
११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गएको पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वाेच्च अदालतमा परेको रिट निवेदनको सुनुवाई पूरा भइसकेको छ । अब अन्तिम फैसला सुनाउने क्षणको पर्खाईमा मुलुक रहेको छ ।
यो रिट निवेदनको सुनुवाई गर्न गठित संवैधानिक इजलाशले हिजोसम्मका लागि वहस नोट पेश गर्न समय दिएको थियो । आज यो रिट हेर्दा हेर्दैमा रहेको छ । अहिले इजलाशमा वहस नोट सर्सर्ती हेर्ने काम भइरहेको स्रोतले बताएको छ ।
प्रधानन्यायधीश चोलेन्द्रसम्शेर राणा यो मुद्धा आजै छिनोफानो गर्न हतारिएका छन् । तर अन्य न्यायधीशहरु भने अझै एक दुई दिन अध्ययन गरेर मात्रै फैसला दिंदा परिपक्व र भरपर्दाे हुने तर्क गरिरहेका छन् । त्यसैले सम्भवतः भोलि यो विषयले निकास पाउने छ ।
प्रधानमन्त्री ओलीले गरेको सिफारिश संविधान विपरित छ भन्ने मत बलियो देखिएकाले पुनस्थापनाको सम्भावना बढी रहेको जानकार बताउँछन् । तर अन्तिम फैसला नआएसम्म त्यसै भन्न सकिन्न भन्दै अब जस्तो सुकै निर्णय आएपनि देशमा राजनीतिक संकट र अस्थिरता चाहिं बढेको धेरैको ठम्याई छ ।
प्रतिक्रिया