएका छन् । सकेसम्म सबैले मौका पाउन भन्ने पक्षमा प्रचण्ड रहेको पनि निकट स्रोतले जनाएको छ ।
ओली भने अहिले भएका मन्त्रीहरुलाई चलाउने वित्तिकै अर्काे समस्या आउन सक्ने अनुमान गर्दै कम्तिमा ६ महिना निरन्तरता दिने पक्षमा रहेका छन् । भोलि बस्ने सचिवालय बैठकको मूल अजेण्डा नै यही रहेको ओली निकट स्रोतको भनाई छ । तर आज साँझसम्म दुई अध्यक्षहरुले मोटामोटी एउटा मोडालिटी तयार गरिसक्ने पनि स्रोतको भनाई छ ।
प्रधानमन्त्री ओली जनमत राम्रो भएका र अवसर नपाएकालाई दिने भन्दापनि आफूलाई सहज हुनेगरी मात्र पुनर्गठन गर्ने पक्षमा रहेका छन् । त्यसैले उनी स्थायी कमिटी सदस्यसमेत रहेका प्रखर आलोचक भीम रावललाई समेत आफ्नो क्याबिनेटमा राख्न चाहन्छन् । रावललाई समेत समेट्न सक्दा उनलाई काम गर्न धेरै सहज हुने बुझाई छ ।
यस्तो मोडालिटी बन्दा चारचार पटक चुनाव जितेर एकपटक पनि मन्त्री हुन नपाएकाहरुले अवसर नपाउन सक्छन् । त्यस्तामा मकवानपुरका विरोध खतिवडा र कृष्णप्रसाद दाहाल पर्नेछन् । उनीहरु चारपटक चुनाव जितेरपनि मन्त्री बन्न नपाउने मध्ये रहेका छन् ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट